सुन र चाँदी जडीत गहना खड्गदेवीलाई धार्मिक विधिसहित चढाइयो

बन्दीपुर, १ बैशाख । समस्त बन्दीपुरहरूकाे आस्थाकी देवी खड्गदेवीकाे नयाँ गहना आइतबार धार्मिक विधिसहित देवीलाई अर्पित गरिएको छ । बन्दीपुर-२ चण्डेनी घर भइ हाल नारायणगढ निवासी ध्रुब कुमार प्रधान तथा श्रीमती रामप्यारी प्रधानले माता स्व. ऋद्धीकुमारी र स्व. पिता वि. सूर्य कुमार प्रधानकाे पुण्य स्मृतिमा सकल परिवारसहित सुन र चाँदी जडीत उक्त गहना देवीलाई अर्पण गर्नु भएकाे हाे ।
साे अवसरमा चण्डी पाठ, रूद्रीहाेम सहित प्राण प्रतिस्थापन पुजा विधि सम्पन्न गरिएको थियाे । पुजा विधि पश्चात उपस्थित भक्तजनहरूले देवीकाे टिका र प्रसाद ग्रहण गर्नुभएको थियाे । पुजा सम्पन्न भए पश्चात देवीकाे गहना खड्गदेवी माई पूजा संचालक समितिलाई हस्तान्तरण गरिएकाे थियाे । याे गहना हरेक बर्ष दशैकाे फुलपातीकाे दिनमा देवीकाे बन्दीपुर बजार परिक्रमाका बेला लगाइने गरिन्छ र विजया दशमीका दिनसम्म गहनामा नै सजाउने गरिन्छ ।
उक्त अवसरमा गहना अर्पण गर्ने परिवारका सदस्यहरू, खड्गदेवी माईका पुजारी, खाँडे मगर पुजारी लगायत ठूलाे संख्यामा भक्तजनहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।