२४ पुस २०८१, बुधबार | January 9, 2025

भारतको सहयोगमा म्याग्दी क्याम्पस भवन निर्माण


January 6, 2025
747
Shares

काठमाडौं, २२ पौष । भारतको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पस तथा छात्रावास भवन निर्माण भएको छ । २ करोड ७९ लाखको आर्थिक सहयोगमा निर्माण गरिएको भवन सोमबार जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो । भारत सरकारको अनुदान सहयोग मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्राका लागि छात्रावास भवन तथा अन्य सहयोगी संरचनासहितको क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको जनाइएको छ। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, म्याग्दीमार्फत कार्यान्वयन गरिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पस २०५३ सालमा स्थापना भएको हो । यस सामुदायिक क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ९५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया