२ भदौ २०८३, मंगलबार | August 18, 2026

हिमालयन बैंकविरुद्धको आन्दोलन एकजुट भएर सफल पारौँः अध्यक्ष, महतो


August 18, 2026
581
Shares

काठमाडौं । सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले हिमालयन बैंक लिमिटेडविरुद्ध भदौ १ गतेदेखि सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ।

एनभिएका अध्यक्ष इ.संजयकुमार महतोले मूल्याङ्कनकर्ता इन्जिनियरहरूको हकहित, पेशागत मर्यादा र अधिकारका लागि लामो समयदेखि निरन्तर संघर्ष हुँदै आएको उल्लेख गर्दै हिमालयन बैंकले आफूहरूका न्यायोचित मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

महतोका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गरिएको आन्दोलनबाट ऐतिहासिक सफलता प्राप्त भइसकेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत मूल्याङ्कनकर्ताका माग र भावनालाई सम्मान गर्दै आएको अवस्थामा हिमालयन बैंकको व्यवहारप्रति संगठन असन्तुष्ट बनेको हो।

एनभिएका उपाध्यक्ष तथा संघर्ष समितिका संयोजक इ। मनिस कर्णसहित कार्यसमितिमाथि बैंकबाट हेपाहा र अपमानजनक व्यवहार भएको अध्यक्ष महतोको आरोप छ। यस्तो व्यवहारलाई सम्पूर्ण मूल्याङ्कनकर्ता इन्जिनियरहरूको स्वाभिमानमाथिको प्रहारका रूपमा लिएको उनले बताएका छन्।

एनभिएले हिमालयन बैंकसँग आबद्ध भई सम्पत्ति तथा धितो मूल्याङ्कनको काम गरिरहेका सम्पूर्ण इन्जिनियरहरूलाई अर्को सूचना नभएसम्म बैंकसँग सम्बन्धित सबै मूल्याङ्कन कार्य पूर्ण रूपमा रोक्न अपिल गरेको छ।

संगठनले आन्दोलनका क्रममा केही समय व्यावहारिक असहजता उत्पन्न भए पनि त्यसले दीर्घकालमा सम्पूर्ण मूल्याङ्कनकर्ता पेशालाई थप सुरक्षित, मर्यादित र अधिकारसम्पन्न बनाउन योगदान पुग्ने दाबी गरेको छ।

अध्यक्ष महतोले मूल्याङ्कनकर्ता इन्जिनियरहरूको एकता नै आन्दोलनको प्रमुख शक्ति भएको उल्लेख गर्दै संस्थागत निर्णयको अक्षरशः पालना गर्न सबै सदस्यलाई आग्रह गरेका छन्। “सम्पूर्ण मूल्याङ्कनकर्ता इन्जिनियर एकजुट हौँ, हिमालयन बैंकविरुद्धको आन्दोलन सफल पारौँ।”–उनी लेख्छन् ।

प्रतिक्रिया