१० कार्तिक २०८१, शनिबार | October 26, 2024

पशु ढुवानीमा मापदण्ड लागु गर्न एनिमल नेपालको अपिल


1.3k
Shares

काठमाडौं,३१ जेठ । सरकारले जारी गरेको पशु सेवा ऐन २०५५ तथा सो को नियमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार लागु नभएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । मापदण्ड तयार भएको १७ वर्ष पुग्दा पनि व्यवहारमा लागु नगरिएको र कोचाकोच गरेर जनावरहरुको ढुवानी गरेको उनीहरुको भनाइ छ ।

जनावरहरुको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले बुधबार एक कार्यक्रम आयोजना गर्दै पशु कल्याणका विषय ओझेलमा परेको भन्दै जनावरको ढुवानीमा असन्तुष्टि जनाएको हो ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जिवित प्राणीको स्वतन्त्र बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरोकारवालाहरुसमक्ष अपिल गरिन् । “मानव अधिकारका बारेमा धेरै चर्चा भएपनि अहिलेसम्म भने पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना कम छ, चेतनास्तरलाई जति सक्दो धेरै बढाउनु पर्यो ।”–राणाले भनिन्,“पशुकल्याणको वास्तविक अर्थ नै मानव कल्याण हो,सम्पुर्ण मानवजाती पशू कल्याणमा सचेत हुनुपर्छ ।”

राणाले पशु कल्याणका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जनावरहरुको जन्मदेखि मृत्युसम्म उनीहरुले महसुस गर्ने शारिरीक तथा मानसिक अवस्थासम्म सम्बन्धित हुने समेत बताइन् ।

त्यसैगरी, एनिमल नेपालकी फिल्ड अफिसर लक्ष्मी घिमिरेले ढुवानीमा मात्रै नभइ किनबेच गर्ने स्थलमा ल्याउँदा पनि क्रुरता अपनाइने भन्दै पशुपक्षीको असर मानिसको स्वास्थ्यमा प्रत्यक्ष जोडिएको सुनाइन् । उनले भनिन्–“मासु उत्पादनमा ओसारपोसार हुने पशुलाई मापदण्डअनुसार कै व्यवहार गर्नुपर्छ,त्यसो गरिएन भने त्यसको प्रत्यक्ष असर मान्छेलाई नै पर्ने हो ।”

गत आइतबार कर्णालीको पुलमा लठ्ठा चुडिएर अड्किएका १३ वटा खच्चडका विषयले अहिले सामाजिक सञ्जाल तातिरहेको छ । पुलमा अड्किएका खच्चडलाई पुलको लठ्ठा नै काटेर अमानविय तरिकाले उद्दार गरिएको भिडियो र समाचार भाइरल भइरहेको छ । त्यो दृश्य हेर्दा जो कोहीको पनि आँखा रसाउछ । उद्धारको क्रममा २ खच्चडले ज्यान गुमाउन पुगेका छन् भने उद्धार गरेर बाचेका ११ खच्चडको स्वास्थ्य अवस्था कस्तो छ त्यसबारे सम्बन्धित निकायले चासो लिएको देखिदैन् ।

 

पशु ढुवानी मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । त्यसैगरी शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइदैन । राँगाभैसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालक तर्फ फर्केको हुनुपर्छ । नाक र पुच्छर पनि बाँध्न पाइदैन । राँगा, भैसी, बोका खसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नु पर्छ । पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनु पर्छ । पशुलाई गाडीभित्र शून्य दशमलब ८४ देखि एक दशमलब २७ वर्गमिटर स्थान उपलब्ध हुनु पर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् । तर एउटै ट्रकमा ३२ वटा सम्म जनावर राखेर उनीहरुमाथि अन्याय गरिएको भन्दै कार्यक्रम संयोजक राणाले आक्रोस पोखिन् ।

त्यसो त पशुलाई गाडीमा दिनमा ८ घण्टाभन्दा बढी हिँडाउन पाइदैन । गाडीमा घाँस पराल र दाना राखेको हुनु पर्छ । बिचबिचमा पशुलाई ओरालेर आराम गराउने र दाना पानी खुवाउनु पर्छ ।
हरेक वर्ष जुन १४ मा विश्वव्यापी रुपमा क्रुर र निर्दयी तरिकाले हुने पशु ढुवानीविरुद्ध दिवस मनाउने गरिन्छ । भोलि शुक्रबार पशु अधिकार र कल्याणका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुले कार्यक्रम गरेर मनाउँदैछन् ।

प्रतिक्रिया