३ चैत्र २०८१, सोमबार | March 17, 2025

राजनीतिक हस्तक्षेपले प्रहरीको संगठनको दुर्दशा


5.6k
Shares

काठमाडौं,४ चैत्र । प्रहरी संगठनलाई अत्यन्त कमजोर र जीर्ण अवस्थामा पु¥याइएको छ । राजनीतिक दलहरूको चरम हस्तक्षेपका कारण संगठनका योग्य एवं दक्ष व्यक्तिहरू पाखा लाग्दै छन् । प्रहरी महानिरीक्षक बन्न बिचौलियाहरूलाई घुस बुझाउनुपर्ने अवस्थाले संगठन प्रभावहीन मात्र भएको छैन, राम्रो काम गर्छु भन्नेहरूको मनोबलसमेत खस्कँदै गएको छ ।

सरकारले खेलौनाका रूपमा प्रहरी प्रयोग गर्दा प्रहरी संगठन नै अन्योलपूर्ण अवस्थामा छ । सिनियर कमान्डमा रहेका प्रहरी अधिकारीलाई एक महिना अगाडि कामु प्रहरी महानिरीक्षक बनाउने कानुनी व्यवस्था गरेको भए यो दुर्भाग्य बेहोर्नु पर्दैन थियो । प्रहरी महानिरीक्षक बन्नुपर्ने मानिस नै हतास मनस्थितिमा पुग्छन् । महानिरीक्षक कसरी हुने, कसलाई कति रकम बुझाउने, यसैको दौडधूपमा उनीहरू हुन्छन् । प्रतिस्पर्धामा रहेकाहरू अन्तिम अवस्थासम्म आईजीपी हुने प्रयत्नमा लागिरहेका हुन्छन् ।

यस्तो अन्योलपूर्ण कानुनका कारण प्रहरीहरूको वृत्ति विकासमा गहिरो प्रभाव पर्छ नै, जनताले सुशासनको प्रत्याभूतिसमेत गर्न पाउँदैनन् । प्रहरीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा प्रशासन, सीडीओ, प्रहरी प्रमुखले नम्बर दिने भनेकै चलखेल गर्ने ठाउँ राखेको हो । दक्ष व्यक्तिलाई चेन अफ कमान्डका आधारमा एक महिना अगाडि नै प्रमुख तोक्ने व्यवस्था हुनुपर्छ । यो अन्योलका बीच माफिया र बिचौलियाहरूको चलखेलमा बन्ने प्रहरी महानिरीक्षकको भूमिका कस्तो होला, सम्पूर्ण नेपालीले बुझ्नुपर्ने बेला आएको छ ।

दल र दलीय सरकारको खेलौना प्रहरी संगठन हुन सक्दैन । जनताको सेवामा अहोरात्र समर्पित प्रहरीहरूको मनोबल उच्च गर्न अहिलेको बिचौलीयाकरणलाई तत्काल बन्द गर्न ओली सरकारले सक्छ ? प्रहरी महानिरीक्षक जस्तो पदमा अन्तिम घडीसम्म रसाकसी सेटिङ गर्नुपर्ने लुटतन्त्रको अन्त्य नगर्ने ?? प्रहरी आयोग खडा गरेर पेशागत मर्यादा वृत्ति विकासमा संगठनलाई समय सापेक्ष बनाउन यो माफिया सरकारले निर्णय गर्ने आट गर्छ ???
(यो राजनीतिक विश्लेषक प्रकाश रायमाझीको नीजि विचार हो ।)

प्रतिक्रिया