१२ पुस २०८१, शुक्रबार | December 27, 2024

एनसेल टाट पल्टदै, बैंक र व्यवसायीको अरबौं जोखिममा


November 5, 2024
830
Shares

काठमाडौं, २० कात्तिक । के तपाईँले एनसेलसँग कारोबार गर्नुभएको छ ? के एनसेलले तपाईँको बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएको छ ? छ भने त्यो फिर्ता आउने सम्भावना छैन । उसले बैंक तथा वित्तिय संस्थाको मात्र नभएर कारोबार गर्ने संस्थाहरुको पनि अरबौं डुबाउने भएको छ । एनसेल आफै टाट पल्टने अवस्थामा पुगेको छ ।

एनसेलका दृश्य अदृश्य शेयर होल्डरहरुले अरबौंको कर छली गरेर योजनावद्ध तरिकाले खरबौं रकम देशबाहिर लगिसकेका छन् । नेपालका बैंकहरुसँग ऋण लिने, यहाँका इमान्दार व्यवसायीसँग कारोबार नगर्ने तर न त ऋणको साँवा ब्याज तिर्ने न त व्यवसायीको रकम तिर्ने । एनसेलले यसरी ३० अर्बभन्दा बढी रकम बक्यौता राखेको छ ।

गत भाद्रमा एनसेलले लाइसेन्स नवीकरण गर्दा बल्लतल्ल एक अर्ब रुपैयाँ ऋण पाएको थियो । त्यो पनि राजनीतिक शक्तिको आँडमा । कमिशनको खेलमा विभिन्न चरणमा नवीकरण शुल्कवापत्को १६ अर्ब तिर्ने गरी क्याबिनेटबाटै निर्णय गरेर सुविधा पाएको थियो उसले । तर, उसले ३० अर्बको भुक्तानी नै दिएको छैन बैंक तथा व्यवसायीको ।

एनसेलको कुल सम्पत्ति जति छ त्योभन्दा बढी दायित्व छ । यसरी एनसेल टाट पल्टन लागेको छ ।

एनसेलको शेयर चलखेल गरी खरिदविक्रीको नाटक गर्दै मलेशियाको अजियटा बाहिरिएको छ । यसमा पनि बेलायतमा कम्पनी खोल्न खेल खेलियो । कानूनको छिद्र खोज्दै कर छल्ने र शेयर खरिदविक्रीवापत्को कर छल्न खोजेपछि हंगामा नै भयो । तर, एनसेलले राजनीतिक शक्तिको व्यवस्थापन देखि मिडिया व्यवस्थापन सम्म गर्न भ्यायो । उसले मिडियालाई विज्ञापनको बाढी नै ओइरायो । तर, त्यसको समेत भुक्तानी गरेको छैन ।

एनसेल प्रकरण एकपछि अर्को चर्चामा छ । उसको कर छली प्रकरण अदालतमा विचाराधीन छँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गत वर्ष भएको शेयर खरिदविक्रीको अनुसन्धान गर्ने जिम्मेवारी पायो । आयोग नै बनाएर समेत अध्ययन भयो । तर, एनसेलमाथि कारबाही भएन । केपी शर्मा ओली नेतृत्वको सरकारले त उल्टै एनसेललाई नवीकरणवापत्को रकम तिर्न सुविधा नै दियो । यसमा पनि ठूलै आर्थिक चलखेल भएको चर्चा छ ।

एनसेलले सरकारलाई कर तिरेको छैन । उल्टै सत्तामा रहेकाहरु भने उसैलाई कर छूट देखि कर पछि तिर्न मिल्ने सुविधा दिन्छन् क्याबिनेटबाट निर्णय गराएर । यसमा ठूलो नीतिगत भ्रष्टाचार भइरहेको छ । दैनिक १० करोडको कारोबार गरिरहेको एनसेलले त्यत्रो पैसा कहाँ लगिरहेको छ ? उसले विगतमा जसरी नै त्यो रकम विदेशमा ओसारिरहेको देखिन्छ । यसरी ओसारेको रकम मिलान गर्न भविष्यमा शेयर खरिद विक्रीको नाटक मञ्चन हुनसक्छ । त्यस्ता नाटकलाई सामसुम पार्न सत्तामा रहेकाहरुलाई विगतमा जस्तै पैसाले मुख बुजो लगाइदिने नै छ ।

एनसेलले सम्पत्तिको दायित्व पनि भएको भन्दा बढाएर देखाएको छ । ऊसँग भएको सम्पत्तिभन्दा दोब्बर देखाएको छ । यो सबै ऋण लिनका लागि र भविष्यमा सर्वसाधारणका लागि शेयर खोल्ने योजना अनुसार भएको छ ।

यसैगरी, एनसेलको शेयरविक्रीसम्बन्धी मामलाबारे दूरसञ्चार प्राधिकरणले के गर्दैछ भनी नेपालीपेनले बुझ्न खोज्दा सम्बन्धित अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । उनीहरुसँग तीन हप्तायता पटक पटक सम्पर्क गर्दा पनि विभिन्न बहानामा पन्छिने गरेका छन् ।

प्रतिक्रिया