२४ जेष्ठ २०८३, आइतबार | June 7, 2026

कांग्रेसमा ‘भस्मासुर प्रवृत्ति’ हावी भएको युवा नेता काफ्लेको आरोप


415
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले ले पार्टीभित्र ‘भस्मासुर प्रवृत्ति’ हावी भएको आरोप लगाउँदै वर्तमान नेतृत्वले कांग्रेसलाई कमजोर बनाउने काम गरिरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै काफ्लेले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित १५औँ महाधिवेशन रोक्न खोजेको दाबी गरेका छन्। उनले क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई अनावश्यक रूपमा जटिल बनाइएको र त्यसका नाममा कार्यकर्तामाथि दबाब, त्रास र भ्रम सिर्जना गरिएको आरोप लगाए।

उनका अनुसार सदस्यता अद्यावधिक पार्टीका सदस्यहरूको अभिलेख व्यवस्थित गर्ने सामान्य प्रक्रिया मात्र हो। देशभर सदस्यता नवीकरण अभियान सम्पन्न भइसकेको अवस्थामा त्यसलाई विवादको विषय बनाएर महाधिवेशन टार्ने खेल भइरहेको उनको भनाइ छ।

काफ्लेले पार्टी नेतृत्वमाथि आन्तरिक लोकतन्त्र कमजोर बनाएको, प्रतिस्पर्धात्मक संस्कृतिलाई निषेध गरेको तथा तल्लो तहका कार्यकर्तामाथि विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाए। “नेताहरूलाई अद्यावधिक गर्नु नपर्ने तर साधारण कार्यकर्ताले भने अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था स्वीकार्य हुन सक्दैन,” उनले उल्लेख गरेका छन्।

उनले कांग्रेसको पछिल्लो राजनीतिक अवस्था र निर्वाचन परिणामका विषयमा नेतृत्वले जिम्मेवारी नलिई अरूमाथि दोष थोपर्ने प्रवृत्ति देखाएको टिप्पणी गरे। पार्टीलाई पुनर्जीवित गर्न नियमित महाधिवेशन तत्काल सुनिश्चित गर्नुपर्ने उनको जोड छ।

काफ्लेले देशभरका कांग्रेस कार्यकर्तालाई एकजुट हुन आह्वान गर्दै महाधिवेशन टार्ने शक्तिविरुद्ध गोलबद्ध हुन आग्रह गरेका छन्। उनले “बलियो, निष्ठावान र सिद्धान्तनिष्ठ कांग्रेस निर्माणका लागि अब एक क्षण पनि ढिला गर्न नहुने” बताएका छन्।

उनको भनाइलाई कांग्रेसभित्र महाधिवेशन, सदस्यता अद्यावधिक र नेतृत्वको वैधताबारे बढ्दै गएको बहसको सन्दर्भमा महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया