१ भदौ २०८३, सोमबार | August 17, 2026

हिमालयन बैंकको सम्पूर्ण धितो मूल्याङ्कन आजदेखि ठप्प


August 17, 2026
9k
Shares

काठमाडौं, १ भदौ। नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले हिमालयन बैंकविरुद्ध कडा आन्दोलन घोषणा गरेको छ। बैंकले मूल्याङ्कनकर्ताका समस्या तथा मागप्रति गम्भीरता नदेखाएको भन्दै एनभिएले आजदेखि अर्को निर्णय नभएसम्म बैंकसँग सम्बन्धित सम्पूर्ण धितो मूल्याङ्कन कार्य बन्द गर्ने निर्णय गरेको हो।

एनभिएले देशभरका सम्पूर्ण मूल्याङ्कनकर्ता इन्जिनियर, च्याप्टर तथा प्रदेश कमिटीलाई हिमालयन बैंकसँग सम्बन्धित मूल्याङ्कन कार्य तत्काल रोक्न निर्देशन दिएको छ। बैंकसँग सम्बन्धित मूल्याङ्कन जुन अवस्थामा पुगेको छ, त्यही अवस्थाबाट पूर्ण रूपमा रोक्नसमेत भनिएको छ।

एनभिएका अध्यक्ष इन्जिनियर संजयकुमार महतोले बैंकलाई पटक–पटक समस्या समाधानका लागि आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै आन्दोलनका क्रममा उत्पन्न हुने कुनै पनि अप्ठ्यारो, क्षति वा परिस्थितिको सम्पूर्ण जिम्मेवारी हिमालयन बैंकले लिनुपर्ने चेतावनी दिएका छन्।

उनले बैंकले समयमै समस्या समाधानका लागि पहल नगरे आन्दोलन थप कडा बनाइने संकेतसमेत गरेका छन्।

एनभिएका सचिव इन्जिनियर रबिन्द्र अधिकारीका अनुसार एसोसिएशनले विभिन्न मिति तथा पटक–पटक पत्राचार र इमेलमार्फत बैंकसमक्ष आफ्ना समस्या तथा मागहरू राख्दै आएको थियो। तर, मागको उचित सम्बोधन हुनुको सट्टा समस्या झन् जटिल बन्दै गएपछि आन्दोलनमा उत्रिनुपरेको उनले बताए।

संस्थाको निर्णयविपरीत मूल्याङ्कन कार्य गर्ने सदस्यलाई कडा कारबाही गरिने आन्दोलन समिति संयोजक इ. मनिष कर्णले एक विज्ञप्ती जारी गर्दै चेतावनी दिएका छन्।

आजदेखि मूल्याङ्कन पूर्ण रूपमा बन्द

एनभिएको आन्दोलनको पहिलो चरणअन्तर्गत आजदेखि हिमालयन बैंकका लागि गरिने सबै प्रकारका धितो मूल्याङ्कन कार्य बन्द गरिएको हो। आन्दोलनबारे जानकारी गराउँदै बैंकको केन्द्रीय कार्यालयसहित सबै प्रदेश तथा शाखा कार्यालयमा औपचारिक पत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ।

एसोसिएशनले देशभरका मूल्याङ्कनकर्ता इन्जिनियर तथा आफ्ना च्याप्टर र प्रदेश कमिटीका पदाधिकारीलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

एनभिएले यसअघि संस्थाद्वारा प्रेषित २०८३/१/१५ को पत्रलाई निरन्तरता दिँदै मूल्याङ्कन कार्यलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन आन्दोलन घोषणा गरिएको जनाएको छ।

बैंकसँगको विवाद सडकसम्म पुग्यो

मूल्याङ्कनकर्ताका पेशागत समस्या तथा बैंक तथा वित्तीय संस्थासँगको सम्बन्ध व्यवस्थित गर्न एनभिएले यसअघि पनि आन्दोलन गर्दै आएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध लामो आन्दोलनपछि महत्वपूर्ण सफलता हासिल गरेको एनभिएको दाबी छ।

त्यसपछि एसोसिएशनले डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल ९डिबान० सँग समेत सम्झौता गरेको थियो। ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक र एसबिआई बैंकलगायतसँग पनि विभिन्न चरणमा सम्झौता भइसकेको एनभिएले जनाएको छ।

आन्दोलन समितिका संयोजक इन्जिनियर मनिष कर्णका अनुसार हिमालयन बैंकविरुद्धको पछिल्लो आन्दोलन कुनै नयाँ वा अलग विषय नभई मूल्याङ्कनकर्ताका पेशागत समस्या समाधान तथा बैंकहरूसँग व्यवस्थित सम्बन्ध कायम गर्ने अभियानकै निरन्तरता हो।

एनभिएको भनाइमा, “अन्य बैंकहरूसँगको समस्या समाधान गर्दै अघि बढेको अभियानमा अब हिमालयन बैंकको पालो आएको हो।”

बैंक र मूल्याङ्कनकर्ताबीचको विवाद तत्काल समाधान नभए आन्दोलन थप कडा बन्न सक्ने एनभिएले चेतावनी दिएको छ।

हिमालयन बैंकसँग सम्बन्धित धितो मूल्याङ्कन देशभर ठप्प भएपछि यसको प्रत्यक्ष असर बैंकको कर्जा प्रवाह, धितो मूल्याङ्कन तथा सेवाग्राहीको ऋण प्रक्रिया मा समेत पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया