२५ श्रावण २०८३, सोमबार | August 10, 2026

हिमालयन बैंकविरुद्ध एनभिएको कडा आन्दोलन घोषणा, भदौ १ देखि सबै धितो मूल्याङ्कन ठप्प


August 10, 2026
1.7k
Shares

काठमाडौं, २५ साउन । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले हिमालयन बैंकविरुद्ध कडा आन्दोलन घोषणा गरेको छ। बैंकले आफ्ना समस्या र मागप्रति गम्भीरता नदेखाएको भन्दै एनभिएले २०८३ भदौ १ गतेदेखि अर्को निर्णय नभएसम्म हिमालयन बैंकका लागि गरिने सम्पूर्ण धितो मूल्याङ्कन कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

एनभिएका अध्यक्ष इ. संजयकुमार महतोले आन्दोलनका क्रममा उत्पन्न हुने कुनै पनि अप्ठ्यारो, क्षति वा त्यसबाट सिर्जित परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयं हिमालयन बैंकले लिनुपर्ने चेतावनी दिएका छन्।

बैंकलाई पटक–पटक आफ्ना माग र समस्या समाधानका लागि आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै अध्यक्ष महतोले अब आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार एसोसिएशन नभई बैंक नै हुने स्पष्ट पारे। उनले बैंकले समयमै समस्या समाधानतर्फ पहल नगरे आन्दोलन थप कडा बन्न सक्ने संकेतसमेत दिएका छन्।

एसोसिएशनले विभिन्न मिति तथा पटक–पटक पत्राचार र इमेलमार्फत बैंकसमक्ष आफ्ना समस्या तथा मागहरू राख्दै आए पनि त्यसको उचित सम्बोधन नभएको जनाएको छ। समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गएपछि आन्दोलनमा उत्रिनुपरेको एनभिएका सचिव इ। रबिन्द्र अधिकारीले बताएका छन्।

एनभिएले यसअघि संस्थाद्वारा प्रेषित २०८३|१|१५ को पत्रलाई निरन्तरता दिँदै समग्र मूल्याङ्कन कार्यलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन आन्दोलन घोषणा गरिएको जनाएको छ।

भदौ १ देखि मूल्याङ्कन ठप्प

आन्दोलनको पहिलो चरणअन्तर्गत भदौ १ गतेदेखि हिमालयन बैंकका लागि गरिने सम्पूर्ण धितो मूल्याङ्कनको काम बन्द गरिनेछ। बैंकसँग सम्बन्धित मूल्याङ्कनको काम जुन अवस्थामा पुगेको छ, त्यही अवस्थामा पूर्ण रूपमा रोक्न देशभरका सम्पूर्ण भ्यालुयर्स, च्याप्टर तथा प्रदेश कमिटीलाई एनभिएले निर्देशन दिएको छ।

त्यस्तै, आन्दोलनबारे जानकारी गराउँदै हिमालयन बैंकको केन्द्रीय कार्यालयसहित सबै प्रदेश तथा शाखा कार्यालयमा औपचारिक पत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ।

एसोसिएशनले देशभरका मूल्याङ्कनकर्ता इन्जिनियर, च्याप्टर तथा प्रदेश कमिटीका पदाधिकारीलगायत सम्पूर्ण सम्बन्धित पक्षलाई आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

बैंकसँगको विवाद अब सडकसम्म

एनभिएले बैंक तथा वित्तीय संस्थासँग मूल्याङ्कनकर्ताका समस्या समाधान र पेशागत मर्यादा कायम गर्न यसअघि पनि आन्दोलन गर्दै आएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध लामो आन्दोलनपछि महत्वपूर्ण सफलता हासिल गरेको एनभिएको दाबी छ।

त्यसपछि एसोसिएशनले क्रमशः डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल (डिबान) सँग सम्झौता गरेको थियो। यसअघि ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक र एसबिआई बैंक लगायतसँग पनि सम्झौता भइसकेको एनभिएले जनाएको छ।

आन्दोलन कमिटिका संयोजक इ.मनिर्ष कर्णका अनुसार हिमालयन बैंकविरुद्धको पछिल्लो आन्दोलन कुनै नयाँ वा अलग विषय नभई मूल्याङ्कनकर्ताका पेशागत समस्या समाधान र बैंकहरूसँग व्यवस्थित सम्बन्ध कायम गर्ने अभियानकै निरन्तरता हो।

‘अन्य बैंकहरूसँगको समस्या समाधान गर्दै अघि बढेको अभियानमा अब हिमालयन बैंकको पालो आएको हो,’ एनभिएको भनाइ छ।

बैंक र मूल्याङ्कनकर्ताबीचको विवाद तत्काल समाधान नभए आन्दोलन थप कडा बन्न सक्ने संकेतसमेत एनभिएले गरेको छ। भदौ १ देखि देशभर हिमालयन बैंकसँग सम्बन्धित धितो मूल्याङ्कन रोकिएपछि त्यसको प्रत्यक्ष प्रभाव बैंकको ऋण प्रवाह, धितो मूल्याङ्कन तथा सेवाग्राहीको कर्जा प्रक्रियामा समेत पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया