फेरि बल्झियो कृष्णभीरको कहर : दुई दशकअघि बनाइएका संरचना जीर्ण, राजमार्ग नै ठप्प
काठमाडौं । कुनै समय पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुको मनमा एउटै त्रास हुन्थ्यो—‘कृष्णभीर काटिन्छ कि काटिँदैन रु’
वर्षायाम सुरु हुनासाथ खसिरहने पहिरोका कारण कुख्यात बनेको धादिङको कृष्णभीरमा अहिले फेरि उस्तै कहर दोहोरिएको छ। त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि खसेको ठूलो पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।
कृष्णभीरको पहिरोले काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने–आउने सवारीसाधनको आवागमन प्रभावित भएको छ। मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले ठूलो सास्ती खेपिरहेका छन्।
कृष्णभीरको पहिरो नयाँ होइन
कृष्णभीरमा पहिरो खस्नु आजको समस्या होइन। २०५५र५६ सालतिर यो क्षेत्रमा पटकपटक पहिरो खस्दा यात्रुले ठूलो सास्ती खेप्नुपरेको थियो। २०५० को दशकको अन्त्यतिर खसेको पहिरोका कारण करिब दुई सातासम्म सडकमा आवागमन प्रभावित भएको पुराना घटना अझै स्मरणमा छन्।
त्यसपछि २०६० सालमा कृष्णभीरको पहिरो नियन्त्रणका लागि पर्खालसहित विभिन्न संरचना निर्माण गरियो। त्यतिबेला निर्माण गरिएका संरचनाको आयु करिब २० वर्ष निर्धारण गरिएको थियो।
संरचनाको निर्धारित आयु सकिएको केही वर्षमै कृष्णभीरमा फेरि ठूलो पहिरो खसेर राजमार्ग नै ठप्प भएको छ। यसले एउटा गम्भीर प्रश्न उठाएको छ—दुई दशकअघि गरिएको पहिरो नियन्त्रणको उपाय कति दिगो थियो रु
पहिरोसँगै बनेका थिए गीत
कृष्णभीरको पहिरो कुनै समय यति चर्चित थियो कि त्यसले नेपाली चलचित्र र संगीतमा समेत स्थान पाएको थियो।
दिलीप रायमाझी र झरना थापा अभिनीत चलचित्र ८८‘इन्द्रेणी’८८मा समावेश ‘झर्यो, झर्यो, झर्यो कृष्णभीर।।। कृष्णभीर कटेसी छैन मनमा कुनै पिर’ भन्ने गीतले तत्कालीन कृष्णभीरको अवस्थालाई नै चित्रण गरेको थियो।
२०६० सालमा प्रदर्शनमा आएको उक्त चलचित्रका लागि शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठले गाएको यो गीतले त्यसबेलाको सडक यात्राको पीडा र कृष्णभीरको त्रासलाई सांगीतिक रूपमा प्रस्तुत गरेको थियो।
कृष्णभीरलाई केन्द्रमा राखेर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको गीत पनि बनेको छ। कृष्ण देवकोटा, दुर्गा रायमाझी र शर्मिला गुरुङको स्वरमा रहेको उक्त गीतले पनि कृष्णभीरको पहिरोलाई नै कथाको विषय बनाएको थियो।
त्यस्तै बीमाकुमारी दुरा र मिलन लामाको स्वरमा ‘कृष्णभीरमा जाम’ बोलको गीतसमेत चर्चित छ।
अर्थात्, कृष्णभीर कुनै एउटा पहिरोको नाम मात्रै रहेनस यो लामो समयसम्म नेपाली सडक यात्राको जोखिम, त्रास र पीडाको प्रतीक बनेको थियो।
भदौभित्र सडक खुलाउने प्रधानमन्त्रीको दाबी
कृष्णभीरको समस्या फेरि बल्झिएपछि यसको तत्काल समाधानको विषय पनि चासोको केन्द्रमा छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरी भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने दाबी गरेका छन्।
तर, कृष्णभीरको भौगोलिक अवस्था हेर्दा तत्काल सडक खुलाउनु मात्रै पर्याप्त हुने देखिँदैन। त्रिशूली नदीले सडकको तल्लो भागबाटै जमिन कटान गरिरहेको अवस्थामा पहिरो खसेको स्थानबाटै सडक पुनःनिर्माण गरेर दीर्घकालीन रूपमा समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको छ।
कृष्णभीर छाडेर नयाँ रुट बनाउने कि ?
अहिलेको पहिरोले फेरि एउटा पुरानै बहसलाई सतहमा ल्याएको छ—हरेक केही वर्षमा पहिरो खस्ने कृष्णभीरमै सडक बचाउने कि वैकल्पिक रुट खोज्ने रु
कतिपय प्राविधिकले कृष्णभीरको भौगोलिक जोखिमलाई स्थायी रूपमा समाधान गर्न कठिन हुने भन्दै कृष्णभीर क्षेत्रलाई छाडेर वैकल्पिक रुट निर्माण गर्नुपर्ने सुझावसमेत दिइरहेका छन्।
दुई दशकअघि निर्माण गरिएका पहिरो नियन्त्रण संरचनाको आयु सकिएसँगै अहिले राजमार्ग नै बन्द हुने गरी पहिरो खसेको घटनाले तत्कालीन समाधान र दीर्घकालीन पूर्वाधार योजनाबीचको अन्तरसमेत देखाएको छ।
भदौभित्र सडक खुलाउने चुनौती सरकारसामु छ। तर प्रश्न सडक कहिले खुल्छ भन्ने मात्रै होइन—कृष्णभीरमा फेरि कहिले पहिरो खस्छ भन्ने हो।
त्यसैले कृष्णभीरलाई हरेक वर्ष पहिरो खसेपछि अस्थायी रूपमा सडक खुलाउने समस्याका रूपमा होइन, दीर्घकालीन भू–जोखिम र वैकल्पिक राजमार्गको रणनीतिसहित समाधान गर्नुपर्ने राष्ट्रिय पूर्वाधारको विषयका रूपमा लिनुपर्ने देखिन्छ।


