८ आश्विन २०८१, मंगलबार | September 24, 2024

देशभक्तहरू जाग्नुको विकल्प छैन् !


18.3k
Shares

प्रकाश रायमाझी । देशमा भइरहेको जनधनको क्षति र दुर्घटनाबाट नेपालीहरू अत्यन्त मर्माहत र भावविह्वल छन् । एकपछि अर्को दुखद घटनाले नेपालीको मन रोइरहेको छ। तर, राजनीतिक दलका माफियाहरू भने देश दोहनमा प्रतिस्पर्धा गरिरहेका छन् । न त जनताको दुःखमा चिन्ता छ, न राहत तथा उद्धार कार्यमा सरकारको ध्यान गएको छ।

स्वदेशभित्र न कोही सुरक्षित छन्, न त कुनै निकायप्रति विश्वास गर्ने ठाउँ छ । सर्वत्र बेथिति छ । देश राजनीतिक माफियाहरूको चंगुलमा फसेकोे छ । ४६ सालदेखि आलोपालो राज्यसत्ता कब्जा गर्नेहरूका अकुत सम्पत्ति राष्ट्रियकरण गरी यी भ्रष्ट माफियाहरुलाई कारागारमा नराखेसम्म व्यवस्था परिवर्तन वा संविधान संशोधनले मात्र केही लछारपाटो लाग्दैन ।

मूल समस्या भनेकैै दलाल र माफियाहरु हुन् । राजनीतिको आडमा माफियातन्त्र चलाउने कथित नेतालाई कारबाही गरेपछि मात्रै विधिको शासन, प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित हुनेछ । बेइमान, भ्रष्ट र तस्करलाई संरक्षण गर्नेहरू राज्यसत्तामा भएसम्म जनताले कुनै राहतको महसुस गर्न सक्दैनन् ।

तीन तहको करले व्यवसायी बाँच्नैै नसक्ने परिस्थिति सिर्जना भइरहेको छ । रोजगार तथा स्वरोजगार नागरिकहरू आफ्नो पेसा व्यवसाय बन्द गरेर विदेश पलायन हुन बाध्य भएका छन् । सत्ताको उन्माद र भ्रष्टहरूको जगजगीले आम नेपाली जनता वाक्क दिक्क छन् । मुठीभर व्यक्तिले राज्य सत्ता कब्जा गरिरहेका छन् । तैैपनि, यो दल त्यो दल, संविधान संशोधन आदि इत्यादि कल्पित नारामा जनता अझै भ्रमित हुँदै छन् । यस्ता भ्रष्ट कुशासकलाई कारागारमा नकोचेसम्म यो मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन। आम नेपालीले आफ्नो बुद्धि विवेक प्रयोग गरेर यो माफियातन्त्रलाई विस्थापित गर्न र नागरिक शासनको प्रत्याभूति गर्न अब विलम्ब गर्नुहुन्न । सेना र प्रहरी पनि यस्ता भ्रष्टहरूको निर्देशनमा चल्न हुँदैन ।

देशप्रति कत्ति पनि उत्तरदायी नरहेका भ्रष्टहरूलाई राज्यबाट उठेको करबाट सुख, सुविधा र सेवा पु¥याउन हामी कहिलेसम्म बाध्य बनिरहने ? स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारजस्ता विषयहरू ओझल परेका छन् । देशको सम्पूर्ण साधनस्रोत माफियाहरुले कब्जा गरिरहेका छन् । चारैतिर उनीहरूकै आतंक छ। न्याय लिलाम भइरहेको छ ।

जुनसुकै माध्यमले होस्, जनताबाट लुटिएको सम्पत्ति जनताकै स्वामित्वमा जाने वातावरण सिर्जना गर्नुु आजकोे आवश्यकता हो । समस्त नेपाली भविष्यका लागि जाग्नुपर्छ । थिचोमिचो, अन्याय र अत्याचार कहिलेसम्म सहेर बस्ने ? श्रीलङ्का र बङ्गलादेशमा नागरिक विद्रोह‌ त्यसै भएको होइन। अत्याचारले सीमा नाघेपछि देशभक्तहरू जाग्नुकोे विकल्प हुँदैन ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

 

 

 

प्रतिक्रिया