३० कार्तिक २०८२, आइतबार | November 16, 2025

व्यक्ति केन्द्रित बहस गर्नु हाम्रो सबैभन्दा ठुलो कमजोरी : गुरुङ्ग


November 16, 2025
0
Shares

कल्याण गुरुङ्ग । हाम्रो सबैभन्दा ठुलो कमजोरी भनेको नै प्रणाली केन्द्रित बहस नगरेर व्यक्ति केन्द्रित बहस गर्नु हो । प्रणालीगत परिवर्तनको विषयमा बहस गर्दा पनि एउटा व्यक्ति खराब भयो भने सर्वस्व नाश हुन्छ भन्ने उदाहरणबाट बहसको प्रारम्भ र अन्त्य गर्छौं। प्रणालीको अगाडि व्यक्ति एउटा सानो अंश मात्र हो भन्ने सत्यलाई बिर्सिन्छौं र मनगढन्ते पुर्वाग्रही निचोड निकाल्छौं ।

सत्तामा रहेर सत्ताको स्वाद चाखिसकेकाहरु वा स्वाद चाखिरहेकाहरु तथा समाजमा बसेर संघर्ष गरिरहेकाहरुको आनीबानी, सोंच, व्यवहार र कुनै व्यक्ति, विषय या मुद्दालाई हेर्ने दृष्टिकोणमा नै अतुलनीय फरक हुने रहेछ । यही असमानता, विभेद र चरम असंतुष्टिको घर्षणले नै अभेद जिजीविषु संघर्षलाई जन्म दिने रहेछ ।

पत्रिका, अनलाईन, युट्यूब, सामाजिक संजालहरु र लेख रचनामा आएका गंभीर विषयहरुलाई पुरै नपढीकन वा नहेरिकन केवल हामी हेडलाईन हेरेको भरमा मात्रै धारणा बनाउछौं र कमेन्ट गर्छौं ।

हामीमा कुनै विषयको गंभीरतालाई १० मिनेट पढने वा ५० मिनेट हेर्ने पनि धैर्यता छैन । गंभीर विषयहरुलाई प्राथमिकतामा राखेर एक घण्टा पढने वा एक घण्टा हेर्ने फुर्सद नभएको व्यक्तिले के समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन सक्छ र रु मानिसलाई उत्तेजित तुल्याउनु, अराजक बनाउनु र सकारात्मक आमूल परिवर्तन ल्याउनु पृथक पृथक विषयहरु हुन् ।

हामी जति धेरै अधैर्य समाज निर्माण गर्छौं, देशको समृद्धि र आमूल परिवर्तन त्यति नै पर धकेलिन्छ ।

आफु वा आफ्नो समुदायलाई मनोबैज्ञानिकरुपमा अदृश्य केन्द्रविन्दुमा राखेर धारणाहरु प्रस्तुत गर्छौं । आफ्नो जाती, समुदाय र भुगोल भन्दा माथि उठेर विशुद्ध प्रणालीको विषयमा मात्र बहस भएको दुर्लभ नै पाईन्छ ।हामी यथायिस्थितिमा परिवर्तन त चाहन्छौं । तर परिवर्तनको लागि चुकाउनु पर्ने मुल्य र धैर्यको लागि तयार हुंदैनौं । हामी संसारको सबै व्यक्ति, संस्था, नीति र प्रणालीमा परिवर्तन चाहन्छौं तर आफु स्वयं कहिल्यै परिवर्तन हुदैनौं । परिवर्तन हामीले आफु स्वयंबाट शुरु गर्ने हो कि रु

हामी हाम्रो सपनाको राजकुमार आएर सबै बेथितिहरु पल भरमा नै समाधान गरोस् भन्ने चाहन्छौं, जुन सपनामा त संभव हुन सक्छ तर विपना असंभव छ । हाम्रा सपनाहरु अरु कसैले आएर पुरा गरि दिदैन, आफु स्वयंले पुरा गर्नु पर्छ । हाम्रो सपनाहरु हामी आफैले पुरा गर्ने शाहस गर्नु पर्छ र यसको लागि चुकाउनु पर्ने मुल्य र धैर्यको लागि पनि तयार रहनु पर्दछ । यो असल शासकीय प्रणाली, नीतिगत स्पष्टता र राज्यका दरिलो संस्थाहरुबाट मात्र संभव हुन सक्छ ।

हामी प्रणालीमा सुधार वा परिवर्तन त चाहन्छौं तर प्रणालीमा नै भरोसा गर्दैनौं । हामी नीतिगत सुधार त चाहन्छौं तर नीतिमा नै विश्वास गर्दैनौं । हामी व्यक्ति माथि नै विश्वास, भरोशा र आशा गर्दछौं । व्यक्तिको पूजा, अराधाना, गुणगान र चाकडी गर्ने मानसिकताबाट माथि उठनै सकेका छैनौं । आफुलाई परिवर्तनको वाहक त भन्छौं, तर सत्य के हो भने यसमा कसैले पनि विश्वास गरि रहेको छैनन् ।

आफुलाई अग्रगामी र अरुलाई पश्चगामी ठानेर ठुलठुलो स्वरमा कुर्लनेहरु पनि अधिकांश दास मानसिकताबाट माथि उठन सकेका छैनन् ।

दास मानसिकताको क्रान्तिकारी भन्दा क्रान्तिकारी मानसिकताको दासबाट सकारात्मक आमूल परिवर्तन संभव छ ।

आमूल परिवर्तनको प्रमुख शत्रु नै दास मानसिकता हो जुन सबै पुस्ता, उमेर, समुदाय र वर्गमा रहेको हुन सक्छ । मानसिक दासहरुको विश्वास हुंदैन ।

रोबोट हुनुमा गौरव गर्छन् र रिमोटको तालमा आफ्नो नाच देखाउछन् र समाजलाई अचम्मसंग नजानिदो तरिकाले बर्बाद पारिरहेका छन् ।

यहां सबैले रोबोट खोज्छन् र रोबोटलाई नै रोज्छन् किनकी योग्यता र क्षमता नभए पनि यहां सबैलाई रिमोट बन्नै पर्ने मनोरोगले प्रशस्त गांजेको छ ।

प्रणालीमा सुधार वा परिवर्तन गर्नु छ भने प्रणालीमा नै केन्द्रीत भएर बहस गरौं ।
नीतिमा परिवर्तन वा सुधार चाहने भए नीति केन्द्रीत भएर बहस गरौं । संसारमा कुनै पनि प्रणाली वा नीति यस्तो छैन कि जसमा असल र खराब पक्षहरु संगसंगै रहेको नहोस् । आमूल परिवर्तनले समय, धैर्य, निरन्तरता र एकाग्रता माग्छ । जादुगरको जस्तो क्षणिक नक्कली छुमन्तर माग्दैन ।

प्रणाली तथा नीतिको चरित्र र मानिसको स्वभावमा धेरै नै फरक हुन्छ ।

प्रणालीले राम्रोगरी काम गर्न थाल्यो भने जस्तोसुकै खराब व्यक्ति आए पनि प्रणाली र नीतिहरुले थोरै समयमा नै त्यस व्यक्तिमा धेरै सुधार ल्याउन सक्छ। तर जस्तोसुकै राम्रो व्यक्ति आए पनि उसले जकडिएर रहेको प्रणाली र नीतिमा धेरै समय लगाएर पनि थोरै सुधार ल्याउन सक्ने संभावना मात्र हुन सक्छ ।

यसैले, व्यक्ति भन्दा असल प्रणाली नै आमूल परिवर्तनको लागि अति आवश्यक हुन्छ । प्रणालीको बिकल्पमा उत्तम प्रणाली नै हुन्छ, कुनै व्यक्ति हुंदैन ।

यसर्थ, असल प्रणालीको बहसलाई नियोजित र पुर्वाग्रही तरिकाले कुनै खराब स्वभावको व्यक्तिको उदाहरण दिएर अन्त्य गर्ने प्रवृतिले समाज र देशलाई अन्धकारमा पारि राखेको छ र अझ अनन्त अन्धकारतर्फ धकेल्ने संभावना बढन पनि सक्छ ।
सचेत बनौं ।

प्रतिक्रिया