नयाँ शक्ति शहर केन्द्रित हुँदा उपनिर्वाचनमा पुरानोकै वर्चश्व
काठमाडौं, १७ मंसिर । देशभर भएका उपनिर्वाचनमा नयाँ शक्तिको प्रभाव देखिएन । काठमाडौं महानगरपालिकाको वडा नं १६ मा नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारले चुनाव जितिन् । त्यसबाहेक अन्यत्र उक्त दलको प्रभाव देखिएन ।
रास्वपा काठमाडौंको रिङरो भित्र मात्र सिमित देखियो । शहरी क्षेत्रमा मात्र उसको संगठन देखिएबाट उसको प्रभाव बढ्न नसकेको स्पष्ट भयो । शहरबाट बनेर बढेका दलहरु खासै जम्न नसकेको उदाहरणमा रास्वपा पनि देखिदैछ ।
रास्वपा मात्र नभई मधेशबाट उदाएको जनमत पार्टीको पनि प्रभाव देखिएन । सीके राउतको दलले उपनिर्वाचनमा कतैपनि खाता खोलेन । रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीको पनि प्रदर्शन राम्रो रहेन ।
कालिकोटको एउटा वडामा नेमिकिपाका उम्मेदवारले अध्यक्षमा चुनाव जिते । यसले उसको प्रभाव भक्तपुरमा मात्र नभई कर्णाली क्षेत्रमा पनि अझै रहेको प्रमाणित भयो ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा सफलता हासिल गरे । माओवादीको र्दुगम जिल्लामा प्रभाव देखियो । काँग्रेस र एमालेको पनि प्रभाव कायमै रहेको सिद्ध भयो ।
नयाँ शक्ति शहर केन्द्रित हुँदा पुरानै दलहरुको वर्चश्व देखिएको छ । यसले दुरदराजमा ती शक्ति पुग्न नसकेको स्पष्ट हुन्छ ।