काठमाडौं–१४ ले सुरु गर्यो १० दिने फोटोग्राफी, भिडियोग्राफी र एआई तालिम
काठमाडौं, २७ जेठ — युवाहरूलाई प्रविधिमैत्री सीप र रोजगारीमुखी दक्षता प्रदान गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका–१४ ले १० दिने फोटोग्राफी, भिडियोग्राफी तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सुरु गरेको छ।
मंगलबार कलंकीस्थित जनपथ माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रमबीच तालिमको औपचारिक शुभारम्भ गरिएको हो। वडाध्यक्ष सुमन श्रेष्ठले आफ्ना क्षेत्रभित्रका युवाहरूलाई आधुनिक प्रविधि र डिजिटल मिडियासम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताए ।
तालिममा २५ जना भन्दा बढी युवाको सहभागिता रहेको छ। सहभागीहरूलाई फोटोग्राफी, भिडियोग्राफी तथा एआईको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न अनुभवी प्रशिक्षक शिव पुरी ले प्रशिक्षण दिइरहेका छन्।
वडाका अनुसार पछिल्लो समय डिजिटल सामग्री निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा एआई प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै युवाहरूलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो।
तालिमको संयोजन नेपाल पेन काठमाडौं मिडिया ले गरेको छ। आयोजकका अनुसार तालिमले सहभागी युवाहरूलाई सिर्जनात्मक क्षमता विकाससँगै डिजिटल क्षेत्रमा रोजगारी तथा स्वरोजगारका अवसर खोज्न समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय तहबाट प्रविधिमैत्री र सीपमूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्। १० दिनसम्म सञ्चालन हुने तालिममा सिद्धान्तसँगै व्यावहारिक अभ्यासलाई समेत प्राथमिकता दिइने जनाइएको छ।


