गृह मन्त्रालयको गेटमै रोकिए निहारिका र बिनु, घन्टी बजाउँदै सरकारविरुद्ध सांकेतिक विद्रोह
काठमाडौं । आफ्ना गुनासा र माग सरकारसमक्ष प्रत्यक्ष राख्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका निहारिका राजपुत र बिनु यादवलाई प्रवेशद्वारमै रोकिएपछि उनीहरूले मन्त्रालयको मूल गेटअगाडि घन्टी बजाउँदै विरोध जनाएका छन्।
‘कुमारी आमा’ आन्दोलनबाट चर्चामा आएकी निहारिका राजपुत र घरेलु हिंसापीडितका रूपमा न्यायको खोजी गरिरहेकी बिनु यादव आफ्ना समस्या सम्बन्धित निकायसमक्ष राख्न गृह मन्त्रालय पुगेका थिए। तर, सुरक्षाकर्मीले मन्त्रालयभित्र प्रवेश गर्न नदिएपछि उनीहरू गेटमै धर्नामा बसे।
दुवैले घन्टी बजाएर सरकारको ध्यानाकर्षण गराउने प्रयास गर्दै, पीडित नागरिकको आवाज सुन्नसमेत राज्य तयार नरहेको भन्दै सांकेतिक विरोध प्रदर्शन गरे। उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।
प्रश्न उठेको छ—नागरिकले आफ्नै सरकारसमक्ष आफ्नो पीडा सुनाउने अवसरसमेत नपाउने हो भने लोकतान्त्रिक शासनको अर्थ के रहन्छरु आफ्ना अधिकारको माग लिएर शान्तिपूर्ण रूपमा पुगेका नागरिकलाई संवादको ढोका खोल्नुको सट्टा मन्त्रालयको गेटमै रोक्नुले राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
विरोध प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर त्यहाँबाट हटाएको थियो। घटनापछि गृह प्रशासनको कार्यशैलीप्रति सामाजिक सञ्जालमा समेत आलोचना सुरु भएको छ। पीडितको आवाज सुन्नेभन्दा दबाउने प्रवृत्ति हाबी भएको आरोप सरकारमाथि लाग्न थालेको छ।


