२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

धनराज दम्पत्तिबाट नेपालमा सहकारी ठगी अमेरिकामा क्यासिनो रिसोर्ट


October 18, 2024
1.1k
Shares

नेपाली पेन खोजः “सहकारी ठग” को सूचीमा अहिले रवि लामिछाने अग्रपंक्तिमा राखिएका छन् । त्यसपछि चर्चामा छन् धनराज गुरुङ । रवि उपप्रधानमन्त्री भइसकेका छन् भने धनराज मन्त्री । रवि रास्वपाका सभापति छन् भने धनराज देशको सबैभन्दा पुरानोमध्येको दल नेपाली काँग्रेसका निर्वाचित उपसभापति ।

दुवैको राजनीतिक आवरणभित्रको धन्दामा समानता देखिन्छ । रविले अमेरिकामा ठगी गरीडिभोर्सपश्चात् पत्नीलाई डिभोर्स गरी उतै छोडे भने धनराजले ठगी चाहिँ नेपालमा गरे तर डिभोर्सपश्चात् पत्नी ज्योती गुरुङलाई अमेरिका लगी छोडे ।

शरणार्थी बन्न रविले आफैँ असाइलम फाइल गरे भने धनराजले पत्नीलाई असाइलम फाइल गराए । असाइलम स्टोरीअर्थात लिखित पर्सनल स्टेटमेन्ट वा न्यारेटिभमा रविले आफू नेपालमा पत्रकारिता गर्दा माओवादीको विरुद्ध समाचार लेखेको कारण नेपालमा ज्यान असुरक्षा भएकोले बल्लतल्ल ज्यान जोगाएर अमेरिका आउन सफल भएको, नेपाल फर्केमा माओवादीबाट मारिन सक्ने भनी पत्रपत्रिकामा छपाएका प्रायोजित नक्कली समाचार भँजाए भने ज्योतिले नेपाली काङ्ग्रेसका उपसभापति समेत रहेका आफ्ना पतिबाट जिउज्यानमा खतरा भएको, लोग्नेले रक्सी पिएर आइ बारम्बार कुटपिट गर्ने गरेको, धनराज शक्तिशाली पार्टीको उपसभापति भएकोले उनलाई नेपालमा कानून नलाग्ने, प्रहरी प्रशासनमा उजुरी गर्दा जाहेरी दर्ता नभएको, प्रहरीले कारबाही नगरी उल्टै आफूलाई धम्क्याएको भनी नेपालको कानून र व्यवस्थाको अन्तराष्ट्रिय स्तरमा धज्जी उँडाइ धनराजले कुट्दा नीलडाम भएका भनी खिचाएका फोटाहरू पेस गरिन् । दुवैले युएससिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस अर्थात युएससिआइएसको आँखामा छारो हाले, नौटङ्की गरे, सुनुवाइमा रोइकराइ गरे,ग्रिनकार्ड हात पारे । अहिले दुवै पूर्वपत्नीहरू अमेरिकामा छन् भने पूर्वपतिहरूको ठगीधन्दा नेपालमाखुबै मौलाएको छ । दुवैका स्वास्नी र छोरी अहिले अमेरिकामै छन् ।

अमेरिकी नागरिक रवि कुनैपनि बेला पासपोर्ट अप्लाइ गरी आफ्नो देश फर्कन सक्नेर अमेरिकी भिषावाहक धनराजसँग छोरीमार्फत चाहेका बखत ग्रिनकार्ड पाउने हैसियत सुरक्षित छ । खण्डखातिर कथंकदाचित नेपालीहरूको घैँटामा घाम लागेछ, उनीहरू चीर निद्राबाट ब्युँझेछन्, जन आन्दोलन गरेछन्, राजनैतिक परिवर्तन भएछ, भ्रष्टहरूको सत्ता ढलेछ र जनताको सरकार बनेछ भने कारबाही प्रारम्भ हुनुपूर्व नै भाग्न दुवैको खुट्टा भने अमेरिकातिर उचालिएका छन् ।

रवि विरूद्ध गृहमन्त्रीको शक्ति दुरुपयोग गरी सहकारी ठगीमा आफू विरुद्धको किटानी जाहेरी प्रहरीमा दर्ता गर्न अवरोध गरेको र अपराध अनुसन्धान प्रभावित पारेको मुख्य आरोपमा राजिनामाको माग सहित रोष्टम घेराउ गरी श्रृङ्खलावद्ध संसद चल्न नदिने समूहका मुख्य नाइकेको रूपमा धनराजले आफूलाई प्रस्तुत गरे । ओलीको नाकको डाँडीमा आफ्नो चोरऔँला तेर्‍स्याउँदै दक्षिण भारतीय फिल्मी शैलीमा हिरोगिरी प्रदर्शन गरे । उनै धनराज र उनको दलको लगातार संसद अवरोधले रविको सरकारलाई गठन गर्न बाध्य तुल्याएको एमाले सांसद सूर्य थापा संयोजकत्वको संसदीय समितिसमक्ष धनराजगुरुङ दम्पत्तिले ललितपुरस्थित मितेरी सहकारीबाट लिएको ऋण नतिरेको मात्र नभई सर्वसाधारण निक्षेपकर्ताको करिव १३ करोड रुपैयाँ सहकारीको खातामा डिपोजिट नगरी अपचलन गरेको बेहोराको जाहेरी सहकारी अध्यक्ष कुम्भराज गुरुङले दिएपछि लहरो तान्दा पहरो गर्जियो ।

गृहमन्त्री छँदा रविलेआफ्नो विरुद्ध परेको जाहेरी दर्ता गर्न नदिएको नजिर प्रयोग गरी धनराजले पनि काङ्ग्रेसी गुटको गृहमन्त्री भएको बेला सत्ता र शक्तिको भरपुर दुरुपयोग गरी आफू विरुद्ध कुम्भराजले दिएको उजुरी दर्ता नगर्न नगराउन प्रहरीलाई दबाब दिई जाहेरी दरखास्त सहकारी विभागतिर दिशान्तर गराए । फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ बमोजिम जाहेरी प्रहरीमा दर्ता गराउने, प्रहरीले दर्ता गर्न इन्कार गरेमा जिल्ला सरकारी वकील कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा वा उक्त कार्यालयहरूले पनि इन्कार गरेमा प्रमुख जिल्ला अधिकारीसमक्ष र त्योपनि नभए गृह मन्त्रालयमा जाहेरी दरखास्तसहित उजुर गर्नसक्ने प्रावधान छ । सहकारी विभाग जाहेरी दर्ता गर्न कानूनले अख्तियारी दिएको निकाय एवं पीडित दुवै नभएकोले गृहमन्त्रीको निर्देशनमा त्यसरी सहकारी विभागमा पठाउनु आफ्ना पार्टीका ठगलाई बँचाउन निक्षेपकर्ताको संविधानको धारा २० द्वारा प्रदत्त फौजदारी न्यायको हक हनन गर्नु हो । यसरी सुनियोजिन रूपमा प्रहरीद्वारा सहकारी विभाग पठाइएको जाहेरीबाट प्रमुख सहकारी ठगको रूपमा किटान गरिएका धनराज गुरुङको नाम जाहेरीबाट हटाउनु नै थियो भन्ने पुष्टि भएको छ ।

गृहमन्त्रीमार्फत सत्ता र शक्तिको दुरुपयोग गरी आफूले उन्मुक्ति लिएपनि पत्नी ज्योतीको नाम जाहेरीबाट हटाउने आँट गर्नभने धनराजले हिम्मत गरेनन् । यसमा धनराज कानूनमन्त्री छँदा उच्च अदालतको न्यायाधीशको ३० नं। वरियतामा रहेका आफ्ना साँढुभाइ नित्यानन्द पाण्डेलाई जबरजस्ती तानेर सिनियरहरूलाई पाखा लगाउँदै मुख्य न्यायाधीश बनाएको गुनको पैँचो आफू गृहमन्त्री भएपछि रमेश लेखकले तिरेको प्रष्ट भएको छ ।

न्यायाधीश नियुक्तिमा अकुत कमाइ
भारतीय र बेलायती सेनामा छनौट हुन फिट नभएपछि हिनताबोधले विरक्त लागेर नेवि सङ्घमार्फत राजनीतिमा प्रवेस गरेका धनराजले जीवनको मुख्य उद्देश्य नै ब्रिटिस र इन्डियन आर्मीमा भर्ती भएका लाहुरे दौँतरीहरूभन्दा बढी धन कमाएर देखाइदिने बनाए । आफ्नो मिसन सफल बनाउन २०४६ सालपछि आएकोप्रजातन्त्रमा नेपाली काङ्ग्रेस सत्तामा रहेको अवसरलाई खुम बहादुर खड्काको पछि लागेर कर्मचारी, प्रहरी सरुवा, बढुवा, ठेक्कापट्टा, तस्करी जस्ता काममा बीचौलियाको भूमिकाबाट मनग्य कमाए । पछि तरूण दलमा जिम्मेवारी पाएपछि उनले सिङ्गो दललाई नै मानव तस्करीमा दुरुपयोग गरी सङ्गठन कै यति बद्नाम गराएकि दूतावासहरूले नेपाली हरूलाई भिषा दिनै छाडे । उनको धन कमाउने लालसा यति बढ्यो कि उनी धन कमाउने नयाँ नयाँ योजनामा लागे । आफ्ना मित अमिर गुरुङसँग साझेदारी गरी उच्च पदस्थ नेता, सांसद, मन्त्रीहरूको नाममा जारी कुटनीतिक सुविधाको रातो पासपोर्ट दुरुपयोग गरी मानव तस्करीलाई नयाँ उचाइ दिए ।

रातो पासपोर्ट काण्डमा मुलुकको बेइज्जत यति चरम भयो कि अन्तराष्ट्रिय स्तरमा नेपालको घोर बेइज्जत भयो । विदेशी सरकार र कुटनैतिक निकायले पनि नेपालप्रति प्रश्न उठाइ कुटनैतिक नोट पठाउन थाले । अचाक्ली भएपछि यो काण्ड सामसुम पार्न स्वयं सत्तारुढ काङ्ग्रेसले पनि नसकी धनराज विरुद्ध अनुसन्धान अगाडि बढाउन बाध्य भयो। उनी विरुद्ध जाहेरी परेपछि अनेक हथकण्डा, पार्टीको पिट्ठु कार्यकर्ता न्यायाधीश, धन र शक्ति अर्थात साम, दाम, दण्ड, भेद प्रयोग गरी धनराजले मुद्दामा सफाइ खरिद गरे । सफाइ पाएपछि चुनाव जितेपछि शेखर कोइरालाको टिमबाट प्रचण्ड सरकारमा कानूनमन्त्री बने । मन्त्री छँदा सेटिङमा आफूले सर्वोच्च अदालतमा नियुक्त गरेका न्यायाधीश प्रयोग गरी धनराजले आफूलाई उसबखत अनुसन्धान गराइ मुद्दा चलाउने सहासी गृहमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारमा डामेर बदला लिई छाडे ।

रातो पासपोर्ट काण्डमा अदालतबाट कसूरदार ठहरेको भए धनराजको राजनीतिमा ब्रेक लाग्थ्यो तर त्यसो भएन । भैदियो ठ्याक्कै उल्टो । धनराज भागबण्डामा कानूनमन्त्री बनेपछि ठूलो संख्यामा रिक्त जिल्ला, उच्च र सर्वोच्चमा भएका न्यायाधीश नियुक्तिमा अकुत कमाए । त्यसबखत उनलाई भाग्यले यति साथ दियो कि प्रधानन्यायाधीश र न्याय परिषद पदाधिकारीको टिमपनि आफैँजस्तो भेट्टाए । बार अध्यक्षको कार्यकाल समाप्त नहुँदै ओलीको महान्यायधिवक्ता बनेका हरिकृष्ण कार्कीलाई एमाले कोटामा न्यायाधीश बनाएको चौतर्फी आरोपका बीच प्रधान्यायाधीश बनेका हरिकृष्णको अलोकप्रीयता र बद्नामीको फाइदा उनका उत्तराधिकारी विश्वम्भर प्रसाद श्रेष्ठ र ईश्वर खतिवडाले राम्रैसँग उठाए धनराजसँगको सहकार्यमा ।

पुत्र अपूर्व र चोलेन्द्र समशेर प्रधानन्यायाधीश भएको बेला बिचौलियाको कुख्याति कमाएका वकील आशिष अधिकारीमार्फत ईश्वर खतिवडाले न्यायाधीश नियुक्तिका बखत टेण्डर नै खोले। त्यसैगरी बालुवाटारको सरकारी आवासमै विराजमान कान्छी छोरी र ज्वाइँ, डोटी घर भएका तरुण दलआवद्ध पुष्प शाहीमार्फत आरजू राणा सँगको हाइप्रोफाइल सेटिङ तथा पिए राजकुमार भट्ट लगायत अनेकौँ दलालमार्फत विश्वम्भर मुद्दा मात्र नभई न्यायाधीश नियुक्तिको पनि सेटिङमा लागे । विश्वम्भरको नाम लिँदै बीचौलिया टोली नै न्यायाधीश आकाङ्क्षी उम्मेदवारको सम्पर्कमा पुग्ने र होटल र थलो फेर्दै डिल गर्ने काममा परिचालित भयो । उता न्यायाधीश नियुक्तिमा पैसा उठाउन सम्पर्क सुत्रका रूपमा एकजना सर्वोच्चकै विवादित न्यायाधीश, पिए प्रेमप्रकाश केसी र आफूपनि व्यक्तिगत रूपमा छुट्टै डिलिङमा धनराज गुरुङ लागेको समाचार सप्रमाण बाहिरियो । यस्तो कार्यमा चौलेन्द्रसँग सहकार्य गरी माहिर भएका परिषदका दुईजना रामप्रसादहरू पनि गच्छे अनुसार उठनी पुठनीमा लागेको हल्लाले सर्वोच्च परिसर डुङडुङ्ती गनायो ।

पछिल्लो समय बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नै मुख खोले यस्ता पात्रविरुद्ध । उनी अदालतको अवहेलना मुद्दाको सामना गरिरहेका छन् अहिले ।
यसअघिका सर्वोच्च र उच्चका हरेका नियुक्तिमा भागबन्डामा सिट छुट्याइ राजनीतिक कार्यकर्ता, पदाधिकारीका आफन्त र पैसाविना नियुक्ति असम्भव नै थियो । विशवम्भर, ईश्वर, धनराजको यो टिमले त जिल्ला न्यायाधीश बनाउँदा पनि छरप्रष्ट हुनेगरी डिलिङ गरेको खबर छताछुल्ल भो । पटक पटक नियुक्ति थाँती राखी मिटिङ सार्दै परिषद पदाधिकारीहरू संयुक्त र सामूहिक रूपमा विदेश भ्रमण गरे । उतै डिल गरे, विदेशमा रहेका आफन्त र व्यापारीका नाममा रकम व्यवस्थापन गरे र फर्केर आइ नियुक्ति टुङ्ग्याएका दृष्टान्त छरपरष्ट भए ।

बालुवाटार निवासमा साथमै बस्ने कान्छी छोरी र ज्वाइँ नेपालमा सेटिङ गर्ने र जेठीछोरी कालोधन अमेरिकामा व्यवस्थापन गर्नेआरोप प्रधानन्यायाधीश विश्वम्भरलाई लाग्यो । अर्कोतर्फ आफूलाई शक्तिशाली देखाउने कम्बल ओढी घिउ खाने प्रवृत्तिका परिषदका वरिष्टतम् सदस्य ईश्वर खतिवडाकावकील छोरा अपूर्व नेपालमा बीचौलिया काम गर्ने अमेरिकी नागरिक रहेका छोरीज्वाइँ मार्फत पैसा व्यवस्थापन गर्ने गरेको समाचार सार्वजनिक भयो । कानूनमन्त्री धनराज नेपालमा भ्रष्ट्राचार गरी कमाएको अकुत धन अमेरिकामा रहेकी पत्नी, अष्ट्रेलियामा रहेका छोरा र हङकङमा रहेका सालोमार्फत व्यवस्थापन गर्ने तथ्य सप्रमाण बाहिरियो । परिषद सदस्य रामप्रसादद्वयकी छोरीहरू पनि अमेरिका वासिन्दा भएकोले उनीहरूको पैसा व्यवस्थापनकोपनि सेफल्याण्डिङ भयो ।

भ्रष्ट र बद्नाम व्यक्तिहरू न्याय परिषदमा हुँदा भ्रष्टहरूको टिमलाई कसरी न्यायपालिकाको बद्नाम हुनेगरी न्यायाधीश पद लिलम बढाबढमा राखी संवैधानिक पद बिक्री गरी कसरी अकूत सम्पत्ती कमाउने मौका मिल्छ भन्ने उदाहरण अघिल्लो पटकको न्यायाधीश नियुक्तिमा उदाङ्गो भयो । उस बखतको न्याय परिषदका सदस्यहरू अमेरिका, अष्ट्रेलिया, हङकङलगायत भ्रमण गर्दै व्यक्तिगत र सामूहिक रूपमा सेटिङमा व्यस्त रहेको समाचार नेपाली पेनले समप्रमाण उसैबखत सार्वजनिक गरेको थियो ।

बाबु मन्त्री भएको बेला विवाह गरेका धनराज पुत्र विभाष र नववधुलाई त अष्ट्रेलियाको कर विभागले दुवैको खातामा अप्रत्याशित डिपोजिट भएको ठूलो धनरासीको बारेमा पत्र काटेरै सोधपूछ अर्थात इन्क्वायरी गरेको र धनराजले मन्त्री पदमा आसिन रहेकै बेला मितेरी सहकारीमा ८१ लाख जम्मा गरेको तथ्य बाहिरिइसकेको छ ।

अमेरिकामा घर र रिसोर्ट खरिद
न्यायाधीश नियुक्तिको बेलाआकांक्षीहरूसँग नेपाल, सिड्नी, क्यालिफोर्निया र न्यूयोर्कमा छुट्टाछुट्टै डिल गरेको, पिए प्रेमप्रकाश केसीसहित धनराज बारम्बार अष्ट्रेलिया र अमेरिका भ्रमणमा गएको, नक्कली डिभोर्स गरी अमेरिका पठाएकी पत्नी ज्योतीलाई न्यूयोर्कका जिसी थरका एकजना नेपालीअध्यागमन वकीलमार्फत शरणार्थी आवेदन हालेर न्यूयोर्क राज्यको बफेलोमा बस्ने स्याङ्गजातिरकै एकजना मानिसको घरमा लुकाएको, न्यायाधीश नियुक्तिको बेला डिलिङसकेपछि सार्वजनिक रूपमा सम्बन्धविच्छेद गरेको दाबी गरेकी स्वास्नी उनै ज्योतीसँगै बफेलो गई धनराज बसेको समाचार नेपाली पेनले सार्वजनिक गरेलगत्तै अमेरिकामा बस्ने नेपालीहरूको आँखा छल्न धनराजले स्वास्नी क्यालिफोर्नियाकै सानफ्रान्सिस्को बे एरियामा सार्न सफल भए । अहिले धनराज पत्नी ज्योतीको शरणार्थी आवेदन अर्थात असाइलम स्वीकृत भई ग्रीनकार्ड हात परिसकेको छ।

बफेलोबाट क्यालिफोर्निया ल्याएपछि नेपालीहरूको नजरबाट बँचाउन ज्योतीलाई हेटौँडातिरका रविसिंह बस्नेत नाम गरेका व्यक्तिको रोनर्ट पार्कस्थित घरमा करिब ९ महिना सुटुक्क लुकाएका थिए । रविसिंह तिनै व्यक्ति हुन् जसले धनराजको कालो धन सेतो पार्न लामो समयदेखि सघाउँदै आएका छन् । त्यसको अलवा पिए प्रेमप्रकाश केसीका आफन्त रुकुमका थलवीर ओली, राजु खड्का नामक सहकारी ठग लगायत सातजना मिली हिल्टन ब्राण्डको डबल ट्रि चेन रिसोर्टमा लगानी गरेका छन्।

असाइलम स्वीकृत हुँदा स्पाउस र २१ वर्ष मुनिका छोराछोरीको पनि ग्रीनकार्ड साथै स्वीकृत हुने अमेरिकी अध्यागमन नियमानुसार नेपालमा रहेकी धनराजकी १६ वर्षकी छोरी अदिश्री गुरुङलाई पनि ८र९ महिना अघि धनराजले अमेरिका पठाए । अमेरिका आएपछि रवि सिंहबस्नेतको घरमा आमा ज्योतीको बसाइको शैलीप्रति अदिश्रीले आपत्ति प्रकट गरेपछि धनराजले बे एरियाको रोनर्ट पार्कको महङ्गो एरियामा सिङ्गल फेमिली हाउस खरिद गरेको समाचार नेपाली पेनले सार्वजनिक गरेको थियो । समाचारपश्चात् त्यहाँ बस्ने नेपालीहरूमाझ हल्लाखल्ला भएपछि धनराजले अहिले उक्त घर लिजमा दिई हालसालै पत्नी र छोरीलाई अपार्टमेन्टमा सारेका छन् ।

 

 

अहिले एपार्मेन्टकै नजिक पर्ने ५४५० स्यान्डर लेन, रोनर्ट पार्कको जिपकोड ९४९२८ भएको र्‍यानचो कोगेट हाइस्कुलमा छोरी अदिश्रीलाई भर्ना गराएका छन् । अदिश्री अपार्टमेन्टबाटै स्कुल आवतजावत गर्छिन् ।

 

 

धनराजकी पत्नी ज्योती भने भविष्यमा आफ्नै रिसोर्टको व्यवस्थापन जिम्मा लिन अनुभवको लागि नजिकैको ग्रेटन रिसोर्ट एण्ड क्यासिनोमाकाम गर्न थालेको ९ महिनाजति भएको सुत्रले नेपाली पेनलाई बताएको छ । धेरैजना नेपाली काम गर्ने उक्त क्यासिनोमा ज्योती केज क्यासियर पदमा काम गर्छिन् । नेपालीहरूस्लट मेसिन एटेन्डेन्टको रूपमा काम गर्ने भएकोले नेपालीहरूको सम्पर्कमा नआउन वा आँखा छल्न ज्योती विन्डो रजिष्टरबाट जुवाडेहरूलाई चिप्सबेच्ने, चिप्सलाई नगदमा साँट्ने, काउन्टरबाट रकम विथड्र गरिदिने काम गर्छिन् जसमा खासगरी चाइनिज र स्पेनिस ग्राहकहरूसँग कारोबार गर्नुपर्ने हुन्छ । त्यसो हुँदा नेपालीहरूसँग आम्नेसाम्ने हुने सम्भावना कम हुन्छ। नेपालीहरूसँग उनी सम्पर्कमा नआउने गरेको बुझिएको छ। ज्योती ब्रेक टाइममा पनि नेपालीसँग टाढा बस्ने, कसैले सोधेमा नाम अर्कै बताउने र आफूलाई सिङ्गल ममको रूपमा चिनाउने, लोग्नेको बारेमा केही नबताउने, कसैले कुरा गरिहालेमा प्रसङ्ग बदल्ने, भाग्ने, आफ्नो सक्कली फेसबुक आइडि पनि डिएक्टिभ गरी नक्कली आइडी चलाउने, फोन नं। फेरिरहने, कसंसँग पनि शेयर नगर्ने गर्छिन् ।

रवि सिंहकी पत्नीको साथमा ज्योती
नेपालमा लोग्नेले कमाएको अकुत सम्पत्ति र आफूँ मितेरी सहकारीको एमडि हुँदा सर्वसाधारण निक्षेपकर्ताबाट ठगी गरेको १३ करोड, साझेदारीमा चेन रिसोर्ट र सिङ्गल फेमिली हाउस हुँदाहुँदै पनि घर किन्न वैधानिक स्रोत देखाउन, क्रेडिट स्कोर राम्रो बनाउन, मेडिकल इन्स्योरेन्स बेनिफिट लिन ज्योतीले काम गर्नु परेको बताइन्छ । सोही क्यासिनोमा अर्को नेपाली नबधनाढ्यकी पत्नीपनि काम गर्छिन् ।

२८८ गल्फकोर्स ड्राइभ रोनर्ट पार्क जिपकोड ९४९२८ स्थित ग्रेटन रिसोर्ट एण्ड क्यासिनो
क्यसिनो धनाढ्य र कालो धन सेतो बनाउनेहरूको लागि मनि लाउन्ड्रिङ स्थल मानिनेछ जहाँ संसारभरिका तस्कर, लागूऔषध कारवबारी, भ्रष्ट्राचारी, तानाशाह, कालोधन्दा गर्ने व्यक्तिहरू जित्न भन्दापनि हार्न र जितेको प्रमाणपत्र लिन आउँछन् । क्यासिनोमा जितेको प्रमाणपत्र कालो धन सेतो बनाउने काममा प्रयोग हुन्छ । धनराज पत्नी ज्योती पनि त्यही काममा पारङ्गत हुन क्यासिनो रिसोर्टमा प्रशिक्षण लिँदै छिन् । करिब २५,००० वटा स्लट वा पोकिज भएको ग्रेटन क्यासिनोमा ३,००० जना त सेक्युरिटी मात्र भएको बताइन्छ ।

फरार ज्योती पक्राउ गर्न सरकार अनिच्छुक
सहकारी छानविन समितिको प्रतिवेदनमा जिबी राईसहित २९ जना फरार व्यक्तिलाई पक्राउ गर्न सरकारलाई दिएको निर्देशनमा ज्योती गुरुङको नाम पनि समावेस छ। पत्नीको नाममा सहकारी ठगी गरी नेपालमै राज्यशक्तिको दोहनमा लागेका धनराजको नाम त जाहेरीबाटै हटाइयो । न धनराजले मन्त्री हुँदा तिरेको ८१ लाखको स्रोत राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान, सिआइबि वा अख्तियार नाम गरेका राजनैतिक भर्तीकेन्द्र हरूले नै खोजी गर्ने आँट गरे नत उनको पार्टीले नै कारबाही गर्ने नैतिकता देखायो । बालकृष्ण खाँड पक्राउ पर्दा भने पार्टी जिम्मेवारीबाटहटाइ निलम्बन गर्नुपर्ने प्रस्ताव गर्ने धनराज गुरुङलाई पार्टीले अझैसम्म निलम्बन गर्नु त कता हो कता उनलाई उन्मुक्ति दिन जाहेरीबाटै नाम गायब पारेको छ । यसबाट धनराज पत्नी ज्योतीले अमेरिकामा असाइलम फाइल गर्दा दाबी लिएको नेपालमा शक्तिशाली व्यक्तिलाई कानून नलाग्ने तर्क अन्तराष्ट्रिय जगतमा सत्य साबित गरिदिएको छ ।

अहिले ज्योतीको काम गर्ने स्थान, छोरी पढ्ने स्कुल सार्वजनिक हुँदापनि इन्टरपोल लगाएर रेड कर्नर नोटिस जारी गरी पक्राउ गरी नेपाल ल्याउन प्रहरी इच्छुक नहुनुमा गृहमन्त्री रमेश लेखकको आदेशले काम गरेको घमजस्तै छर्लङ्ग छ । धनराज कानूनमन्त्री छँदासाँढुभाइ नित्यानन्द पाण्डेलाई रोलक्रम मिचेर मुख्य न्यायाधीश बनाइदिएको ऋण लेखकचुक्ता गर्न खोज्दैछन् ।

न्यायाधीश नियुक्तिमा फेरिपनि सेटिङ
विश्वम्भर श्रेष्ठको बहिर्गमन भएपनि प्रकाशमान सिंह राउत र सपना मल्लको टिममा अजयकुमार चौरासिया कानूनमन्त्रीको रूपमा भित्रिएपनि पुराना रामप्रसादहरूको प्रवृत्ति उही नै छ । खाली पात्र र अनुहारमात्र परिवर्तन भएको हो काम र प्रवृत्ति उही छ भन्नेबार र न्याय क्षेत्रमा व्यापक चर्चा छ । अहिले पनि पदाधिकारीका आफन्त, नातागोता, राजनीतिक दलका कारिन्दा र टेण्डर बढाबढ, मोलमोलाइ भएको भुक्तभोगीहरू बताउँछन् । चोलेन्द्र समशेर राणाको पालामा बीचौलियाको रूपमा गिनिज बुकमा नाम लेखाएका कनिष्ठ आशिष अधिकारीलाई सर्वोच्च ल्याउनकै लागि कथित मापदण्डभित्र पार्न जबरजस्ती वरिष्ट अधिवक्ताको पगरी फूलकोर्टले गुथाइदिइसकेको छ । अधिकारीलाई न्यायाधीश बनाउन हेटौँडाकी काङ्ग्रेस नेतृ डिना उपाध्याया र टेरामक्स काण्डमा तत्काललाई जोगाइएका काङ्ग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले लिएका कारण कार्कीमार्फत कानूनमन्त्री चौरासियालाई पनि ठूलै धनरासीमा खरिद गरिसकिएको अधिकारी निकट व्यक्तिहरू सगौरव बताउँछन् । सर्वोच्चमा आफ्नो नियुक्ति हुनेमा अधिकारी ढुक्क छन् । नियुक्त भएपछि वकील हुँदा गर्ने गरेको बीचौलिया पेसा बेञ्चबाटै अझ प्रभावकारी रूपमा गरी अदालत र न्यायाधीशमाथिको बँचेखुचेको जनविश्वास पनि रसातल पुर्‍याउने योजनामा अधिकारी छन् ।

वरिष्ट अधिवक्ता दिने समितिको अध्यक्ष तत्कालीन वरिष्टतम न्यायाधीश प्रकाश मान सिंह राउतलाई दिइएको थियो, उनी आफैँ अहिले प्रधानन्यायधीश छन् । राउत वकीलबाट न्यायाधीश बन्नुअघि चर्चित सिन्डिकेटधारी वकीलहरूको गुटकासक्रिय सदस्यको रूपमा चिनिन्थे ।उनी न्यायाधीश भएको पनि सिण्डिकेटकै प्रतापको कारण हो । उनी वकील हुँदा देखि नै विवादमुक्त छैनन् । विभिन्न काण्डमा मुछिए ।
पूर्व महान्यायाधिवक्ता खम्म बहादुर खाती र गृहमन्त्री रमेश लेखक मार्फत सिन्डिकेटले डा। विजय प्रसाद मिश्र नाम गरेका वकीललाई सर्वोच्चको न्यायाधीश बनाउन कन्सोलिडेटेड फण्डमार्फत साझा लगानी गरेको वकीलवृत्तमा चर्चा व्यापक छ । सिण्डिकेटबाट सर्वोच्चमा न्यायाधीश बनाउने पुरानो प्रचलन हो । सिण्डिकेटबाट बनेका न्यायाधीशले इजलासबाट सिण्डिकेटको लगानी उठाउन आदेश जा फैसला गर्ने गर्छन्, यसबाट न्यायाधीश र वकील दुवैपक्ष मालालमा । आफ्नै मातृ निकायबाट भएको सिफारिस शिरोपर गरी राउत पनि सिन्डिकेटका उम्मेदवार विजय प्रसाद मिश्रलाई सर्वोच्च ल्याउन चाहन्छन् । राउत सर्वोच्चमा आउनुमा शेर बहादुर देउवा क्याम्पमा उनलाई पुर्‍याइ लबिङ गरिदिने खेलाडी पूर्णबहादुर खड्का हुन् ।

खड्काका खास मान्छे भनी चिनिने २०५५ सालमा मात्र अधिवक्ताको लाइसेन्स लिएका सुर्खेतका अरुण पौडेल नामक अति जुनियर वकीललाई पनि राउतले हालै पुछारमा १५९ नं। मा पारी वरिष्ट अधिवक्ताको पगरी गुथाइदिएकोले पूर्ण बहादुर खड्काको आदेश पौडेललाई सर्वोच्च ल्याउने छ। खड्काको तामेल नगर्दा आइपर्ने सम्भावित अप्ठ्यारोसँग पनि राउत डराएका छन् । अब वरिष्टतम् न्यायाधीश सपना मल्लको भूमिका यसमा के हुन्छ ? चासो बनेको छ । के उनीपनि प्रकाशमान सिंह राउतले प्रधानन्यायधीश बन्ने ध्याउन्नमा विश्वम्भरको भक्तिभाव गरेजस्तै मार्ग अबलम्बन गर्छिन् कि स्वतन्त्र हैसियतवाला सदस्यको रूपमा काम गर्छिन् ? हुनत भ्रष्ट्राचारमा नाम कहलिएका टेक नारायण कुँवर पनि दौडमा छन् । अख्तियारले दायर गरेका मुद्दामा सफाई दिएर कुँवरले भ्रष्टाचारीहरुबाट अकूत कमाएको तथ्यहरु खुलिरहेका छन् । विशेष अदालतका अध्यक्ष कुँवरले सर्वोच्चको न्यायाधीश बन्न सपना प्रधान मल्लको नाम चोकचोकमा भजाउँदै हिँडेका छन् । कुँवर विरुद्ध न्याय परिषदमा गम्भीर प्रकृतिका उजुरी छन्, जसको निष्पक्ष छानविन भएमा उनको जागरै समेत जान सक्छ । उनी सर्वोच्च जान काङ्ग्रेस नेता गगन थापादेखि पूर्व राष्ट्रपति विद्या भण्डारीको ढोका ढोकासम्म चाहारेका खबर बाहिरिइसकेका छन् ।

कारबाही कहिले ?
अहिले धनराज र रवि लामिछानेमात्र होइन काङ्ग्रेस, एमाले, माओवादी, रास्वपा लगायत दलका नेता वा कार्यकर्ताहरू सहकारी ठगीमा मुछिएका छन् । कारबाही गर्दा लहरो तान्दा पहरो घर्किने डर सरकार र प्रतिपक्षी पार्टीहरूमा छ । नेपालमा राजदूत, जिएम, संवैधानिक निकाय, भिसी, सांसद, न्यायाधीशलगायत महत्त्वपूर्ण पदमा हुने नियुक्तिमा भागबन्डा, दलका कार्यकर्ता, आफन्त र पैसाको मोलमोलाइ प्रमुख योग्यता बन्ने गरेको छ । भरखरै भएको सर्वोच्च अदालतको २ जना न्यायाधीश नियुक्ति प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले लेनदेनका आधारमा गरेको आधिकारिक आरोप बार अध्यक्ष गोपालकृष्ण घिमिरेले लगाएर गम्भीर प्रश्न खडा गरेका छन्। उनले हिम्मत भए आफूलाई थुनेर देखाउन पनि सार्वजनिक चेतावनी दिएका थिए । बार अध्यक्षलाई ठेगान लगाउन सर्वोच्चकै उपसचिव गोविन्द घिमिरेमार्फत अदालतको अवहेलनामाकारबाही गर्न प्रतिवेदन दिन लगाइएको थियो ।

उपसचिव घिमिरेले आफू आइन्दा कसैको प्यादा नबन्ने, गलत आदेश तामेल नगर्ने भनी दशैँ विदालगत्तै अदालत खुल्ने वित्तिकै अवहेलनाको प्रतिवेदन फिर्ता लिने घोषणा गरिसकेका छन् । यसले कुकृत्य ढाकछोप गर्न अदालत पनि बदलाको राजनीतिमा कुन रसातलसम्मनाङ्गो उत्रिँदो रहेछ भन्ने पुष्टि गरेको छ । न्याय परिषद अदालत होइन र परिषदको अध्यक्षविरुद्ध बोलेको कुरा अदालतको अवहेलनाको विषय हुँदैन भन्ने सामान्य ज्ञान पनि सर्वोच्च अदालतको फुलकोर्टलाई नभएको प्रतीत भएको छ । झन् सर्वोच्च अदालतको कुमारद्वयको संयुक्त इजलासको कारण देखाउ आदेशले त इजलासले स्वतन्त्र रूपमा काम नगरी पूर्ण बैठकको पूर्व निर्णय नै तामेल गर्ने रहेछ भन्ने पुष्टि गरेको छ ।

यदि न्यायाधिश नियुक्तिमा लेनदेन नभए ६ सिट खाली हुँदा बारको विरोधका बाबजुद किन २ जना मात्र सर्वोच्चमा नियुक्त गरियो ? किन नियुक्ति प्रकृया थाँती राखी परिषदका जिम्मेवार पदाधिकारी बारम्बार अष्ट्रेलिया, अमेरिका, हङ्ककङ जानुपर्ने अवस्था आयो ? अध्यक्ष लगायत पदाधिकारीहरूका छोरा, पत्नी, छोरी र आफन्त अमेरिका बसोबास गर्ने, पैसा उतै व्यवस्थापन गरी फर्केर आएपछि कुरा मिल्ने, नियुक्त हुनेले घर घडेरी बेचेको, ऋण लिएको, स्पोन्सर खोजेको कुरा बाहिरिने, बीचौलिया परिचालन हुने, बहालवाला मन्त्रीले पदमा रहेकै बेला सहकारीको ८१ लाख ऋण तिरेको स्रोत खुलाउनु नपर्ने, अख्तियारले छानविन नगर्ने, ठग खुलेआमा छाती फुलाएर राजनीतिमा सक्रिय हुने कार्यमा कानून किन लागेन ? अदालत समेत भ्रष्टहरुले कब्जा गर्दै गएमा न्यायमा मोलमोलाई त भइहाल्छ न्यायाधीश बनाउँदा नै मोलमोलाई हुने भइहाल्यो । न्याय मार्न थालिएपछि देशमा गम्भीर संकट आउँदै गरेको संकेतका रुपमा विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया