आरजु दिल्लीमा विना बोलाइएको पाहुना बन्दा…
काठमाडौं, ८ पौष । नबोलाई दिल्ली भ्रमण गर्दा परराष्ट्रमन्त्री आरजु राणालाई भारतका कुनैपनि अधिकारीले भेट्न अस्वीकार गरेका छन् । भेटका लागि आरजुले आफ्नो सारा शक्ति र संयन्त्र प्रयोग गरिन् । तर, उनको प्रयास असफल भयो ।
देशको परराष्ट्रमन्त्री व्यस्तताका बाबजुद एनजीओकर्मीको शैलीमा विदेशमा सेमिनार खोज्दै शयरमा लागिन् । उनी यूरोपबाट दिल्ली पुगिन् विना निम्ताको पाहुना बनेर । त्यहाँ भारतका गृहमन्त्री अमित साह, विदेशमन्त्री एय जयशंकरलगायत वरिष्ठ अधिकारीहरुसँग भेट्ने योजना बनाएकी थिइन् । तर, आरजुले कुनैपनि मन्त्रीसँग भेट्न पाइनन् ।
विश्वस्त स्रोतका अनुसार आरजुले रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेट्ने प्रयास गरेकी थिइन् । तर, त्यो पनि सफल भएन । आरजुको यो पटकको दिल्ली दौडलाई अपरिपक्व कार्य भनिएको छ ।
आरजुले परराष्ट्रमन्त्री भएलगत्तै भारत भ्रमण गरिन् । दिल्लीमा उनको भव्य स्वागत भयो त्यतिबेला । भारतका विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिन् । आरजुले दिल्लीमा आफ्नो स्वागत र सम्मानलाई देशको सम्मान र स्वागत पनि भनिन् स्वदेश फर्किएर । यसपटक भने उनले काठमाडौं आएर के जवाफ दिने हुन् ? चासो बनेको छ ।