५ मंसिर २०८१, बुधबार | November 20, 2024

२६ कर्मचारी भारतको प्रशिक्षण भ्रमणमा


November 20, 2024
332
Shares

काठमाडौं, ५ मंसिर । सरकारका १० मन्त्रालय र विभागका गरी २६ कूटनीतिज्ञ तथा अधिकारीहरुको १० दिने भारत भ्रमण सुरु भएको छ । ५ मंसिरबाट १५ मंसिरसम्म हुने भ्रमण नयाँ दिल्लीस्थित भारतको विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि हो । उनीहरुले त्यहाँ प्रशिक्षण कार्यक्रममा सहभागी हुनुका साथै भारतको विभिन्न स्थानको भ्रमण गर्नेछन् ।

टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधिहरु रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युलहरु राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण शहर र ठाउँको भ्रमण समावेश छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले ४ मंसीर मा भारत भ्रमणमा जाने २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग अन्तरक्रिया गरेका थिए । उनले भ्रमण उपयोगी, फलदायी र आनन्ददायी प्रशिक्षण अनुभवको कामना गरेका थिए ।

प्रतिक्रिया