एनभिए नेपालगञ्ज च्याप्टरको अध्यक्षमा इ.लविनध्वज खाँड निर्वाचित
नेपालगञ्ज। नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) नेपालगञ्ज च्याप्टरको दोस्रो अधिवेशनबाट इन्जिनियर लविनध्वज खाँड सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा एनभिएका केन्द्रीय अध्यक्ष इ. सञ्जयकुमार महतो प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा एनभिएका उपाध्यक्ष इ. यमलाल पाण्डे, महासचिव इ. अशोक सिलवाल, लुम्बिनी प्रदेश अध्यक्ष इ. गोविन्द पंगेनी, प्रदेश उपाध्यक्ष इ. विवेक लामिछाने तथा प्रदेश सदस्य इ. तुलसीराम वोस्तीको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपालगञ्ज च्याप्टरका संस्थापक सदस्य तथा सल्लाहकार वरिष्ठ इ. तीर्थप्रसाद श्रेष्ठ तथा सल्लाहकार एवं बौद्धिक व्यक्तित्व डा. इ. गणेश विक्रम शाहलगायत विशिष्ट अतिथिहरूको सहभागिताले अधिवेशनलाई थप गरिमामय बनाएको थियो।

नवनिर्वाचित नेतृत्वलाई बधाइ दिदैं अध्यक्ष महतोले नेपालगञ्ज च्याप्टरले मूल्यांकन पेशालाई थप व्यवस्थित, व्यावसायिक र विश्वसनीय बनाउँदै संस्थागत सुदृढीकरण तथा सदस्यहरूको क्षमता अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष खाँडले मूल्यांकन पेशाको गरिमा, मर्यादा र विश्वसनीयता कायम राख्दै सम्पूर्ण मूल्यांकनकर्मीहरूको पेशागत हकहित संरक्षणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै सदस्यसँग सहकार्य र हातेमालो गर्दै नेपालगञ्ज च्याप्टरलाई साझा, सक्रिय, सक्षम र सशक्त संस्थाका रूपमा विकास गर्ने दृढ अठोट व्यक्त गरे।
अध्यक्ष खाँडले दोस्रो अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहभागिता जनाउने सम्पूर्ण अतिथि, प्रतिनिधि, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको हित, मूल्यांकन पेशाको विकास तथा सदस्यहरूको पेशागत अधिकार संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्नानुसार रहेको छ–
अध्यक्षः इ. लविनध्वज खाँड
उपाध्यक्षः इ. केशवकुमार चौधरी
सचिवः इ. हिक्मत बुढा क्षेत्री
कोषाध्यक्षः इ. दुर्गा बहादुर केसी
सदस्यः इ. विष्णुचन्द्र पौडेल
सदस्यः इ. विवेक पौडेल
सदस्यः इ. दीपक केसी
सदस्यः इ. रूपेश शाह
नवनिर्वाचित कार्यसमितिले मूल्यांकन पेशालाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै सदस्यहरूको क्षमता अभिवृद्धि, पेशागत अधिकारको संरक्षण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।



