एनभिए अध्यक्ष महतोको घोषणा: ‘अब सबै बैंकमा एउटै मापदण्ड लागू गरिन्छ’
काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) का केन्द्रीय अध्यक्ष इ. सँजय कुमार महतो ले आगामी ६ महिनाभित्र देशभरका सबै बैंकमा मूल्यांकनसम्बन्धी सेवा र शुल्कलाई एउटै मापदण्डअनुसार लागू गर्ने तयारी भइरहेको बताएका छन्।
अध्यक्ष महतोले एनभिएका हक–हितका लागि केन्द्रीय कार्यसमिति निरन्तर सक्रिय रहेको उल्लेख गर्दै ‘एनभिए सम्झौता, मूल्यांकन रिपोर्ट र मूल्यांकन शुल्क’लाई एकीकृत मापदण्डमा ल्याउने अभियान अगाडि बढाइएको जानकारी दिए।
उनका अनुसार हालसम्म ८ वटा बैंकलाई पत्राचार गरिसकिएको छ भने अधिकांश बैंकसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ। “अब हामी अल्झिने अवस्थामा छैनौं, मेरो सोच र भिजनअनुसार अघि बढ्दा सफलता हासिल भइरहेको महसुस भएको छ,” उनले बताएका छन्।
एनभिएले आवश्यक परे जुन बैंकविरुद्ध केन्द्रीय समितिबाट निर्णय हुन्छ, त्यही बैंकमा मात्र काम बन्द गर्न मूल्यांकनकर्ता सदस्यहरूलाई आग्रह गरेको छ।
यसैबीच, अध्यक्ष महतोले सानिमा बैंक ले मागप्रति अत्यधिक अटेरी गरेपछि बाध्य भएर काम बन्दको आह्वान गर्नुपरेको दाबी गरेका छन्। उनले प्रदेश तथा च्याप्टरका पदाधिकारीलाई अझ सक्रिय र प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिएका छन्।
महतोले केन्द्रले सबै प्रदेश र च्याप्टरको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ सशक्त आन्दोलन र पहल अघि बढाइने स्पष्ट पारे।

