‘पूर्वराजासँग प्रधानन्यायाधीशको गोप्य भेट’ बारे समाचार लेख्ने डा. केसीले अदालतको आदेश मानी कानूनी लडाईँ लड्ने

काठमाडौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबीच भएको गोप्य भेटबारे नेपाली पेन डट कमविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा प्रधानसम्पादक डा. दीपेश केसी र सम्पादक सचिना बानियालाई बयानका लागि बोलाउन आदेश आएको छ । न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सबुत प्रमाणसहित ७ दिनभित्र अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।
१० वैशाखमा मुद्दा दायर भई सोही दिन नै पेशी तोकिएर आदेश आएको हो । अदालतले समाचार हटाउन समेत आदेश दिएको छ ।
नेपाली पेन डट कमका प्रधानसम्पादक डा. दीपेश केसीले सर्वोच्च अदालतको आदेश पालना गर्ने स्पष्ट पारेका छन् । उनले समाचारको विश्वसनीयता रहेको र समाचार स्रोतको रक्षाका लागि आफू प्रतिवद्ध रहेको समेत बताए । उनले संविधान र कानून अनुसार जस्तोसुकै सजाय भोग्न तयार गरी अदालती कारबाहीमा सहभागी हुने स्पष्ट पारेका छन् ।
सर्वोच्चले बयानमा बोलाइएकी सम्पादक सचिना बानिया हाल सुत्केरी बिदामा रहेको र यसबारे अदालतले जानकारी पाउँदा पाउँदै बयानका लागि बोलाइएकोमा आश्चर्य व्यक्त गरे । केसीले समाचारको जिम्मेवारी आफूले लिने र कानून अनुसार सजाय भोग्न तयार रहेको पनि बताए । उनले अदालतको आदेश पालना गरी कानूनी लडाईँ लड्ने बताए ।