प्रधानमन्त्री को ? रवि लामिछाने कि बालेन्द्र शाह ?
सुनसरी घटनापछि सरकार प्रमुखका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहले देखाउनुपर्ने सक्रियता अपेक्षाभन्दा निकै कमजोर रहेको भन्दै राजनीतिक वृत्तमा आलोचना बढेको छ।
घटनापछि प्रधानमन्त्रीबाट समयमै राष्ट्रिय सम्बोधन, सर्वदलीय बैठकको आह्वान, विपक्षी दलसँग समन्वय, संयुक्त राजनीतिक सन्देश, नागरिकलाई संयम अपनाउन अपिल तथा संवैधानिक निकायसँग आवश्यक समन्वयजस्ता कदमको अपेक्षा गरिएको थियो। तर यस्ता पहलहरू प्रधानमन्त्रीबाट नभई सत्तारुढ दलका सभापति रवि लामिछानेले अघि सारेको देखिएको भन्दै प्रश्न उठाइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार संकटको घडीमा सरकार प्रमुखले अभिभावकीय भूमिका निर्वाह गर्दै देशलाई स्पष्ट सन्देश दिनुपर्ने हुन्छ। तर प्रधानमन्त्री शाहको सक्रियता सामाजिक सञ्जालमा टिप्पणी लेख्ने सीमामै खुम्चिएको आरोप लागिरहेको छ।
रवि लामिछानेले सर्वदलीय बैठक बोलाउने, दलहरूबीच संवाद बढाउने, संयुक्त धारणा निर्माण गर्ने र समन्वयात्मक पहल गर्ने काम गर्नु गलत नभए पनि, यी जिम्मेवारी मूलतः सरकार प्रमुखको हुनुपर्ने तर्क आलोचकहरूको छ।
सुनसरी घटनाले फेरि एकपटक सरकारको संकट व्यवस्थापन क्षमता र प्रधानमन्त्रीको नेतृत्वशैलीमाथि बहस चर्काएको छ। प्रश्न अब स्पष्ट रूपमा उठेको छ— प्रधानमन्त्रीको संवैधानिक जिम्मेवारी वास्तवमै कसले निर्वाह गरिरहेको छ रु र के प्रधानमन्त्री बालेन्द्र शाह आफैंले आफ्नो भूमिकालाई क्रमशः सीमित बनाउँदै लगेका हुन् रु


