१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

असलग्नताबाट विचलन : नेपाल कूटनीतिक संकटतर्फ


February 1, 2026
16.3k
Shares

काठमाडौ, १८ आइतबार । नेपाल सरकारको दोधारे परराष्ट्र नीतिले देशलाई दुर्घटनाको अन्तिम घडी तर्फ धकेलिरहेको छ । पञ्चशीलको सिद्धान्त, असलग्न परराष्ट्र नीति र ‘एक चीन’ नीति नेपालले ऐतिहासिक रूपमा अवलम्बन गर्दै आएको स्थापित राज्य नीति हो । तर ०४६ सालपछि सत्तामा आएका दलहरूले यी नीतिहरूलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्दै आएका छन्, जसको परिणाम आज गम्भीर भू–राजनीतिक संकटका रूपमा देखा परेको छ ।

नेपालको दोधारे र अस्थिर परराष्ट्र नीतिप्रति चीन सरकारले एक हप्ते अल्टिमेटम दिएको घटनाले विश्व राजनीति नै तरंगित भएको छ । यसले नेपाललाई मित्रराष्ट्रको नजरमा अविश्वसनीय बनाउने जोखिम बढाएको छ । चीनका लागि तिब्बत केवल आन्तरिक मामिला मात्र होइन, राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको विषय हो । यस्तो संवेदनशील विषयमा नेपालले अस्पष्ट र विरोधाभासी संकेत दिनु आत्मघाती कूटनीति हो ।

बारबरा फाउन्डेसनसँग सम्बन्धित सरकार तथा संरचनाले आफ्ना गल्ती तत्काल सच्याउँदै तथाकथित ‘स्वतन्त्र तिब्बत’ सम्बन्धी अमेरिकी एजेन्डाबाट स्पष्ट रूपमा अलग हुने घोषणा गर्नुपर्ने अवस्था आएको छ । चीन सरकारलाई विश्वासमा लिन सकिएन भने त्यसको असर केवल कूटनीतिक सम्बन्धमा सीमित रहने छैन, यसले व्यापार, पूर्वाधार, सीमा सुरक्षा र दीर्घकालीन रणनीतिक सहकार्यमा गम्भीर नकारात्मक प्रभाव पार्नेछ ।

भू–राजनीतिक रूपमा नेपाल दुई ठूला शक्तिराष्ट्र—चीन र भारत—बीच अवस्थित संवेदनशील देश हो । यस्तो अवस्थामा कुनै पनि शक्तिको मोहरा बन्नु राष्ट्रिय हितविपरीत हुन्छ । परराष्ट्र नीति जहिले पनि तटस्थ, सन्तुलित र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्छ । असलग्न परराष्ट्र नीति हाम्रो संविधानसम्मत राज्य नीति हो, कुनै दल वा सरकारको क्षणिक राजनीतिक खेलौना होइन ।

यदि दलहरूले यो यथार्थ नबुझे, निर्वाचनको नाममा उफ्रिएको असक्षम र अदूरदर्शी सरकारका कारण नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि गम्भीर चुनौती खडा हुने निश्चित छ । चीन सरकारको चेतावनीलाई हल्का रूपमा लिनु राष्ट्रिय आत्मघात हुनेछ । त्यसैले यो विषयमा तत्काल उच्चस्तरीय समीक्षा, स्पष्ट नीतिगत प्रतिबद्धता र जिम्मेवार कूटनीतिक कदम चालिनु अत्यावश्यक छ ।

नेपालले अब स्पष्ट निर्णय गर्नुपर्छ—अस्थिर दोधारे नीति कि राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीति ।

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक

प्रतिक्रिया