३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने चर्चाबीच भारतमा लोकसभा मतदान


664
Shares

एजेन्सी, ७ वैशाख । भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने चर्चाबीच लोकसभा चुनावको मतदान शुक्रबारबाट चलेको छ । सात चरणमा हुने चुनावको पहिलो चरण हो यो ।

विश्वको प्रत्येक आठजनामध्ये एकजनाले मतदान गर्ने चुनाव भएकाले पनि भारतको चुनावको विश्वभर चर्चा छ । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतलाई सबैभन्दा ठूलो लोकतन्त्र पनि मानिन्छ ।

चुनावका क्रममा पश्चिम बँगालमा केही हिंसात्मक घटना भएका छन् । बाँकी स्थानमा शान्तिपूर्ण रुपमा चुनाव चलेको छ ।

सन् २०१४ यता भारतको प्रधानमन्त्री बनेका मोदीको लोकप्रीयता झन् बढेको विषय आइरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी र उसका गठबन्धनका घटक दलले ४ सय सिट कटाउने लक्ष्य राखेका छन् ।

मोदीले यो चुनावपछि तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर जवाहरलाल नेहरुको रेकर्ड बराबरी गर्ने अनुमानहरु गरिएको छ ।

मोदीको दश वर्षे प्रधानमन्त्री कार्यकालमा भारत विश्वको दशौंबाट पाचौं धनी देश बनेको छ । गरिबको संख्या ह्वात्तै घटेको छ । भौतिक विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो फड्को मारेको छ ।

भारत सैन्य दृष्टिले पनि शक्तिशाली बन्दै गएको छ । भारतले चन्द्रयानको सफल अवतरण गरिसकेको छ । भारतलाई विश्वकै महत्वपूर्ण देशको रुपमा लिन थालिएको छ ।

प्रतिक्रिया