४ पुस २०८१, बिहिबार | December 19, 2024

नेपाली सेनाको घोडेजात्रामा सहभागिता सांस्कृतिक एकताका लागि बलियो आधार


12.1k
Shares

प्रकाश रायमाझी । घोडेजात्रा नेपाली सांस्कृतिक पात्रोमा एक विशेष पर्वका रुपमा मनाइँदै आएको छ । चैत्र कृष्णपक्ष औँसीको दिन काठमाडौँ उपत्यकामा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । घोडेजात्रा मनाउन कसरी सुरु भयो भन्ने विषयमा धेरै किंवदन्ती प्रचलनमा छन् ।

एक जनविश्वासका अनुसार परापूर्वकालका काठमाडौँ उपत्यकामा ‘गुरुमापा’ नामको दैत्यले बस्तीमा पसेर दुःख दिन थाल्यो । काठमाडौँबासीले तान्त्रिक विधिमार्फत गुरुमापालाई घोडाको टापले कुल्चिएर टुँडिखेलको रुखमुनि कैद गरे । त्यसै समयदेखि टुँडिखेलमा घोडा दौडाएर दैत्यमाथि काठमाडौँबासीको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने गरिएको मान्यता छ । यसरी घोडा दौडाउँदा गुरुमापा फेरि दबिएको ठाउँबाट निस्कन नसक्ने जनविश्वास समेत कायम छ । यसै दिन टुँडिखेल नजिकै रहेका पिशाचेश्वर महादेवको पूजाआराधना गर्ने प्रचलन पनि काठमाडौँ उपत्यकामा छ ।

घोडेजात्राको महत्वलाई राज्यका तर्फबाट जिवन्त राख्ने अभिभारा भने नेपाली सेनाले निर्वाह गर्दै आएको छ । राजा जयप्रकाश मल्लले काठमाडौँमा घोडेजात्राको औपचारिक सुरुआत गरेको इतिहास छ । तर, अहिलेसम्म त्यस परम्परालाई जिवन्त राख्ने श्रेय भने नेपाली सेनालाई जान्छ । घोडेजात्राको दिन नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । जसमा घोडचढीका विभिन्न कौशलका साथै विभिन्न स्टन्ट, खेल आदि समेटिएको रोचक कार्यक्रमको समेत आयोजना हुने गरेको छ । प्राचीन समयदेखि नै नेपाली सेनाले राष्ट्रको सुरक्षा, संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । नेपाली सेनाको सौर्य, वीरता र पराक्रम प्रतिविम्बित गर्ने एक विशेष दिनका रुपमा समेत घोडेजात्राको महत्व रहँदै आएको छ । नेपाली सेनाको घोडेजात्रामा सहभागिता सांस्कृतिक एकताका लागि चालिएको एक महत्वपूर्ण कदम पनि हो । यस्ता कदमले राष्ट्रिय एकतालाई समेत बलियो बनाएको छ ।

नेपाललाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गराउनका लागि यहाँका धार्मिक सांस्कृतिक रीतिरिवाजको अतुलनीय योगदान छ । यहाँको कला, संस्कृति, भाषा, मूर्त–अमूर्त सम्पदा आदि इतिहासका अध्येताहरुका लागि खुला विश्वविद्यालय पनि हो । हाम्रा गौरवशाली संस्कृति एवं सभ्यताले नेपाल राष्ट्रलाई विश्वसामु पृथक स्वरुप दिएको छ । कला, संस्कृति एवं सभ्यता अध्ययनका लागि समेत नेपाल विश्वकै केन्द्रविन्दु बनेको छ । यस्तो ऐतिहासिक रत्नलाई जगेर्ना गर्नु, ऐतिहासिक पक्षलाई अझ समृद्ध बनाउँदै लैजानु हामी सबैको कर्तव्य हो ।
(लेखक राजनीतिक विश्लेषक हुन् )

प्रतिक्रिया