१० मंसिर २०८१, सोमबार | November 25, 2024

पदमा हुँदा नगर्ने पदमुक्त भएपछि गर्छु भन्नेहरुलाई तनहुँका जनताले पाठ सिकाउनेछन् :गोविन्द भट्टराई


0
Shares

काठमाडौं, २८ चैत्र । तनहुँमै जन्मिएर सालिन, निष्ठा र त्यागी नेताको पहिचान बनाउन सफल नाम हो, गोबिन्द भट्टराई । उनी तनहुँ–१ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनका उम्मेदवार हुन् । समाजशास्त्र, व्यवस्थापन शास्त्र, अर्थ शास्त्र, राजनीति शास्त्र, लगायतका धेरै विषयमा स्वदेशबाटै उच्च शिक्षा प्राप्त गरेका भट्टराई पिएचडीका स्कलर हुन् । उपनिर्वाचनको प्रचारप्रसारमा ब्यस्त भट्टराईसँग नेपाल पेन डटकमले गरेको विशेष कुराकानी

चुनावको तयारी कत्तिको गर्नुभएको छ ?

एकदम राम्रोसँग तयारी भइरहेको छ । साथीहरु वडावडामा खटिराख्नु भएको छ, आम नागरिकहरु पनि विभिन्न कमिटी बनाएर तयारीमा लाग्नु भएको छ ।

तपाईको मुख्य एजेण्डा चाँही के हुन् ?

म त लामो समयदेखि स्थानीयको एजेण्डामा काम गरिरहेको छु, स्थानीय एजेण्डा पनि महत्वपुर्ण छन्, राष्ट्रिय स्तरको एजेण्डामा अर्थतन्त्रको सुधार, बाह्य लगानी भित्राउने, रोजगारी सिर्जना गर्ने, विदेशमा रहेका मानिसहरुलाई नेपालमै रोजगारका लागि ल्याउने विषय मुख्यरुपमा रहेका छन् । शिक्षा र पर्यटनको विषय स्थानीय एजेण्डामा पर्छन् । बाटोको पुर्वाधारहरुमा पिच, निर्माण र विस्तार मुख्य योजना छन् । कतिपय स्थानमा खानेपानीको पनि समस्या छन्, तिनिहरुको पनि निराकरण गर्ने, तटबन्धन लगायतका स्थानीय तहका योजना छन् ।

यहाँले लामो समयदेखि जनतासँगै छु भन्नुहुन्छ, तपाईले गरेका पहिलाका कामको आधारमा अहिले भोट दिन्छन् होला त ?

पहिला गरेको काम सबै नभएपनि जित्ने बलियो आधार चाँही हो । अरु मानिसहरुले चाँही पदमा बस्दा पनि केही नगरेको तर मैले पदमा नबस्दा पनि काम गरेको छु ।

तनहुँको लागि के के गर्नुभएको छ ?

म कुनैपनि राजकीय आहोदामा नहुँदा पनि तनहुँमा करोडौं बजेटको खानेपानीका योजना ल्याए, भन्नैपर्दा ६० खानेपानी आयोजनाहरुको निर्माण गर्न निवेदन बोकेर संयौ पटक मन्त्री र मन्त्रालय धाउने मै हो । राजनीतिक जिवनमा पदलोलुपता कहिल्यै देखाइन, व्यक्तिगत स्वार्थका लागि जागिर खाइ न, निरन्तर तनहुँको उन्नति र प्रगतिमा लागिरहेको छु ।

तनहुँ–१ का जनताले तपाईलाई भोट किन दिने ?

तनहुँको समग्र विकासलाई अगाडी बढाउन,स्थानीय समस्यालाई संसदसम्म पु्याउने र समाधान गर्न मलाई भोट दिनुपर्छ ।

जित्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ ?

जित्ने नै मै हो । पहिला पनि कांग्रेसले जितेकै क्षेत्र हो ।

एक पदको लागि ९ जनाको उम्मेदवारी परेको छ, यहाँको टक्कर चाँही कोसँग हुन्छ जस्तो लाग्छ ?

अहिलेसम्म चाँही एमालेसँगै टक्कर देखिन्छ । स्थापना कालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको धेरै कुराहरु आएका छन् । धेरै विवादास्पद कुरा बाहिर आएका छन् एउटा पार्टी जन्मेको छोटो समयमा यति विवादमा आउनु नेपालको इतिहासमै पहिलो हो । जन्मदैमा विवादमा आएको पार्टीलाई कसैले विकल्पको रुपमा प्रयोग गर्छन् जस्तो चाँही लाग्दैन् ।

यहाँकै पार्टी कांग्रेस परित्याग गरेर आउनुभएका स्वर्णिम वाग्लेको उम्मेदवारीलाई कसरी हेर्नुभएको छ ?

स्वर्णिम वाग्लेले अन्याय परेर पार्टी परित्याग गरेको प्रचार गरिराख्नुभएको छ, अन्याय पर्यो भन्ने त्यो कुरा प्रचारबाजी मात्र हो । उहाँ कांग्रेस पार्टीमा जोडिएको पाँच/सात वर्षमै धेरै अवसर पाउनेमध्ये पर्नुहुन्छ । २ पटकसम्म माननिय सरहको पद योजना आयोगको सदस्य भइसक्नु भएको छ । त्यसपछि पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर माननिय राज्यमन्त्री सरहको पद लिइसक्नु भएको छ । पदमा हुँदा केही नगर्ने तर पदमुक्त भएपछि गर्छु भनेर आउने अन्य उम्मेदवारहरु भएकै कारण पनि मलाई सहज छ । गत निर्वाचनको मतान्तर भन्दा धेरै मतले मैले जित्छु ।

प्रतिक्रिया