गृहमन्त्री पुग्नुअघि मृतक बालकको घरअगाडि सुरक्षा टोली घेराउ
सिरहा — सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको घरअगाडि शुक्रबार पुनः तनाव उत्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न जाने तयारी भइरहेका बेला स्थानीय बासिन्दाले प्रहरी प्रशासनको टोलीलाई घेराउ गरेका हुन्।
गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधनलाई स्थानीयले मृतकको घरअगाडि रोकेर विरोध जनाइरहेका छन्। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
बिहीबार सुनसरी घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो। उक्त घटनापछि क्षेत्रको अवस्था अझै तनावपूर्ण बनेको छ।
स्थानीयले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र आन्दोलनकारीमाथि लगाइएका आरोप फिर्ता गर्नसमेत माग गरेका छन्।


