१२ मंसिर २०८२, शुक्रबार | November 28, 2025

का.वा.सभापतिलाई सम्बोधन गर्दै महामन्त्री द्धयको भूमिकामाथि अन्सारीले उठाए प्रश्न


November 18, 2025
3.7k
Shares

आदरणीय कार्यवाहक सभापतीज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय,सानेपा, ललितपुर

विषय : हार्दिक अपिल सम्बन्धमा ।

नेपाल अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रि रहेको छ । जेनजी आन्दोलनपछि मुलुक राजनीतिक संक्रमणकालमा छ । जेनजी आन्दोलनका बाछिटाले मुलुकलाई आक्रान्त तुल्याउँदा त्यसबाट कांग्रेस पनि नराम्रोसँग प्रभावित भएको छ । हाम्रा पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवामाथि सांघातिक आक्रमण भयो । यस्तो अवस्थामा नेपालको सबैभन्दा पूरानो र जिम्मेवार लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस गम्भीर हुनुपर्ने हो । मुलुकमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जनतामा आसाको सञ्चार गराउन अग्रसर हुनुपर्ने हो ।

जनताले पनि नेपाली कांग्रेसबाट अभिभावकीय भूमिका खोजिरहनु भएको छ । तर, त्यसबाट च्यूत भइरहेको तितो एथार्थलाई म स्वीकार्न हिचकिचाउँदैन । पार्टी मुख्यालयमा एक महिनादेखि केन्द्रीय समिति बैठक जारी छ । तर, कुनै निर्णय गर्न सकिरहेको छैन । यसले कांग्रेसलाई ईतिहासमै सबैभन्दा कमजोर बनाउन उद्दत भइरहेको महसुस हामी जस्ता इमान्दार नेता कार्यकर्ताहरूले गरिरहेका छौं । पार्टी सभापतीले तपाईंलाई कार्यवाहक दिएको एक महिना भइसक्दा केन्द्रीय समिति अनुत्तरित हुनु गम्भीर विषय भएको हाम्रो बुझाइ छ । हामी फागुन २१ का लागि तए भएको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुन सकिकेका छैनौं ।

देशको समस्यामा चिन्तित हुन सकेका छैनौं । केवल पार्टीको १५औं महाधिवेशन विषयलाई गिजोलिरहेका छौं । त्यसको मतियारका रुपमा महामन्त्रीद्वयले भूमिका खेलिरहनु भएको छ । उहाँहरूबाट पार्टी र देशले यस्तो भूमिकाको अपेक्षा गरेको थिएन । विशेष अधिवेशनको नाममा भाइभाइबीच मनमुटाव गराएर २१ फागुनको निर्वाचनमा उहाँहरूले जनतामाझ कसरी अनुहार देखाउनु हुने हो ? यो एउटा अहम प्रश्न बनेर पदाधिकारीसामू तेर्सिएको छ । यसले आज एकले अर्कोको अस्तित्व स्विकार्न नसक्ने अवस्थाको निर्माण भइरहेको छ । म आग्रह गर्न चाहन्छु, तपाईंहरू अब पार्टीलाई विवादित नबनाइदिनुहोस् । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन तालिका सार्वजनिक गरिसकेको अवस्थामा अब पार्टीको नियमित र विशेष अधिवेशन चुनावभन्दा अगाडि हुन सक्दैन । यो विषयमा गम्भीर बन्न म यहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।

जारी केन्द्रीय समिति बैठकबाट जनताले कांग्रेसको आधिकारिक धारणा र नवीन भूमिका खोजिरहेकाले त्यसमा गम्भीर हुन मेरो विनम्र अपिल छ । यस्तो अवस्थामा एक दिन पनि बैठक पर नधकेलेर पार्टीको गतिशिलतालाई जिवन्तता दिनुहुन मेरो हार्दिक आग्रह छ । पार्टीका सबै भ्रातृ र सुवेच्छुक संस्थालाई पनि तत्काल २१ फागुनको निर्वाचनमा केन्द्रित गराउन अब पार्टीले अविलम्ब गर्नु हुँदैन । अझैँ पार्टी पार्टी लेकिन, किन्तु, परन्तुमा अड्कियो भने ठूलो दीर्घकालीन असर खेप्न बाध्य हुनेछ । पार्टी हाम्रो मात्र पेवा झैँ गर्ने अधिकार र छुट कसैलाई छैन । यो सम्पूर्ण जनताको साझा लोकतान्त्रिक चौतारी हो । पार्टीको प्राण पनि लोकतन्त्र नै हो । पार्टीभित्र कसैले आफूलाई हावी पार्दै लोकतन्त्रको मर्म पार्ने काम गर्नु उचित होइन । पार्टी सभापति शेरबहादुर देउवा उपचार गरेर सिंगापुरबाट स्वदेश फर्किसक्नु भएको छ । उहाँले महाधिवेशनका विषयमा पार्टीमा उत्पन्न विवादको हल खोजिरहनु भएको छ । त्यसैले पार्टीलाई एक ढिक्का बनाएर चुनाव केन्द्रित गराउन मेरो आग्रह छ ।जयनेपाल

डा.अबुल हुसेन अन्सारी
महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेस
पूर्वकेन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ

प्रतिक्रिया