७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

जसपा नेपाल कस्ले फुटायो ?


581
Shares

काठमाडौं, २५ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बनेको छ । त्यसो त यादव नेतृत्वको पार्टी पटक पटक फुटेको छ । यसले उनलाई कमजोर बनाउँदै लगेको छ ।

वैकल्पिक समाजवादी शक्ति बनाउने योजनाका साथ बढेका यादव फेरि अर्को फुटको सामना गर्न वाध्य भए । आखिर जसपा, नेपाल कस्ले फुटायो ?

जसपा फुट्नुमा सत्ता संघर्ष नै देखिएको छ । प्रचण्ड नेतृत्वको सरकार डगमगाउँदै थियो । काँग्रेससँगको गठबन्धन तोडाएर प्रचण्डलाई आफ्नो साथमा तान्न सफल एमाले अध्यक्ष केपी शर्मा ओली झस्किइसकेका थिए । उपेन्द्र यादव माधवकुमार नेपालसँग मिलेर गठबन्धन तोड्न सक्रिय थिए । यसमा ओलीले सबैभन्दा ठूलो खेल खेले ।

ओलीले प्रचण्डको लागि जसपा, नेपाल फुटाउन जुन खेल खेले त्यसमा उनले आफ्ना पुराना सहकर्मी अशोक राईलाई सक्रिय पारे । राई विगतमा एमालेमा थिए । वीरेन्द्र महतो पनि सक्रिय भए । महतो एमाले नेता रघुवीर महासेठका नातेदार हुन् ।

नवलकिशोर साह पनि उपेन्द्र यादवसँग चिढिएका थिए । प्रदीप यादव पनि मन्त्री बन्न नपाएकोमा असन्तुष्ट थिए ।

जसपा, नेपालभित्रको विवादमा ओली र प्रचण्डले महत्वपूर्ण खेल खेल्दा फुट देखियो । योसँगै तत्काललाई प्रचण्ड सरकार जोगिएको छ । अन्य साना दल पनि थर्कमान भएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पनि गठबन्धनको विपक्षमा नरहेको विज्ञप्ति निकाल्न वाध्य भयो । यसअघि माधव नेपालले गठबन्धन तोड्न सक्ने धम्की दिदै आएका थिए ।

जसपा, नेपाल फुटेपछि साना दलहरु ठूला दललाई चुनौती दिनबाट पछि हटेका छन् । उनीहरुलाई फुटको भय देखिएको छ ।

प्रतिक्रिया