भोटेकोशीको पीडा विश्वमञ्चमा सुनाउँदै प्रधानमन्त्री शाह, असोज ८ मा यूएन महासभालाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने निश्चित भएको छ। नेपाल सरकारको विशेष प्रस्तावपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहको सम्बोधनको नयाँ तालिका सार्वजनिक गरेको हो।
प्रधानमन्त्री शाहले महासभाको सम्बोधनमार्फत रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षति अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्।
नेपालमा पछिल्लो समय बाढी, पहिरो र अन्य प्राकृतिक विपद् बढ्दै जानुको प्रमुख कारक जलवायु परिवर्तन रहेको विषयलाई उनले विश्वमञ्चमा सशक्त रूपमा उठाउने तयारी गरेका छन्। जलवायु परिवर्तनको असर सबैभन्दा बढी भोगिरहेका मुलुकमध्ये नेपालले भोगिरहेको क्षति र त्यसबाट उत्पन्न संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराउने सरकारको तयारी छ।
संयुक्त राष्ट्रसंघ मुख्यालयले उपलब्ध गराएको संशोधित तालिका शुक्रबार न्युयोर्कस्थित नेपाली स्थायी नियोगमार्फत परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा प्राप्त भएको हो।
नयाँ तालिकाअनुसार सेप्टेम्बर २४ मा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म विभिन्न देशका १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन्। सोही सत्रमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ का रूपमा प्रधानमन्त्री शाह १७औँ वक्ताका रूपमा रोस्ट्रममा पुग्नेछन्।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। तर, भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि सरकारले आफ्नो रणनीति परिवर्तन गरेको हो।
बाढीबाट भएको ठूलो जनधनको क्षति र नेपालले भोगिरहेको जलवायुजन्य संकटलाई नेपालकै प्रधानमन्त्रीले विश्वका शीर्ष नेतृत्वसामु प्रत्यक्ष रूपमा राख्नुपर्ने निष्कर्षसहित भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री शाहको सम्बोधनलाई यसपटक नेपालको विपद्, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता विश्वमञ्चमा उठाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी भोटेकोशी बाढीको क्षतिलाई आधार बनाएर नेपालले जलवायु परिवर्तनको असर भोग्ने मात्र होइन,


