१८ माघ २०८२, आइतबार | February 1, 2026

तनहुँ–१ मा कांग्रेसका भट्टराईको जितको सम्भावना,वाग्लेको मत आधार कमजोर बन्दै


February 1, 2026
4.7k
Shares

दमौली । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्राई यसपटकको चुनावमा अपेक्षाकृत सहज अवस्थामा देखिएका छन्। अघिल्लो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेसँग फराकिलो मतान्तरले पराजित भए पनि यसपटक वाग्लेको मत आधार विभाजित हुने निश्चितजस्तै देखिएपछि भट्राईको जित सम्भावना बलियो बन्दै गएको हो।

उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९ सय ११ मत प्राप्त गर्दा भट्राईले २० हजार १ सय २२ मत ल्याएका थिए। मतान्तर १४ हजार ७ सय ८९ भए पनि त्यो परिणाम तत्कालीन परिस्थितिजन्य गठजोड र मत सर्ने प्रवृत्तिको उपज भएको विश्लेषण गरिँदै आएको छ।

वाग्लेको मत आधार कमजोर बन्दै

उपनिर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले करिब ८ हजार मत मात्र ल्याएका थिए। तर २०७९ को आम निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय मत प्राप्त गरेका थिए भने समानुपातिकतर्फ एमालेले करिब १६ हजार मत सुरक्षित गरेको थियो। यो तथ्यले उपनिर्वाचनमा एमालेको उल्लेखनीय मत वाग्लेको पक्षमा खसेको स्पष्ट संकेत गर्छ।

यदि यसपटक एमालेले आफ्नो २०७९ को मत सुरक्षित राख्न सफल भयो भने वाग्लेको पक्षमा जाने अनुमानित करिब १२ हजार मत रोकिने निश्चित देखिन्छ। त्यस्तै २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत प्राप्त गरेका थिए। उपनिर्वाचनमा जोशी पक्षधरको मत पनि वाग्लेको पक्षमा खसेको मानिन्छ। यसरी एमाले र जोशी पक्षबाट झण्डै १८ हजार मत वाग्लेको पक्षमा गएको अनुमान गर्न सकिन्छ।

गठबन्धन असन्तुष्टि र कांग्रेस मतको फिर्ती

उपनिर्वाचनमा गठबन्धनभित्र देखिएको असन्तुष्टि र इमान्दारिताको कमीका कारण केही कांग्रेस मत पनि वाग्लेतर्फ गएको थियो। तर यसपटक कांग्रेस संगठन एकताबद्ध देखिएको छ। यसले भट्राईको मत आधारलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ।

उपनिर्वाचनमा वाग्लेलाई समर्थन गरेका जोशी पक्षधरबाट अहिले दीपकराज जोशी चुनावी मैदानमा उत्रिएका छन्। जोशी र एमाले दुवैले आफ्नो परम्परागत मत सुरक्षित राखेमा वाग्ले गम्भीर दबाबमा पर्ने अवस्था देखिन्छ।

विकास नदेखिएको आरोपले वाग्ले कमजोर

अघिल्लो निर्वाचनमा निकै चर्चा र चमकधमकसहित मैदानमा उत्रिएका वाग्ले निर्वाचित भइसकेपछि जनअपेक्षा अनुरूप ठूला विकास योजना निर्वाचन क्षेत्रमा भित्र्याउन नसकेको आरोप खेपिरहेका छन्। यही असन्तुष्टिले मतदातामा प्रश्न उठ्न थालेको छ, जसले वाग्लेलाई यसपटक जित निकाल्न कडा मिहिनेत गर्न बाध्य बनाएको छ।

कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा भइरहँदा एमाले उम्मेदवार न्यौपाने भने ‘उम्किने दाउ’ मा देखिएका छन्। यदि २०७४ मा एमाले उम्मेदवार एकबहादुर रानाले ल्याएको मतमा केही थप गर्न सक्ने अवस्था बनेमा न्यौपाने अप्रत्याशित रूपमा अघि बढ्न सक्ने सम्भावना छ। तर मतदाता माझ न्यौपानेले जित हात पार्न कडा संगठनात्मक र व्यक्तिगत मिहिनेत गर्नुपर्ने अवस्था छ।

यसैबीच नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्या ढकाल पनि सशक्त प्रचार–प्रसारमा जुटिरहेका छन्। तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको मत ढकालतर्फ खस्ने सम्भावना देखिएको छ, जसले मुख्य प्रतिस्पर्धीको मत प्रतिशतमा असर पार्न सक्छ।

नयाँ शक्तितर्फ उज्यालो नेपालका उम्मेदवार मन्जिल राना आक्रामक रूपमा मैदानमा उत्रिएका छन्। युवा पुस्ता र नयाँ सोचका मतदातालाई आकर्षित गर्न सक्ने सम्भावना देखिएका रानाले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। राप्रपा लगायतका दलहरू पनि आफ्नो मत सुरक्षित राख्न सक्रिय देखिन्छन्।

समग्र मत–गणित, उम्मेदवारहरूको अवस्था र विगत निर्वाचनको प्रवृत्ति हेर्दा तनहुँ–१ मा यसपटकको चुनाव कांग्रेसका गोविन्द भट्राईका लागि तुलनात्मक रूपमा सहज बन्दै गएको देखिन्छ। वाग्लेको मत आधार विभाजित हुँदै जाँदा प्रतिस्पर्धा रोचक त रहनेछ, तर अन्तिम नतिजा कांग्रेसतर्फ ढल्किने संकेतहरू प्रष्ट देखिन थालेका छन्।

प्रतिक्रिया