रास्वपा नेतृत्वको सरकारका १०० दिन : शनिबार सार्वजनिक हुँदै उपलब्धिको ‘रिपोर्ट कार्ड’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा शनिबार सरकारका उपलब्धिहरू सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सय दिनको अवधिमा सरकारले गरेका प्रमुख काम, नीति कार्यान्वयनको अवस्था तथा विभिन्न क्षेत्रमा हासिल भएका प्रगतिबारे विस्तृत समीक्षा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकार गठन भएको असार २० गते शनिबार ठीक १०० दिन पुग्ने भएकाले सोही दिन उपलब्धिको विवरण सार्वजनिक गरिनेछ। कार्यक्रमको समय भने अन्तिम रूपमा तय हुन बाँकी रहेको उनले जानकारी दिइन्।
जेनजी आन्दोलनपछि गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट नयाँ राजनीतिक समीकरण बनेपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सरकार गठनसँगै सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण तथा प्रशासनिक सुधारलाई मुख्य प्राथमिकतामा राखिएको थियो।
सरकारले कार्यभार सम्हाल्ने क्रममा पहिलो १०० दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित विभिन्न प्रतिबद्धताहरू सार्वजनिक गरेको थियो। अब ती प्रतिबद्धतामध्ये कति पूरा भए, कति कार्यान्वयनको चरणमा छन् र आगामी कार्ययोजना के हुनेछ भन्ने विषय शनिबार सार्वजनिक गरिने ‘१०० दिने रिपोर्ट कार्ड’बाट स्पष्ट हुने अपेक्षा गरिएको छ।

