२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

तेस्रो विश्वयुद्धको पथमा यूरोप


2.2k
Shares

डा. दीपेश केसीः यूरोपको मजबुत अर्थतन्त्र भएको देश हो जर्मनी । दुईपटकको विश्वयुद्धले थलिएर पनि उठ्ने गरी अर्थतन्त्रको जग तयार छ उसको । तर, अहिले जर्मनी ऊर्जा संकटको सामना गरिरहेको छ । जर्मनीका सडकहरुमा रात्रीको समयमा सडकवत्ती निभाउन थालिएको छ युक्रेन युद्धपछि । उद्दोगहरु अप्ठ्यारोमा छन् । एटम बम भएको यूरोपका अर्को देश हो फ्रान्स । उसको अर्थतन्त्र पनि समस्यामा पर्दै गएको छ । फ्रान्सका लगानीकर्ताहरु अफ्रिकाबाट लखेटिन थालेका छन् । अफ्रिकामा रहेका फ्रान्सका सैन्य अखडाहरु धमाधम बन्द भई सेना फर्कन थाले । फ्रान्सको प्रभाव गुमिरहेछ पूर्वउपनिवेशहरुमा । दोस्रो विश्वयुद्धसम्म कहिले सुर्यास्त नहुने साम्राज्य बेलायतका सामु बेरोजगारीका समस्या बढ्दो छ । विश्वव्यापी प्रभाव घटिरहेको छ उसको । इटाली, स्पेन, बेल्जियम जस्ता यूरोपका शक्तिशाली देशहरुले पनि नयाँ आर्थिक चुनौती झेलिरहेका छन् । यी सबैका कारण हो, युक्रेन युद्ध । रुससँग युक्रेनको युद्धमा यूरोपका अधिकांश देशहरु अप्रत्यक्ष सहभागी छन् । उनीहरु हतियार र आर्थिक सहयोग दिइरहेका छन् । युद्ध चलिरहेको छ तर पश्चिमा मिडिया युक्रेनले जितिरहेको जसरी प्रोपोगान्डा मच्चाइरहेका छन् । ठिक त्यसै गरी जसरी दोस्रो विश्वयुद्धमा हिटलर युद्ध हारिरहेका थिए जर्मनीको मिडिया जितेको प्रोपोगान्डा मच्चाइरहेका थिए ।

युक्रेनको अवस्था के छ भन्ने डोनाल्ड ट्रम्पको भनाईले छर्लग पारिसकेको छ । शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार भेटमा ट्रम्पले सिधै यो युद्ध जित्नेछैनौं भनिदिए । यतिसम्मकी अमेरिकाको साथ नहुँदो हो त तीन हप्ता पनि रुससामु युक्रेन टिक्दैनथियो भनिदिए । ट्रम्प बारम्बार युद्धविराम भनिरहेका थिए । तर, राजहठ जसरी बालहठ देखाएका जेलेन्स्कीसँग क्रुद्ध भई मूर्ख राष्ट्रपति भनिदिए । ह्वाइट हाउसबाट अपमानित भई निकालिदिएनन् मात्र लन्च पनि सर्भ गरिएन । कूटनीतिक भाषा र नतिजा बुझेकी युक्रेनी राजदूत ओक्साना मार्कारोभा निराश हाउभाउमा टाउको हातमा राख्ने र आँसु पुछेको घटनाले धेरै सन्देश दिन्छ । ट्रम्पलाई नटेरेपछि उपराष्ट्रपति भान्सले त अमेरिकालाई अपमान गर्ने भनी झर्किए । जेलेन्स्कीले ठूलो स्वर गर्ने भनी भान्सलाई भनेपछि ट्रम्प जँगिएर लाखौंको ज्यानको जुवा खेल्ने, तेस्रो विश्वयुद्धको जुवा खेल्न खोज्ने भने । युद्धको जिम्मेवार बाराक ओबामा, हिलारी क्लिन्टन देखि जो वाइडेनलाई पनि ठहराएका छन् ट्रम्पले ।

ट्रम्पसँगको नोकझोकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यूरोपका केही शक्तिशाली देशलाई युद्ध अझै लम्बाउन खोजेको आरोप लगाइसके । उनको सिधा आरोप बेलायत र फ्रान्समाथि थियो । यूरोपका आणविक शक्तिसम्पन्न यी दुई देशले युक्रेनलाई सैन्य सहायता दिइआएका छन् । उनीहरुमाथि युक्रेनको खनिजमाथि पहुँच बनाइरहेको विषय पनि रहेको छ । त्यसैले त ट्रम्प अमेरिकाले ३५० अर्ब डलर सैन्य सहायता दिंदा पनि केही नपाएको र यूरोपले मात्र २०० अर्ब डलर गर्दा पनि त्योभन्दा बढी लाभ लिइरहेको भन्छन् । यूरोपसँग असन्तुष्ट छन् ट्रम्प । उनको यो असन्तुष्टि तर्कसंगत र जायज पनि देखिन्छ किनभने अमेरिकाले धेरै युद्ध यूरोपका हितका लागि नै गर्दै आयो । अमेरिकाले रुससँग शितयुद्ध गर्दा होस् या मध्यपूर्वमा लडाईँ गर्दा नै किन नहोस् यूरोपका शक्तिशाली देशले लाभ लिए । अफ्रिकामा पनि त्यस्तै भयो ।

विश्वमा पछिल्लो समय भएका खतरनाक युद्धको दोष अमेरिकाले खेप्यो । वास्तवमा सँसारमा भएका दुईवटा विश्वयुद्धका कारण अमेरिका र रुस दुवै होइनन् । पहिलो र दोस्रो विश्वयुद्धका पक्ष र विपक्षका मुख्य नतृत्वकर्ता बेलायत र फ्रान्स भर्सेस जर्मनी हुन् । दोस्रो विश्वयुद्ध बेलायतविरुद्ध जर्मनी मुख्य थिए । त्यसअघिको पाँच सय वर्षमा भएका विश्वका मुख्य युद्धमा यूरोपका देशकै शक्तिसंघर्ष मुख्य कारण थियो । लाखौं लाख मारिएको युद्धको केन्द्र यूरोप थियो । युद्धको केन्द्र यूरोप हुनुमा ती देशहरुबीच उपनिवेश खडा गर्ने र खनिजको दोहोन गरी बजार कब्जासम्मको प्रतिष्पर्धा नै कारण थियो । यूरोपेलीहरु आर्थिक लाभ र खनिजका लागि कहाँ लड्न पुगेनन् । उनीहरु नेपालसम्म लड्न आइपुगेको इतिहास छ । पृथ्वीनारायण शाहले अंग्रेजलाई लखेटेका थिए । पछि भीमसेन थापाका पालामा अंग्रेजसँगको युद्धले नेपाल खुम्चियो । भारतलाई त एक सय वर्षभन्दा बढी समय उपनिवेश नै बनाएका थिए । तर, दुई विश्वयुद्धले ठूलै हलचल ल्याइदियो सँसारमा । विश्वका धेरै देश मात्र नभई ती देशका फरक समुदाय पक्ष विपक्षमा लागेर युद्ध गरेका थिए । दुई विश्वयुद्धले यूरोपको शक्ति केही कमजोर मात्र गरायो ।

दुईवटा विश्वयुद्धको पश्चात पनि यूरोप सँसारभर हावी भइरहेको छ अझै । शितयुद्धपछि एक्काइसौं शताब्दीमा रुससँग अप्रत्यक्ष रुपमा लडिरहेका छन् यूरोपेली युनीयनसम्वद्ध देशहरु । जसमा बेलायत पनि संलग्न छ । उनीहरु युक्रेनलाई हतियार र पैसाले सघाइरहेका छन् । अमेरिकाले पनि ठूलो धनराशी खर्चियो । ट्रम्प राष्ट्रपति भएपछि खर्च रोकिदिए । अमेरिका खर्च गर्ने पक्षमा छैन । तर, यूरोपका देशहरु अझै युद्ध धकेल्ने रणनीतिमा देखिन्छन् । बेलायत, फ्रान्स, जर्मनी, स्पेन जस्ता देशहरुका लागि युक्रेन युद्ध प्रतिष्ठाको विषय मात्र बनेन भविष्य जोगाउने कठिन घडी बनेको छ । त्यसैले बेलायती प्रधानमन्त्री केर स्टारमरले जेलेन्स्कीलाई लण्डनमा स्वागत गरी २ अर्ब ७० लाख डलरको ऋण घोषणा गरे । तत्काल फ्रान्स, जर्मनी, इटाली, डेनमार्क, नेदरल्याण्ड्स, क्यानडा, नर्वे, पोल्यान्ड, स्पेन, टर्की, फिनल्यान्ड, स्वीडेन, चेक, रोमानियाका अलावा नाटो महासचिव, यूरोपेली कमिशन र यूरोपेली काउन्सिलका नेताहरुलाई डाकेर बैठक गरे । बेलायत र फ्रान्स युक्रेनमा सेना र युद्धक विमान परिचालनको पक्षमा उभिएका छन् । यो घटना विकास भएमा अप्रत्यक्ष युद्धमा होमिएका यी दुई देश रुससँग प्रत्यक्ष युद्धमा जान्छन् । आणविक हतियार भएका देशहरुको युद्धले अर्को विनाशकारी विश्वयुद्ध निम्त्याउनसक्छ । तर, बेलायत र फ्रान्स जस्ता देशहरु गुम्दो प्रभाव जगाउन युद्धमै जानुपर्ने वाध्यात्मक अवस्थामा रहेको देखिन्छ । उनीहरु गर या मरको अवस्थातर्फ पुगेका छन् अहिले ।
तीतो सत्य के हो भने यथावस्थामा युद्ध अन्त भएमा यूरोपका शक्तिहरुको मनोबल गिर्ने त छँदैछ दुनियाँले खोक्रिइसकेको यूरोपको भ्वाङ देख्न सक्छ । यसकारण पनि यूरोपका नेताहरु भयभित छन् ।

यसै पनि प्रभाव क्षेत्र गुम्दै गइरहेको छ उनीहरुका । यूरोपको अर्थतन्त्रलाई अन्य क्षेत्रको अर्थतन्त्रले उछिन्ने प्रक्षेपण छ । अमेरिकापछि चीन अनि जर्मनी जीडीपीका आधारमा ठूला अर्थतन्त्र छन् । त्यसपछि जापान अनि भारत छ । फोर्बसका अनुसार २०२५ मा जर्मनीको ०.८ प्रतिशत, बेलायतको १.५ प्रतिशत, फ्रान्सको १.१ प्रतिशत र इटालीको ०.८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण छ । यूरोपको वृद्धिदर सुस्त छ । भारत तेस्रो ठूलो जीडीपी बन्ने दौडमा छ । ब्राजिल, दक्षिण अफ्रिका जस्ता देशहरुको आर्थिक वृद्धिदर तिव्र गति लिन सकिरहेका छन् । यसले यूरोपका देशहरुलाई चुनौती बढाइरहेको छ ।
युद्धमा युक्रेन यही हालतमा पछाडि हट्ने हो भने रुसको दबदबा पूर्वी यूरोप हुँदै पश्चिमसम्म फैलनसक्छ । युद्ध जति लम्बियो उति अर्थतन्त्र कमजोर हुँदै जान्छ । यसकारण रुसविरुद्धको युद्धमा यूरोपका शक्तिशाली देशहरु कति समयसम्म बढ्लान् र के के गर्लान् चासो बनेको छ । अमेरिका यूरोपसँग भन्दा अन्य शक्तिसँग नजिकिन थालेको छ । युद्धले खोक्रो बन्दै गएको यूरोपको सडकहरुको अन्धकारबारे ट्रम्प जस्ता चलाख नेताले बुझेका छन् । उनी भावुकतामा नभई यथार्थमा चल्ने नेता भएकाले कडा र सिधा तरिकाले बढिरहेका छन् ।

गर्वका साथ आफूलाई व्यापारी भन्ने ट्रम्प कस्को शक्ति र सामथ्र्य कति छ बुझ्छन् । यूरोपबाट अमेरिकालाई टाढा बनाउँदै लानुमा नाफा र घाटाको हिसाबकिताब पनि कारण हो । वास्तवमा यूरोप सैन्य शक्ति र आर्थिक हिसाबले पनि कमजोर हुँदै गएको छ । पाँच सय वर्षको यूरोपको दबदबा एक्काइसौं शताब्दीको आधाआधीसम्म त निकै कम भइसक्ने देखिदैछ । अमेरिका जस्तो विश्वशक्ति यूरोपको संकटको भारी बोकेर हिंडेदैन भन्ने सन्देश ट्रम्पले दिइसके । विशाल भूभाग, खनिजले भरिपूर्ण मात्र नभई विश्वकै शक्तिशाली एटम बम रहेको रुसको शक्तिसँग जुध्न यूरोपलाई साथ दिने पक्षमा ट्रम्प छैनन् । बलियो छिमेकीसँग लड्दा जेलेन्स्कीको केही वर्ष वाहीवाही भयो । त्यो पनि पश्चिमा मिडियाबाट । लोकप्रीयताको जग टेकेर उठेका उनी राष्ट्रवादी र साहसी कहलाइए । तर, युक्रेन खुम्चियो । उसका खनिज उसकै नरहने अवस्था बन्यो । युक्रेनलाई उचालेर अन्य शक्तिले लाभ लिए । विश्व शान्ति नै खतरामा प¥यो । एउटा जेलेन्स्कीका लागि अमेरिका जस्तो विश्व शक्ति विश्व युद्ध नै लड्न तयार हुँदै हुँदैन । अमेरिका र रुसको हात मिलिसक्यो । युद्ध र शान्तिको खेती गर्नेहरु जेलेन्स्कीका नाममा कलाकारको शैलीमा भावुक देखिएर नक्कली आँसु खसाल्ने सिवाय केही बाँकी रहेन । आक्रोश देखाउने सिवाय केही रहेन । राजनीतिक भावुकताले होइन निर्मम तरिकाले यथार्थ धरातलमा निरन्तर चलिरहन्छ । बेलायत र फ्रान्स रुससँग प्रत्यक्ष युद्धमा होमिए आणविक युद्धको खतरा रहन्छ । युद्ध राजनीतिक कति निर्मम हुन्छ भन्ने युद्ध लडेका देश, तिनका नेता र जनतालाई पो थाहाहुन्छ । क्रिमियाको युद्ध लडेका लियो टस्सटोयले त्यतिकै विश्वकै महानतम कृतिमध्येको वार एण्ड पिस लेखेका होइनन् ।-दृष्टि साप्ताहिकको २० फागुनको अंकमा प्रकाशित लेख

 

प्रतिक्रिया