प्रधानमन्त्री बालेन्द्र शाहले खोले कालो चश्माको रहस्य
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा आफूले कालोचश्मा लगाउनुपर्ने कारण स्पष्ट पार्दै संसद सचिवालयलाई चिकित्सकीय रिपोर्टसहितको पत्र पठाएका छन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले आँखाको समस्याका कारण उज्यालो प्रकाशमा हेर्न कठिन हुने भएकाले कालोचश्मा प्रयोग गर्नुपरेको जानकारी गराएका हुन्।
केही दिनअघि कार्यव्यवस्था समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद बैठकमा आउँदा कालोचश्मा नलगाउन निर्देशन दिएका थिए। आँखाको समस्याका कारण चश्मा अनिवार्य रूपमा लगाउनुपर्ने अवस्था भए चिकित्सकको रिपोर्ट पेश गर्नुपर्ने सभामुखको भनाइ थियो।
सोही निर्देशनअनुसार प्रधानमन्त्री शाहले चिकित्सकीय प्रमाणसहित सचिवालयमा पत्र पठाएका हुन्।
प्रधानमन्त्री शाहले संसद सचिवालयमा पेश गरेको रिपोर्ट लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले तयार गरेका हुन्। रिपोर्टमा प्रधानमन्त्रीलाई ‘ड्राई आई डिजिज’ अर्थात् आँखामा सुख्खापनको समस्या देखिएको उल्लेख छ। सो समस्याका कारण उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने चिकित्सकीय निष्कर्ष रिपोर्टमा दिइएको छ।
चिकित्सकले प्रधानमन्त्रीलाई आवश्यकताअनुसार कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशतको आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्। साथै, उज्यालो प्रकाश भएको वातावरणमा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास वा शेड्स प्रयोग गर्न पनि सिफारिस गरिएको छ।
प्रधानमन्त्री शाह भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुँदैछन्। बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रमसमेत रहेको छ। त्यस क्रममा प्रधानमन्त्री शाह चिकित्सकीय सल्लाहअनुसार कालोचश्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन्।
यससँगै संसद बैठकमा प्रधानमन्त्रीको कालोचश्मालाई लिएर उठेको प्रश्नको औपचारिक जवाफसमेत बाहिर आएको छ—यो शैलीका लागि होइन, आँखाको समस्याका कारण चिकित्सकीय आवश्यकताअनुसार प्रयोग गरिएको चश्मा हो।


