३० पुस २०८२, बुधबार | January 14, 2026

अबको राजनीति: र्यालीको भीड होइन, एजेन्डाको बहस


January 14, 2026
913
Shares

News summary

  • संजिब गुरुङले अबको राजनीति र्याली र नाराभन्दा एजेन्डा आधारित बहस र नीतिगत समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्।
  • दलगत राजनीति स्वार्थ र भागबण्डामा अल्झिँदा युवा विदेशिन बाध्य भएको र जनजीवन सहज नबनेको उनको टिप्पणी छ।
  • नुवाकोट–१ का स्वतन्त्र उम्मेदवार गुरुङले जनताको मुद्दा बोकेको इमानदार युवा नेतृत्वलाई विवेकपूर्ण मत दिन आग्रह गरेका छन्।

संजिब गुरुङ । अबको राजनीति गाडी–घोडाको र्याली देखाएर, नाराको कोलाहल मच्चाएर वा झण्डाको रंग फेरिएर मापन हुने विषय होइन। अबको राजनीति एजेन्डामा आधारित बहस, आवश्यक नीति निर्माण र देशमा जसोतसो गुजारा गरिरहेका आम सर्वसाधारणको जीवन सहज बनाउने संकल्पबाट मापन हुनुपर्छ।

विगतका दशकहरूमा हामीले देख्यौँ—चुनाव आयो, र्याली निस्किए, भाषण गुञ्जिए, वाचा बाँडिए। तर चुनाव सकिएपछि ती वाचा कहाँ हराएरु जनताको दैनिकी किन फेरिएनरु यही प्रश्न आजको युवा पुस्ताको अन्तरआत्माबाट उठिरहेको छ।

युवा पुस्ता अब भावनामा होइन, तथ्यमा विश्वास गर्न चाहन्छ। नारामा होइन, नीतिमा भरोसा गर्न चाहन्छ। तर दुर्भाग्यवश, दलगत राजनीति अझै पनि पद, भागबण्डा र स्वार्थको चक्रव्यूहमा अल्झिएको छ। जनताको पीडा र युवाको भविष्य एजेन्डा होइन, भाषणको सजावट मात्र बनाइयो।

आज देशको यथार्थ हेर्ने हो भने—युवा विदेशिन बाध्य छन्, श्रमको मूल्य छैन, शिक्षा र स्वास्थ्य व्यापार बनेका छन्, र राज्य बिचौलियाको नियन्त्रणमा छ। यस्तो अवस्थामा दलहरूले आत्मसमीक्षा गर्नुपर्छ। यदि दलगत राजनीतिले नागरिकको हितमा नीतिगत हस्तक्षेप गर्न सक्दैन भने, अब विकल्प खोज्नु अपराध होइन, आवश्यकता हो।

यही आवश्यकता हो—स्वतन्त्र, वैचारिक र इमानदार युवा नेतृत्व। पार्टीको झण्डा बोकेर होइन, जनताको मुद्दा बोकेर मैदानमा उत्रने नेतृत्व। सत्ता होइन, सेवा लक्ष्य बनाउने सोच। युवाले अब गाडी चढेर र्याली हेरिरहनु होइन, नीति र पात्र दुवैलाई नाप्न सिक्नुपर्छ।

अबको पुस्ताले एकबद्ध भएर स्वतन्त्र ढंगले प्रतिस्पर्धामा आउने युवालाई न्यायोचित मत दिनुपर्छ। यो मत कुनै व्यक्ति विशेषका लागि मात्र होइन, एउटा संस्कार परिवर्तनका लागि हुनेछ। यो मत डर र दबाबबाट मुक्त लोकतन्त्रका लागि हुनेछ।

इतिहास साक्षी छ—जब–जब युवा जागे, व्यवस्था हल्लियो। आज फेरि त्यही समय आएको छ। प्रश्न केवल एउटै हो—युवा मौन बस्ने कि इतिहास लेख्ने ?

अबको राजनीति हाम्रो भविष्य हो। र भविष्य भीडले होइन, विवेकले निर्माण गर्छ।

गुरुङ्ग नुवाकोट क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवार हुन् ।

प्रतिक्रिया