२८ बैशाख २०८३, सोमबार | May 11, 2026

सानिमा बैंकविरुद्ध मूल्यांकनकर्ता इन्जिनियरको आन्दोलन, भोलिदेखि देशभर सम्पत्ति मूल्यांकन ठप्प


14.9k
Shares

काठमाडौं, २७ वैशाख । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले सानिमा बैंक सँग सम्बन्धित सम्पूर्ण सम्पत्ति मूल्यांकन (भ्यालुएसन) का काम भोलि (२८ वैशाख) देखि देशभर ठप्प पार्ने निर्णय गरेको छ।

मूल्यांकनकर्ता इन्जिनियरहरूको मागप्रति बैंकले तत्काल सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको एनभिएका केन्द्रीय अध्यक्ष संजय कुमार महतो ले बताएका छन्।

एनभिएले आन्दोलनको पहिलो चरणमै सानिमा बैंकका देशभरका शाखा कार्यालयसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका सबै कामहरू जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा रोक्ने निर्णय गरेको जनाएको छ। यसअघि एसोसिएसनले एनआइसी एशिया बैंक, प्रभु बैंक र सानिमा बैंकलाई आफ्ना माग तत्काल सम्बोधन गर्न चेतावनीसहित अल्टिमेटम दिएको थियो।

एनभिएको निर्णयसँगै अब मूल्यांकनकर्ता इन्जिनियरहरूले सानिमा बैंकका नयाँ साइट निरीक्षण नगर्ने भएका छन्। यदि साइट हेरिसकेको अवस्थामा पनि प्रारम्भिक प्रतिवेदन (Preliminary Report) नदिने र अन्तिम प्रतिवेदन (Final Report) माग गरिए पनि उपलब्ध नगराउने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए।

यो निर्णय अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ। एसोसिएसनले देशभरका आफ्ना प्रदेश कमिटी, च्याप्टर कमिटी तथा सम्पत्ति मूल्यांकनकर्तालाई वैशाख २८ गतेदेखि लागू हुने गरी निर्देशनसमेत जारी गरेको छ।

एनभिएले जनाएको अनुसार अन्य बैंकहरूसँग भने वार्ता जारी रहेकाले तत्काल थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छैन। प्राइम कमर्सियल बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल देशबाहिर रहेकाले उनी फर्किएपछि जेठको पहिलो साताभित्र सहमति हुने अपेक्षा गरिएको छ।

त्यसैगरी नेपाल एसबिआई बैंक सँगको वार्ता अन्तिम चरणमा पुगेको र चाँडै निष्कर्षमा पुग्ने संकेत देखिएको एनभिएले जनाएको छ। साथै एनआईसी एशिया र प्रभु बैंकले पनि एसोसिएसनका मागप्रति सकारात्मक चासो देखाएको र सहमतितर्फ अघि बढिरहेको बताइएको छ।

आन्दोलन कमिटीका संयोजक इ. मनिष कर्णले यस सम्बन्धी औपचारिक पत्र सम्बन्धित पक्षहरूलाई पठाइसकेको जानकारी दिएका छन्।

एनभिएको यो आन्दोलनले सानिमा बैंकको कर्जा प्रवाह, धितो मूल्यांकन र ऋण स्वीकृति प्रक्रियामा प्रत्यक्ष असर पार्ने देखिएको छ। बैंकिङ क्षेत्रमा यसको प्रभाव कति गहिरो पर्छ भन्ने अबको वार्ताले तय गर्नेछ।

संयोजक इ. कर्ण का अनुसार निम्नानुसार आन्दोलन कमिटी घोषणा गरिएको छ
सम्योजक: इ. मनिष कर्ण
सल्लाहकार: इ. सन्जय कुमार महतो
सदस्यहरु: केन्द्रिय कमिटी का सम्पुर्ण पधाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका अध्यक्ष र सचिब सबै, च्याप्टर कमिटीका अध्यक्ष र सचिव सबै ।

प्रतिक्रिया