७ पुस २०८१, आइतबार | December 22, 2024

सम्पत्ति शुद्धीकरणपछि राजस्व अनुसन्धान विभागका डिजी असुली धन्दा विवादमा


332
Shares

काठमाडौं,१३ असार। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक (डिजी)ले व्यापारीलाई धम्क्याएर पैसा असुली गरेको काण्ड सेलाउन नपाउँदै त्यो ‘रोग’ राजस्व अनुसन्धान विभागतिर सरेको चर्चा सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा पुष्पराज शाहीले चलाएको धन्दा अहिले राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढातिर सरेको चर्चा सुरु भएको हो । महानिर्देशक बुढाले चलाउने मोबाइल नम्बरबाट भटाभट व्यापारीलाई फोन गरेर असुली धन्दा चलाउन थालेपछि उक्त काण्ड भुसको आगो जस्तै फैलिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई स्पष्टीकरण नै सोधेको हो ।

केही समय अगाडि व्यापरीसँग घुस ‘बार्गेनिङ’ गरेको प्रमाण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुगेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीको तत्काल सरुवा भएको थियो । ‘सेटिङ डन’ शाही अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा थन्किएका छन् । शाहीलाई तानेर त्यहाँ कमलप्रसाद भट्टराईलाई पठाएको धेरै भएको छैन ।शाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । सम्पत्तिका तत्कालीन महानिर्देशक शाहीको काण्ड र कर्तुत सेलाउन नपाउँदै राजस्वका महानिर्देशक बुढाको काण्ड सतहमा आएको हो ।

पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै राजस्व अनुसन्धान विभाग पुगेका बुढाले बिचौलियामार्फत असुली धन्दा सुरु गरेको आरोप लागेको छ । त्यो विषयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत निगरानी बढाएको पाइन्छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढा भने एकाएक सम्पर्कबिहीन बनेका छन् ।

‘केस’ मिलाउने भन्दै बिचौलिया परिचालन गरेर व्यापारी धक्याउन थालेका बुढा माओवादी सत्ताका तरमारा सहसचिव हुन् । पर्यटन विभागका महानिर्देशक हुँदा विराटनगरको एक होटलमा उनी मातहतका उपसचिव र बिचौलियाबीच बुढाको नाम लिएर घुस ‘बार्गेनिङ’ भइरहेको थियो । उक्त कुरा बुढाका शुभचिन्तकले जानकारी गराउँदा उल्टै बिचौलियाको जानकारी गराउने व्यक्तिको नम्बर दिएर त्यहाँबाट भाग्नु पर्ने अवस्था आएको खुल्न आएको थियो । पर्यटनबाट राजस्व अनुसन्धान पुगेका सहसचिव बुढाले त्यहाँ पनि त्यहिँ धन्दालाई निरन्तरता दिएको पाइन्छ ।

सुरक्षण मुद्रण केन्द्रले अनियमित तरिकाले मदिराको अन्तःशुल्क स्टिकर छपाइ गर्दा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उनै बुढा थिए । उक्त मदिराको अन्तस्शुल्क काण्डमा मुख्यसचिव डा। बैकुण्ठ अर्यालदेखि आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य हुँदै केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसम्म भ्रष्टाचार मुद्दामा डामिए । तर, बजेट निकासा गर्ने बुढा भने उक्त अन्तःशुल्क घोटाला काण्डमा जोगिए ।

सुनिल पौडेल नेतृत्वको राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मधुकुमार मरासिनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त नजिरलाई आधार मान्ने हो भने अन्तःशुल्क स्टिकर घोटालामा बुढाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुनुपर्ने हो । तर, मधुको नजिरविपरीत अख्तियारले उनलाई उन्मुक्ति दिएको पाइन्छ । अख्तियार समेत बसिसकेका बुढा अन्तस्शुल्कको भ्रष्टाचार मुद्दाबाट जोगिएका छन् । राजस्वमा असुली धन्दा निरन्तरता चल्नुले उनको मनोबल झन् बढेको देखिन्छ ।

अर्थ मन्त्रालयको बजेट महाशाखामा मनपरी बजेट निकासा गरेपछि त्यहाँबाट उनी भन्सार विभागको महानिर्देशक बनेका थिए । भन्सारमा संसार भ्याएपछि पर्यटन विभाग हुँदै बुढा राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हाल्न पुगेका हुन् । नवराज ढुंगानालाई विस्थापित गरेर राजस्व अनुसन्धान पुगेका बुढाको असुली धन्दाले अहिले निकै ‘मार्केट’ तताएको छ ।

गृह मन्त्रालय हुँदा प्रशासन र शान्ति सुरक्षा महाशाखा बसिसकेका बुढा माओवादी सत्ताका तरमारा सहसचिवमा चिनिन्छन् । उनी कास्की, मकवानपुर जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी समेत भइसकेका व्यक्ति हुन् । पर्यटन विभागका हुँदा असुली धन्दाको गाइगुई हल्ला मात्र सुनिएका बुढाको राजस्व अनुसन्धान विभागमा पुग्दा उनको असुली धन्दाको असली अनुहार नै उदांगो भएको छ । उनले ‘सालोमार्फत धन्दा चलाउँदा ‘गन्धा’ भएको प्रधानमन्त्री कार्यालय कै उच्च अधिकारीहरूले टिप्पणी गर्न थालेका छन् । उक्त धन्दाले प्रतिनिधि सभामा समेत प्रवेश पाएकाले प्रधानमन्त्री दाहालले के एक्सन लिन्छन् हेर्न बाँकी छ ।स्वास्थ्यलाइभ

प्रतिक्रिया