राजावादीको आन्दोलन अराजक र हिंसात्मक,सरकारबाटै घुसपैठ भएको दाबी
काठमाडौं । राजधानीको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएको राजावादीहरूको पहिलो दिनको आन्दोलन नै उग्र, अराजक हुँदै हिंसात्मक बन्न पुगेको छ । शुक्रबारको प्रदर्शनको कमान्डर तोकिएका दुर्गा प्रसाईंको उग्र, अराजक र कानुनलाई नै हातमा लिने गतिविधिका कारण भड्किएको माहोल अन्ततः व्यक्तिगत र सरकारी सम्पत्तिमा आगजनी र तोडफोड हुँदै मानवीय क्षतिसम्ममा पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा नै लागू गर्नुपरेको छ ।
काठमाडौंमा एकै दिन गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शन हुने भएपछि काठमाडौं जिल्ला प्रशासनले राजावादीहरूलाई तीनकुने र गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई प्रदर्शनीमार्गको ठाउँ उपलब्ध गराएकामा राजावादीहरूको प्रदर्शन भने हिंसात्मक बन्न पुगेको हो ।
विपरीत धु्रवका यी दुई पक्षधर आमनेसामने हुँदा स्थिति नियन्त्रणबाहिर जाने आकलनसहित सुरक्षा निकायले केही किलोमिटरको दूरीमा रहेका दुई अलगअलग स्थान दिएको थियो । साथै, जुलुसमा पनि भेट नहोस् भनेर सुरक्षा निकायले रुट पनि फरकफरक उपलब्ध गराएको थियो ।
तर, समाजवादी मोर्चाको प्रदर्शन र सभा शान्त र सौम्य बनिरहँदा राजावादी पक्षधरको प्रदर्शन भने हिंसात्मक बन्न पुग्यो । त्यसो त सुरुमा दुवैको कार्यक्रम शान्तिपूर्ण रूपमै भइरहेको थियो । तर, जब राजावादीहरूको प्रदर्शनका कमान्डर प्रसाईं सभास्थल तीनकुने आइपुगे, त्यसपछि भने तीनकुनेको प्रदर्शन अराजकतातर्फ उन्मुख भयो । आफैंले गाडी चलाएर आएका उनी निषेधित क्षेत्र उल्लंघन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयासमा लागेपछि स्थिति केहीक्षणमै तनावपूर्ण बन्न पुग्यो ।
यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा आफैंले गाडी चलाएर आएका प्रसाईं निषेधित क्षेत्र तोड्न अघि बढेको देखिन्छ । उनले गाडीबाट प्रदर्शनकारीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको पनि भिडियोमा देखिन्छ । अनियन्त्रित रूपमा गाडी चलाउँदै आएका उनी यति आवेशमा देखिन्छन् कि प्रदर्शनस्थलमा खटिएका प्रहरीले सावधानी नअपनाएको भए त्यहीँ उनको गाडीले किचेर मानवीय क्षति हुनसक्ने अवस्था पनि भिडियो हेर्दा देखिन्छ ।
यस्तै, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनी बेस्सरी चिच्याइरहेको सुनिन्छ । ‘के हेरेर बसेको रु यता आऔं’ भनेर प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उनले उक्साइरहेको देखिन्छ ।
वास्तवमा प्रसाईं र मिश्र दुई जनाको भड्किलो व्यवहारका कारण बिग्रिन सुरु गरेको तीनकुनेको अवस्था त्यसपछि भने थप तनावग्रस्त बन्न पुग्यो । सुरुमा शान्त र सौम्य देखिएका राजावादीहरू प्रसाईंको आगमन र उनले देखाएको व्यवहारका कारण उत्तेजित बन्न पुगे । त्यसपछि निषेधित क्षेत्र तोड्न अग्रसर भएका उनीहरू त्यसमा सफल नभएपछि भौतिक संरचना तोडफोड, आगजनी र लुटपाट गर्नतिर उद्यत देखिए । भीड नियन्त्रणका लागि सुरुमा प्रहरीले उनीहरूमाथि लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरेको थियो । तर, स्थिति नियन्त्रणमा आउन सकेन । बरु प्रदर्शनकारीहरू भने थप अराजक बन्न पुगे । त्यसपछि उनीहरूले लगातार सरकारी र व्यक्तिगत सम्पत्ति, प्रहरी कार्यालय, दलका पार्टी कार्यालयलाई निशाना साँधे ।
उनीहरूले सबैभन्दा पहिला इन्द्रेणी सहकारी, हाम्रो सुवाल ल एसोसिएट्स र सेन्टर फर इन्टिलेक्चुअल प्रपर्टी नेपाल प्रालिको कार्यालय रहेको सिसैसिसाको झ्याल भएको घरमा तोडफोड र आगजनी गरेका थिए । सो घरभित्रबाट प्रहरीले आफूहरूमाथि दमन गरेका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको प्रदर्शनकारीको दाबी छ ।
सो घरमा आक्रमण र आगजनी गरेपछि प्रदर्शनकारीले सभास्थलनजिकै रहेको कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालय भवनमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरूले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालय, कोटेश्वस्थित प्रहरी बिट, जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालय, आलोकनगरस्थित ने�

