शान्ति चाहने ट्रम्प

–श्याम खनालः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच भएको सम्वाद र विवाद विश्वभर अझै सेलाएको छैन। समाचार आउँदा यस्तो भनेछन् भन्ने खालले मात्र पत्रिकाका रूपमा आएको भए सायद यति धेरै चर्चा पनि हुँदैनथ्यो होला । तर वादविवादको प्रत्यक्ष भिडियो नै समाचारका रूपमा आएकाले पनि यस विषयले प्रमुख स्थान पाउनु स्वाभाविक नै भयो । सो भिडियोमा जेलेन्स्कीले अझै पनि युद्ध गरिराख्ने र रुसलाई हराएरै छाड्ने खालको विचार अमेरिकी राष्ट्रपतिसमक्ष प्रकट गरिरहेका छन् भने अमेरिकी राष्ट्रपतिले चाहिँ अमेरिकाले यो भन्दा अघि यति धेरै पैसा र युद्ध सामग्रीको प्रयोग गरेर आखिर के पायो रु त्यसैले अबको बाटो भनेको रुससँगको युद्धविराम नै हो भन्ने खालले सम्झाउन खोजी रहेका छन् ।
हुन त युक्रेन र रुससम्बन्धि युद्धको विषयमा जानकार नभएकाहरू एवम् युद्ध नै गराएर रुस र युक्रेनलाई कमजोर पार्ने उद्देश्य भएकाहरूले वार्तामा वादविवाद गरिरहेका जेलेन्स्किको अनुहार सम्झँदै कठै कठै भन्ने खालले पनि व्याख्या गरिरहेका छन् । तर यस सम्बन्धि विषयको विशेष जानकार एवम् विश्वमा युद्धरहित माध्यमले शान्ति ल्याउने अभियानमा लागिरहेकाहरूले पटक-पटक भन्ने गर्दछन् – युक्रेनी राष्ट्रपति जेलेन्स्किको कमजोर र काँचो बुद्धिका कारणले नै युक्रेनले अनावश्यक रूपमा युद्ध गरिरहेको छ । हुन पनि रुस र युक्रेन यी दुबै राष्ट्रको अस्तित्वमा असमान खालको त्यस्तो लामो इतिहास रहेको पनि छैन । यी दुबै देशमा बस्ने मानिसहरू त्यस्तो असमान छुट्टै धर्म या समाजमा विभाजित पनि छैनन् । पश्चिमी युक्रेनका केही समुहहरूले क्याथोलिक चर्चलाई मान्ने भए तापनि सबै एउटै जातजातिकै रूपमा रहेका छन् । त्यसैले राष्ट्र कि राष्ट्र भनेर देशलाई नै मृत्युकको मुखमा पुर्याउने खोक्रो राष्ट्रवादमा लागेर देश नै वर्वाद पार्नु पनि थिएन । तर के गर्ने रूसलाई कसरी तहस नहस पारेर आफुहरू युरोपभरिको नायक हुन सकिन्छ भन्नेहरूले अमेरिकाको तात्कालिक प्रशासनलाई पनि रिझाएर युक्रेनलाई युद्धभूमि बनाएरै छाडे । शक्तिशाली र सम्पन्न राष्ट्रका रूपमा रहेको युक्रेन आफ्नै छिमकीसँगको युद्धले गर्दा नराम्रोसँग पछि परेको छ । अब उसले युद्धसमयमा दिइएको अमेरिकी सहयोगको हिसाब किताब गर्नु परेको छ या आफ्नो देशमा रहेको दुर्लभ खजिज पदार्थ अमेरिकालाई कौडीका भाउमा दिनुपरेको छ । यो सबैको कारण भनेको जेलेन्सी नै भएका छन् । त्यसैले युद्धप्रेमी जेलेन्सीका अगाडि ट्रम्प शान्तिप्रेमी देखिएका छन् ।
प्रसङ्गअनुसारको शीर्षस्थ रूपमा समाचार भएको भिडियोको विषयले संसारका हरेका कुना कुनामा बसिरहेका मानिसहरूको मनमा प्रश्न उठिरहेको के छ भने के साँच्चिकै डोनाल्ड ट्रम्प शान्तिप्रिय नै हुन् त रु यो प्रश्न उठ्नु पनि स्वाभाविकै देखिन्छ । किनभने यसभन्दा अघि भएका अधिकांश अमेरिकी राष्ट्रपतिको भावना एवम् सिङ्गो देशकै नीति पनि वर्तमान राष्ट्रपतिको जस्तो देखिएको थिएन । अमेरिकालाई विश्वमा अशान्ति ल्याउने देशका रूपमा सबैतिर चित्रण गरिँदै आइएको थियो । हाम्रै देश नेपालमा पनि अमेरिकालाई साम्राज्यवादीका रूपमा चित्रण गर्दै आफुहरू गरीब र निमुखाहरूका पक्षमा भएको भाष्य निर्माणका साथ पार्टीहरू सत्तासीन भएको विषय हामीले देख्दै आइरहेका छौँ नै । यस विषयको चर्चा त डोनाल्ड ट्रम्पले भरखर मात्र गरिसकेका हुनाले अहिले ती सबै म्याउ विराली जस्तो भएर बसिरहेका छन् नै । हुन त अमेरिका आदि यी शक्तिशाली राष्ट्रहरूको विदेश नीतिमा त्यहाँको सरकार परिवर्तन भएर तात्त्विक भिन्नता चाहिँ हुन्न भन्ने नै थियो । तर विश्वका शक्तिशाली देशहरूकै पङ्क्तिमा रहेको छिमेकी राष्ट्र भारतको विदेश एवम् स्वदेशकै नीतिमा पनि विगत १० वर्षदेखि अर्कै रूपमा गएको हामीले प्रत्यक्ष देखेकै छौँ । त्यसैले पनि अब अमेरिकाले पनि आफ्नो विदेश एवम् स्वदेश नीतिमा परिवर्तन गर्दै गर्दैन भन्ने चाहिँ रहेन नै । यसको गतिलो प्रमाण त अझ केही समयअघि डोनाल्ड ट्रम्पले उठाएको युएसएआइडीको विषय नै हो भने त्यहाँ केही समय अघिदेखि बसिरहेका अवैध आप्रवासीहरूको तत्काल घरफिर्ति पनि अर्को प्रमाण हो । उसले आफ्ना चार्टर प्लेनहरूद्वारा त्यहाँ बसेका अवैध आप्रवासीहरूलाई घरफिर्ती गरिरहेको छ भने अमेरिका बस्ने नै हो भने त्यहाँ बस्नका लागि केही मोटो रकम तिरेर बस्न सकिने प्रावधान पनि ल्याएको छ । त्यसैले डोनाल्ड ट्रम्पले अब त्यहाँको विदेश नीतिमा परिवर्तन गर्न सक्दैनन् भन्ने आधार चाहिँ रहेन नै । अतः अहिलेसम्म विश्वमा लडाई झगडाकै विषयमा रोमल्लिरहेको अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वशान्तिको नीति नलेलान् भन्न चाहिँ सकिएन नै ।
सन् २०१७ मा अमेरिकाका लागि ४५ औँ राष्ट्रपतिका रूपमा सपथ लिएका उनले त्यतिखेर पनि केही अपत्यारिला कामहरू गरेका थिए । त्यतिखेरको उनको काम देखेर पनि उनको आत्माले विश्वमा शान्ति नै ल्याउने हो र अमेरिका सधैँ शक्तिशाली भइरहने हो भने आफ्नो सञ्चित रकम युद्ध एवम् अशान्तिका लागि कसैलाई दिइरहनु पनि गलत हो र अमेरिका विभिन्न माध्यमले अरू देशहरूको सार्वभौमसत्ता माथि बोलिरहनु पनि गलत हो भन्ने कुरा स्वीकार गरिएको जस्तो देखिन आएको थियो । उनले आफ्नो पहिलो कार्यकालका समयमा कसैले पनि अनुमान नै गर्न नसकिने खालले उत्तर कोरियाका शासक किम जोङ् उन सँग पनि शान्तिका लागि हात मिलाएका थिए भने चीनसँग पनि धेरै हदसम्म सम्बन्ध सुधार गरेका थिए । सधैँभरि लडाइ झगडा गराएर राम हेर्ने र आफ्नो अभीष्ट पुरा गर्ने गिद्धे प्रवृत्ति भएकाहरूले त त्यतिखेर ट्रम्पलाई सन्की राष्ट्रपतिका रूपमा पनि चित्रण गर्न भ्याएका थिए तर अहिले पुनः संसारकै शिक्षितहरूको बसाई भनिएको अमेरिकी जनताहरूले राष्ट्रपतिका रूपमा निर्वाचित गरेपछि भने उनका बारेमा त्यस खालका टिप्पणी गर्नेहरूका कुराहरूले बजार पाउन सकेका छैनन् । एक शक्तिशाली राष्ट्र जसले युरोप एवम् अन्यत्रका पनि इजरायल आदि देशहरूको सहयोगले उत्तर कोरियालाई सहजै पराजित गर्न सक्थ्यो नै । तर ट्रम्पलाई भित्रैदेखि शान्तिका माध्यमले वादविवादको समाधान गर्नुपर्दछ भन्ने भावना आएकाले नै अमेरिकालाई सधैँभरि स्थायी शत्रुका रूपमा मान्ने ती राष्ट्रहरूसँग हात मिलाउन पुगेका हुन् । उनी एक प्रतिष्ठित अर्थशास्त्री पनि भएकाले अमेरिकाले युद्धका माध्यमले अर्थोपार्जन गर्ने नभई झन् पछि झन् ऊ कमजोर हुन जाने कुराको महसुस गरी सो किसिमको शान्तिका लागि हात मिलाएको देखिन्छ ।
अतः अन्त्यमा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको व्यवहार एवम् उनको दोस्रो कार्यकालको राष्ट्रपतिका रूपमा भइरहेका प्रारम्भिक कार्यहरूले पनि उनलाई शान्तिप्रिय नै देखाएको छ । उनले विश्वमा भइरहेका युद्धहरू शान्तिका माध्यमले नै समाधान गर्ने तर्फ जोड दिइरहेका छन् । हमासलाई पनि त्यही अनुसार नै चेतावनी दिइसकेका छन् । त्यस्तै महत्त्वपूर्ण कुरा त उनले ग्क्ब्क्ष्म् का रूपमा अमेरिकाबाट विभिन्न देशमा बाँडिएको रकम, जसले रकम पठाइएको देशको धर्म संस्कार र संस्कृतिप्रति नै नफरत गराई ती सम्बन्धित देशमा धर्मयुद्ध जातियुद्ध आदि गराइरहेको अवस्था थियो । त्यो रकमलाई उनले पूर्णरूपमा नै प्रतिबन्ध गराउने गरी कामको सुरुवात गरासकेका छन् । हाम्रो देशमा पनि भइरहेका जातीय एवम् धार्मिक युद्धमा त्यो रकमले ठूलो काम गरिरहेको विषय त प्रमाणित भइ पनि सकेको छ । त्यसैले राष्ट्रपति डोनाल्ड शान्तिप्रिय मात्र नभएर एक सच्चा राष्ट्रवादी नेताका रूपमा पनि देखिएका छन् । यसले गर्दा विश्वमा शान्ति चाहनेहरूका लागि पनि खुशीका दिन आउने सम्भावना देखिएको छ ।