३० आश्विन २०८१, बुधबार | October 16, 2024

मीनबहादुर गुरुङको कर्तुत खोल्ने सर्वेन्द्र खनाल अबपनि एमालेमै रहलान् ?


October 14, 2024
3.2k
Shares

काठमाडौं, २८ असोज । ललिता निवासको जग्गा प्रकरणको अनुसन्धान हुँदा नेपाल प्रहरीका आइजीपी थिए सर्वेन्द्र खनाल । निडर स्वभावका खनालले ठूला ठूला काण्डको अनुसन्धान गरी तरंग नै ल्याएका थिए । ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा पनि उनले ठूलै आँट गरेर काम बढाएका थिए । यो प्रकरणमा देशको प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराई, माधव नेपालका अलावा ठूलै हस्ती संलग्न रहेको विषय आएको थियो । यतिमात्र होइन चर्चित व्यवसायी मिनबहादुर गुरुङ समेतले जग्गा हात पारेका थिए ललिता निवासले ओगटेको जग्गामा । उनी मीनबहादुरसहित देशका नाम चलेका व्यक्तिहरु दोषी रहेको प्रतिवेदन तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई बुझाए सर्वोन्द्र खनालले ।

गहिरो अनुसन्धान जटिल र जोखिमयुक्त थियो । खनालले जोखिम मोलेर प्रमाणसहित तथ्यहरु निकाल्न लगाए । बालुवाटारको बहुमूल्य जग्गा हडप्नेमा देशका प्रभावशाली नेता, वकिल, व्यापारी समेत संलग्न रहेको तथ्य खुल्यो । जसमा मीनबहादुर गुरुङ पनि हुन् । ललिता निवास प्रकरणका संगठित गिरोहको भागाभाग नै मच्चिएको थियो त्यतिबेला ।

मीनबहादुर ललिता निवास जग्गा प्रकरणमा पक्राउ परे । पछि उनी अदालतको आदेशले धरौटीमा रिहा भए । ललिता निवासको सार्वजनिक जग्गा हडप्ने मीनबहादुर गुरुङ अहिले एमालेलाई ११ रोपनी जग्गा दिएर किर्तिपुरमा पार्टी कार्यालय बनाइदिने भएका छन् । यसको शिलान्यास भइसकेको छ गत हप्ता ।

मीनबहादुरले आफू एमालेसँग नजिक रहेको भनेका छन् । तर, उनै मीनबहादुर दोषी रहेको प्रतिवेदन ओलीलाई बुझाउने तत्कालीन आइजीपी सर्वेन्द्र खनाल एमालेमा छन् । उनी काठमाडौंमा आमनिर्वाचन र तनहुँमा उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार खडा भइसकेका छन् । ओलीले खनालको लोकप्रीयता देखेर एमालेमा तानेका थिए । सार्वजनिक रुपमा पनि खनालको निडरता र कार्यशैलीको प्रशंशा गरेका थिए । खनाल पनि एमालेमा प्रवेश गरे । तर, अहिले ओलीलाई ललिता निवास प्रकरणका मतियार मीनबहादुर प्रीय भएका छन् ।

एमाले नेतृत्वलाई धनले लोभ्याएपछि मीनबहादुरहरु हावी हुने परिस्थिति बनेको छ । एमालेको पछिल्लो परिस्थितिबाट सर्वेन्द्र खनाल जस्ता ठगीलगायत गलत प्रवृत्तिविरुद्ध लड्दै आएकाहरु उक्त पार्टी छाड्दे अवस्था बनेको बुझिएको छ । आफू आइजीपी हुँदा जुन व्यक्ति दाषी छ भनी ललिता निवास प्रकरणको अनुसन्धानबाट पत्ता लगाई प्रतिवेदन बुझाए । गृह मन्त्रालयलाई जाहेरीवाला बनाएर मीनबहादुर गुरुङलगायत ललिता निवास प्रकरणका अभियुक्तहरुलाई पक्राउ पूर्जी जारी गर्न लगाए । १० नम्बर डायरीमा राखेर अभियुक्तहरुलाई पक्राउ पूर्जी जारी गर्न लगाएपछि तरंग नै आएको थियो । पक्राउ पूर्जीका आधारमा मीनबहादुरलगायत पक्राउ परेका थिए ।

उनै व्यक्तिले एमालेको पार्टी कार्यालय बनाइदिने भएपछि खनाललगायत ठूलो समूह नयाँ विकल्पमा जाने तयारीमा रहेको बुझिएको छ । अब खनाल र उनीनिकट ठूलो समूह एमालेमा रहलान् या छाड्लान् भन्ने प्रश्न समेत उठेको छ । मुकुल ढकालले त विगतमा सर्वेन्द्र खनालको समूहले स्वतन्त्र पार्टी गठन गर्न लागेको सूचना पाएर रवि लामिछाने हतार हतार निर्णयमा पुगेको खुलासा गरिसकेका छन् ।

खनाल नयाँ शक्ति निर्माणमा रहँदै गर्दा ओलीले बारम्बार आग्रह गरेर एमालेमा तानेका थिए । अब भने खनाल ओलीको आश्वासनमा नरुमल्लिने उनीनिकटस्थले बताएका छन् । मीनबहादुरले एमाले पार्टी कार्यालय बनाइदिने भएपछि अवस्था गम्भीर भइसकेको निष्कर्षमा समेत उक्त पार्टीका जिम्मेवार नेता कार्यकर्ता पुगेको बुझिएको छ । एमालेमा अब मीनबहादुर गुरुङ हावी हुने देखिइसकेको छ ।

उनको ओलीसँग गहिरो साँठगाँठ खुलिसकेको छ । यसले एमालेभित्र असन्तुष्टि समेत बढेको छ । कतिपयले एमाले नेतृत्व एउटा व्यापारीसँग बिकेको आरोप समेत लगाइरहेका छन् । पाँच लाख पार्टी सदस्य रहेको दाबी गर्ने एमाले कार्यकर्ताको बलमा भन्दा एउटा व्यापारीको बलमा विश्वस्त रहेको सन्देश पनि गएको छ । उसको २०७९ सालको चुनावमा २६ लाख मतदाता रहेको तथ्यांक छ । ती मतदाताको समेत अपमान भएको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया