८ आश्विन २०८१, मंगलबार | September 24, 2024

भ्रष्टहरूलाई के को बधाई ?


12.5k
Shares

प्रकाश रायमाझी । विद्यमान राजनीतिक खिचातानी र अस्थिरताका कारण देशको अस्तित्व माथि नै प्रश्न उठ्न थालेको छ । देश समृद्धितर्फ उन्मुख हुने सपना बाँडिएको धेरै समय बिते पनि जनताको समस्या झन्–झन् पेचिलो बन्दै गएका छन् । भ्रष्टाचारबाट दुर्गन्धित भएको कथित राजनीतिक माफियाहरूको सत्ता फेरबदलबाट आम नेपाली जनता उत्साहित हुनुपर्ने एवं बधाई र शुभकामना दिन तँछाडमछाड गर्नुपर्ने कुनै अवस्था छैन् ।

राष्ट्रको छविमा नै आँच आउने गरी भ्रष्टाचारमा संलग्न भनिएकाहरु माथि छानबिन हुनु त कता हो कता, सत्ताको चरम दुरुपयोग गरेर अनेक तिकडम लगाएर तिनलाई उन्मुक्ति दिएर फेरि सरकारमा समेत सहभागी गराइएको अवस्थामा नेपाली जनता किन खुसी हुने ?

देशको दोहन गर्न र चरम भ्रष्टाचारका माध्यमले देशको मानमा आँच पु¥याउनेहरुलाई किन बधाई दिने ? विगतका भ्रष्टाचारको छानबिन हुन सक्छ, मुद्दा चल्न सक्छ भन्ने त्रासका बीच भ्रष्टहरुलाई जोगाउन बनेको सरकारलाई बधाई र शुभकामना दिइरहनुपर्ने औचित्य पनि छैन् ।

पथभ्रष्ट राजनीतिक माफियाहरुले देशलाई अधोगतिमा पु¥याउँदा पनि हामीमा चेत खुलेन भने नेपालीले सार्वभौमसत्ता सम्पन्न जनता भनेर गौरव गर्ने अवस्था रहन्न । भ्रष्टहरूलाई कारबाही र बिचौलिया दलालहरूलाई ठेगान लगाउन नसकेसम्म यो राज्य व्यवस्था देश लुट्ने र ठग्नेहरूको निजी कम्पनीजस्तो मात्रै रहने छ ।

अमुक स्वार्थ पूर्ति गर्ने उद्देश्यले तल्लीन यी राजनीतिक माफियाबाट नेपाली जनता अब होसियार हुन विलम्ब गर्नु हुन्न। हर क्षेत्रमा बिचौलियाकरण र दलालीकरणले नेपाली जनता विक्षिप्त भएका छन् । यो संविधान र वर्तमान व्यवस्था यिनै लुटेराहरुका लागि स्वर्णभूमि बनेको छ । हामीले तिरेको रगत पसिनाको करमा राज्य आतंक फैलाउने सरकार तिनका मतियारसँग हामी सजग र सचेत भएनौं भने परिवर्तन ल्याउन झन्झन् कठिन हुँदै जानेछ । विदेशीले दास बनाएर टिक्ने सत्ता र तिनका मतियारबाट राष्ट्र, राष्ट्रियता र देशको स्वाधीनता अक्षुण्ण रहन सक्दैन ‌।

(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया