१२ आश्विन २०८३, सोमबार | September 28, 2026

द्वन्द्वपीडित कोटाबाट महाधिवेशन प्रतिनिधिमा रोजन बानियाँको उम्मेदवारी दर्ता


September 28, 2026
332
Shares

बन्दीपुर–२ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका रोजन भन्छन्– राजनीति पदका लागि होइन, त्यागको न्यायका लागि हो

तनहुँ । नेपाली कांग्रेसका युवा नेता रोजन बानियाँले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत द्वन्द्वपीडित कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका छन्।

बानियाँले आज दमौलीमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी बन्दीपुर गाउँपालिका–२ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं। १ र २ को अधिवेशन, प्रदेश प्रतिनिधि तथा क्षेत्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको हो। निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्माका अनुसार आज मनोनयन दर्ता र भोलि मतदान हुनेछ। मतदान सकिएलगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ।

पदभन्दा संघर्ष र त्यागको पहिचान

राजनीति उनका लागि पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम मात्र होइन। परिवारले वर्षौँदेखि भोगेको संघर्ष, विस्थापन र त्यागको इतिहाससँग जोडिएको यात्रा हो।

रोजन बानियाँ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आएका उनी सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनसँगै नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका थिए। क्याम्पसमा नेविसंघको संगठन विस्तार र सुदृढीकरणमा भूमिका निर्वाह गरेका उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन्।

तर उनको राजनीतिक यात्रा सहज रहेन। माओवादी द्वन्द्वकालमा उनको परिवारले राजनीतिक आस्थाकै कारण विस्थापन र हिंसाको सामना गर्नुपरेको थियो।

बुवाको राजनीतिक संघर्ष, छोराको निरन्तरता

रोजनका बुवा प्रेमबहादुर बानियाँ नेपाली कांग्रेसका पुराना नेता हुन्। उनले बन्दीपुरमा चार कार्यकाल पार्टी सभापतिको जिम्मेवारी सम्हालेका थिए। कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेलसँगको राजनीतिक सम्बन्धबाट कांग्रेसमा आबद्ध भएका प्रेमबहादुर सामाजिक क्षेत्रमा पनि परिचित थिए।

द्वन्द्वकालमा राजनीतिक गतिविधिका कारण धम्की बढेपछि प्रेमबहादुर परिवारसहित बन्दीपुर छाडेर दमौलीमा बस्न बाध्य भए। परिवारका अनुसार उनलाई दमौलीबाटै अपहरण गरी कुटपिट गरिएको थियो। केही दिनपछि गम्भीर घाइते अवस्थामा घर फर्काइएका उनलाई सक्रिय राजनीति नगर्न दबाब दिइएको थियो।

त्यसपछि उनको सक्रिय राजनीतिक यात्रा लगभग रोकियो।

बुवाको संघर्ष र पीडा त्यतिमै सीमित रहेन। रोजन स्वयं पनि द्वन्द्वकालमा विस्थापन र ज्यानको जोखिममा परे।

बन्दीपुरको भुमुर्सेमा गोविन्दराज जोशीको चुनावी कार्यक्रममा सहभागी हुन पुगेका रोजनसहित कांग्रेसनिकट युवाहरूलाई माओवादी पक्षबाट खोजी गरिएको परिवारको भनाइ छ। ज्यानको जोखिम बढेपछि रोजन र विपिन गुरुङ रातभर जंगलको बाटो हिँडेर दमौली पुगेका थिए।

रोजनका अनुसार डुम्रेमा तत्कालीन माओवादीका एक नेताको घरमा लगेर कांग्रेसको राजनीति छाड्न चेतावनी दिँदै आफूलाई रातभर बन्धकसमेत बनाइएको थियो। उक्त घटनामा उनकी बहिनी पनि सँगै थिइन्।

द्वन्द्वको पीडा, विस्थापन र पारिवारिक संकटका बाबजुद रोजनले कांग्रेसको राजनीति छाडेनन्। बरु बुवाले अधुरो छाड्नुपरेको राजनीतिक यात्रालाई निरन्तरता दिने बाटो रोजे।

पद नपाए पनि पार्टी राजनीतिमा निरन्तर

रोजनको राजनीतिक यात्राको अर्को पक्ष हो—पार्टीमा लामो समय सक्रिय रहे पनि उनले अहिलेसम्म कुनै राजनीतिक पद प्राप्त गरेका छैनन्।

पद र अवसरभन्दा पार्टीप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिँदै आएका उनी यसपटक द्वन्द्वपीडित कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन्।

बन्दीपुर–२ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन हुनु र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराउनु उनको राजनीतिक यात्राको नयाँ चरणका रूपमा हेरिएको छ।

परिवारले भोगेको द्वन्द्वको पीडा, बुवाको राजनीतिक संघर्ष र आफ्नै निरन्तर सक्रियतालाई राजनीतिक पहिचान बनाएका रोजन यसपटक महाधिवेशन प्रतिनिधिका लागि मतदातामाझ पुगेका छन्।

प्रतिक्रिया