पाकिस्तानी सेनाको सुरक्षाभित्र यूएनले आतंकवादी घोषणा गरेका राउफ

एजेन्सी, २६ वैशाख । संयुक्त राष्ट्रासंघले आतंकवादीको सूचीमा राखेका पात्र हुन् हफिज अब्दुल राउफ । लस्कर ए तोइबाका कमाण्डर राउफ सर्वाधिक खोजी गरिएकामा पर्दछन् । तर, उनी पाकिस्तानी सेनको घेराभित्र देखिए ।
हालै एउटा तस्बिर सार्वजनिक भएको छ जसमा राउफ प्रार्थना गरिरहेका देखिन्छन् । उनी मुसलमानहरुको मृत्यु संस्कारको प्रार्थनामा उभिदा पछाडितिर पाकिस्तानी सेनको ठूलो संख्या छ । भारतले अपरेशन सिन्दूर का क्रममा आतंकवादी संगठनका सदस्य र तिनका परिवारका सदस्य मारिएपछिको मृत्यु संस्कारमा राउफ पनि पुगेको तस्बिर सार्वजनिक भएको छ । उनको पछाडि पोशाकमा रहेका सैनिकहरु उभिएका छन् ।
सन् २०१० मा राउफ संयुक्तराष्ट्रसंघले आतंककारी घोषणा गरेका व्यक्ति हुन् । उनी पाकिस्तानमा सुरक्षित तरिकाले सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । लस्कर ए तोइबाको बाह्य शाखा पनि उनैको जिम्मेवारीमा पर्छ ।
पाकिस्तानमाथि आतंकवादलाई संरक्षण गरेको आरोप लागिरहँदा पछिल्लो तस्बिर सार्वजनिक भएको हो । पाकिस्तानी सैनिकले विगतका अधिकारीहरुले आतंकवादीलाई संरक्षण गरेर भुल गरेको अभिव्यक्ति दिएका थिए । अलकायदा नेता ओसामा विन लादेन पनि सर्वाधिक खोजीमा पर्दा पाकिस्तानमा भेटिएका थिए । अमेरिकाले अवोटावादमा हवाई अपरेशन गरेर लादेनलाई मारिदिएको थियो । सँसारका कतिपय ठूला आतंकवादी पाकिस्तानमा आश्रय लिइरहेको तथ्य प्रमाणहरु भेटिएका छन् ।