३ भदौ २०८३, बुधबार | August 19, 2026

हिमालयन बैंकविरुद्ध मूल्याङ्कनकर्ताको आन्दोलन देशभर चर्कियो, धितो मूल्याङ्कन ठप्प


August 19, 2026
0
Shares

काठमाडौं, ३ भदौ । हिमालयन बैंकले मूल्याङ्कनकर्ताका समस्या र मागप्रति गम्भीरता नदेखाएको भन्दै नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले बैंकसँग सम्बन्धित सम्पूर्ण धितो मूल्याङ्कन कार्य अनिश्चितकालका लागि बन्द गरेको छ।

एनभिएले भदौ १ गतेदेखि अर्को निर्णय नभएसम्म हिमालयन बैंकसँग सम्बन्धित कुनै पनि धितो मूल्याङ्कन नगर्ने निर्णय गरेको हो। माग सम्बोधनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बैंकबाट अपेक्षित पहल नभएको भन्दै आन्दोलनलाई थप कडा बनाइएको एनभिएले जनाएको छ।

केन्द्रीय कार्यालयको निर्देशनअनुसार कोशी प्रदेशमा समेत हिमालयन बैंकसँग सम्बन्धित सम्पूर्ण धितो मूल्याङ्कन कार्य बन्द गरिएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि आन्दोलन प्रभावकारी बन्दै गएको एनभिएले जनाएको छ।

सिराहा जिल्लामा पनि सो बैंकसँग सम्बन्धित सम्पूर्ण धितो मूल्याङ्कनका सबै काम रोकिएका छन् ।

 

हेटौडामा पनि सो बैंकसँग सम्बन्धित सम्पूर्ण धितो मूल्याङ्कनका सबै कार्य बन्द भएका छन् ।

नेपाल भ्यालुयर्स एसोसिएशनका सचिव इ। रबिन्द्र अधिकारीका अनुसार हिमालयन बैंकविरुद्धको आन्दोलनमा देशभरका मूल्याङ्कनकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। उनका अनुसार सल्यान र चितवनमा समेत बैंकसँग सम्बन्धित सम्पूर्ण धितो मूल्याङ्कन कार्य ठप्प पारिएको छ।

 

एनभिएका अनुसार आन्दोलन क्रमशः देशका विभिन्न जिल्लामा विस्तार हुँदै गएको छ। मूल्याङ्कनकर्ताका जायज माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने संकेतसमेत एसोसिएशनले दिएको छ।

यससँगै हिमालयन बैंकका लागि गरिने धितो मूल्याङ्कन सेवा देशका विभिन्न क्षेत्रमा प्रभावित बनेको छ। मूल्याङ्कनकर्ताको आन्दोलन लम्बिँदै गए बैंकसँग सम्बन्धित कर्जा तथा धितो मूल्याङ्कन प्रक्रियामा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ।

एनभिएका अध्यक्ष इ.संजयकुमार महतोले हिमालयन बैंकविरुद्ध पहिलो चरणको आन्दोलनसकिए लगत्तै माग सुुनुवाइ नभए चाडैनै दोस्रो चरणको आन्दोलन घोषणा गरिने चेतावनी दिएका छन् ।

 

 

प्रतिक्रिया