३२ हजार इन्जिनियरलाई बाहिर राखेर निर्वाचन ? एनईएमा चर्कियो विवाद, पुल्चोकमा धर्ना
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)को निर्वाचनलाई लिएर विवाद चर्किएको छ। अनलाइन भोटिङ लागू गर्नुपर्ने, सदस्यता नवीकरणको म्याद थप्नुपर्ने र निर्वाचन प्रक्रिया पुनरावलोकन गर्नुपर्ने मागसहित इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत इन्जिनियरहरूले एनईएको केन्द्रीय कार्यालय पुल्चोकमा धर्ना दिँदै ‘सदस्यता नवीकरण तथा म्याद थप गर’, ‘अनलाइन भोटिङ लागू गर’, ‘सर्वसम्मत निर्वाचन लागू गर’ लगायतका नारा लगाएका छन्।
एनईएको ३५औँ केन्द्रीय तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन नजिकिँदै गर्दा सदस्यता व्यवस्थापन र निर्वाचन प्रक्रियालाई लिएर प्रश्न उठेको हो।
आन्दोलनरत पक्षका अनुसार एनईएको कुल सदस्य संख्या करिब ४६ हजार रहेको भए पनि हाल निर्वाचनका लागि कायम सदस्य संख्या करिब १४ हजार २९४ मा सीमित छ। यसरी करिब ३२ हजार सदस्यलाई निर्वाचन प्रक्रियाबाट बाहिर राखेर गरिने निर्वाचनले समावेशी र वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न नसक्ने उनीहरूको दाबी छ।
उनीहरूले विगतका निर्वाचनमा निर्वाचन मिति, निर्वाचन कार्यक्रम तथा कार्यतालिका, सदस्यता व्यवस्थापन र मतदाता नामावलीलगायत विषयमा सरोकारवाला पक्षसँग छलफल, परामर्श र समन्वय हुँदै आएको स्मरण गराएका छन्।
तर, यसपटक निर्वाचनको मिति तथा विस्तृत कार्यतालिका सार्वजनिक गर्नुअघि सम्बन्धित पक्षसँग पर्याप्त र औपचारिक छलफल नभएको उनीहरूको आरोप छ।
आन्दोलनरत पक्षले निर्वाचन कार्यतालिका पुनः परामर्श गरी समयसापेक्ष, पारदर्शी र समावेशी बनाउनुपर्ने माग अघि सारेको छ।
यता, एनईएले भने आगामी असोज २ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। सार्वजनिक कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता भदौ १३ र १४ गते तोकिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सदस्यता र मतदान प्रणालीलाई लिएर उठेको विवादले एनईएको निर्वाचन प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ।


