४ जेष्ठ २०८२, शनिबार | May 18, 2025

कांग्रेसमा गुटबन्दी मौलाउँदा भातृसंस्थामा भाडमैलो


2.5k
Shares

काठमाडौं,३ शनिबार । सबैभन्दा ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले आफ्ना प्रमुख भातृ संस्थाहरुलाई गत २०८१ चैत्रमहिना भित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएपनि ५ भातृ संस्थाहरुले मात्र नयाँ कार्य समिति चयन गरेका छन् । ८ भ्रातृ संस्था अन्तरविवाद मै अल्झिएका छन् ।

भातृसंस्थाहरुको महाधिवेशन गर्न नसक्दा पार्टीभित्र नेतृत्वको चर्को विरोध हुँदै आएको छ । प्रमुख भ्रातृ संस्थाका रूपमा चिनिने नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन गर्न सकेका छैनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।

शनिबार नेपाल तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको छ । स्रोतका अनुसार सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति बिग्रिएर खुकुरी प्रहारसम्म पुगेको थियो । सो घटनामा तीन जना घाइते भएका छन् । धेरै जिल्लामा अधिवेशनलाई लिएर तरुणहरूबिच विवाद हुँदै आइरहेको छ ।

तरुणदलका केन्द्रीय सदस्य संजिव गुरुङ्गले युवा पुस्तामा राजनीतिक चेतनाको अभावले पार्टीभित्र गुटबन्दी मौलाएको टिप्पणी गरेका छन् । लमजुङ तरुणदलमा भएको घटनाबारे गुरुङ्गले टिप्पणी गर्दै एकले अर्काको अस्तित्वलाई स्वीकार्न नसक्दा बिपिको सिद्धान्तलाई मजाक बनाइएको आरोप लगाएका छन् । पार्टीभित्र गुटबन्दी मौलाउँदै जादाँ त्यसको असर लमजुङ तरुणदलमा देखिएको उनको भनाई छ ।

युवा नेता गुरुङ्गले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,“युवा पुस्तामा राजनीतिक चेतनाको अभाव पार्टीभित्र मौलाएको गुटबन्दी । एकले अर्काको अस्तित्वलाई स्वीकार्न नसक्ने प्रवृद्धिले आज त्यो कर्मठ योद्धा बिपीको विचार सिद्धान्तको समाजमा मजाक बनेको देखिन्छ ।”

प्रतिक्रिया