महेन्द्र मोरङ क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद्की मुना बिष्टद्वारा स्ववियू सचिवमा उम्मेदवारी घोषणा

विराटनगर, २३ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकी कोशी प्रदेश सहसचिव मुना बिष्टले सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
क्याम्पसकी लोकप्रीय विद्यार्थी नेता बिष्टले शिक्षा क्षेत्रलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने, विद्यार्थी शक्तिलाई राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने, विद्यार्थीको हक अधिकार सुनिश्चित गर्नेलगायत मुद्दा सारेर उम्मेदवारी घोषणा गरेकी हुन् ।
प्रखर वक्ताका रुपमा लोकप्रीय बिष्ट लामो समययता विद्यार्थीको हक अधिकारका लागि सक्रिय नेता हुन् । उनी महेन्द्र मोरङ क्याम्पसमा मात्र नभई कोशी प्रदेशकै विद्यार्थीमाझ परिचित छिन् ।
बिष्टले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीको चाहना र भावना अनुसार नै उम्मेदवार बन्न लागेको बताइन् ।
महेन्द्र मोरङमा प्राज्ञिकका सभापति उम्मेदवार विवश कटुवालको नेतृत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको टिमले नै उम्मेदवारी दिने घोषणा भइसकेको छ ।