८ बैशाख २०८३, मंगलबार | April 21, 2026

३६ वर्षमै प्रधानमन्त्री बन्दै बालेन्द्र शाह, धारा ७६(१) पहिलोपटक कार्यान्वयन


581
Shares

काठमाडौं । संविधान जारी भएको झण्डै एक दशकपछि पहिलोपटक धारा ७६(१) अनुसार एकल बहुमतको सरकार गठन हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम तय भएको छ। नियुक्तिपछि दिउँसो १२:३४ बजेको शुभ साइत पारेर उनले पद तथा गोपनीयताको सपथ लिनेछन्।

३६ वर्षीय शाह नेपालको इतिहासमा कम उमेरमा प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति बन्ने भएका छन्। यसअघि पञ्चायतकालमा डा। तुलसी गिरी ३३ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए। २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछि भने सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने कीर्तिमान शाहले राख्नेछन्।

रास्वपाले चुनावअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिसकेको छ। सो निर्णय राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा जानकारी गराइसकिएको छ।

यसअघि कुनै पनि दलले स्पष्ट बहुमत नल्याउँदा धारा ७६(१) अनुसार गठबन्धन सरकार बन्ने अभ्यास रहँदै आएको थियो। तर यसपटकको जनमतले एकल बहुमतको सरकारको बाटो खोलेसँगै राजनीतिक स्थायित्वको अपेक्षा बढेको छ।

शाहको नेतृत्वमा सरकार गठन भएसँगै पछिल्लो समय बिथोलिएको संवैधानिक प्रक्रिया पुनः लयमा फर्किने विश्वास गरिएको छ। भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको विशेष परिस्थितिले संविधानका केही प्रावधानहरू उल्लङ्घन भएको आरोप लाग्दै आएको थियो।

आन्दोलनपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो, जुन संवैधानिक व्यवस्थाभन्दा बाहिरको कदम मानिएको थियो। त्यस्तै संसद विघटनसम्बन्धी विवादले पनि संवैधानिक अभ्यासलाई चुनौती दिएको थियो।

तर नयाँ जनादेशसहित गठन हुन लागेको सरकारसँगै संविधानको मूल मर्म र प्रक्रियाले पुनः गति लिने अपेक्षा गरिएको छ। अब सबैको नजर शाह नेतृत्वको सरकारको कार्यशैली र ‘डे वान’ बाटै दिने प्रदर्शनतर्फ केन्द्रित भएको छ।

प्रतिक्रिया