पूर्वराजालक्षित कदमले राजनीति नै तरंगित

काठमाडौं,२५ फागुन। अहिले देशैभरि ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छन्’ जस्ता नारा लागिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पुनः फर्किने चर्चा र हल्लाले राजनीतिक दलका नेताहरू त्रसित छन् । राजालाई राजकाजमा फर्काउन राजावादी सक्रिय छन् । उनीहरूले गणतन्त्रका नेतालाई चुनौती दिँदै राजालाई कुनै पनि हालतमा नारायणहिटी दरबारमा ल्याउने दाबी गर्दै नारा–जुलुस कडा बनाउँदै गइरहेका छन् ।
पूर्वराजा शाह फर्किने चर्चा पछिल्लो समय बढ्दै गइरहेको छ । सोही चर्चाका बीचमा नेताहरूले पूर्वराजालाई ‘चुनाव जितेर प्रधानमन्त्री’ बन्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, डा। बाबुराम भट्टराईसहितले पूर्वराजालाई चुनाव जितेर प्रधानमन्त्री भई जनताको सेवा गर्न सुझाव दिएका छन् । गणतन्त्रका लागि जेलजीवन बिताएका र आन्दोलनमा सहभागी भएका यी नेताहरूले कुनै पनि हालतमा राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरेका छन् ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधानअनुसार चल्ने जनाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपालमा फेरि राजतन्त्र फर्कन सम्भव नभएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रले फेरि फर्केर आउने चाहना राखेको भए पनि त्यो सम्भव नभएको बताए ।
अध्यक्ष नेपालले देश चलाउने भए बरु नेता भएर चुनाव लड्न र चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई सुझाव दिए । ‘चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्री बन्न तपाईं चाहनुहुन्छ भने आउनुस्,’ उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजतन्त्र कुनै दृष्टिकोणबाट फर्किने सम्भावना नभएको बताए । प्रधानमन्त्री ओलीको अलोकप्रिय र लोकतन्त्रविरोधी कदमका कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष प्रचण्डको छ । अहिले पूर्वपश्चिम हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी अभियानमा रहेका प्रचण्ड अभियान स्थगित गर्दै काठमाडौं फर्किएका छन् ।
प्रधानमन्त्री ओलीको गलत शासनको कारण व्यवस्थामाथि प्रहार हुन थालेको जनाउँदै प्रचण्डले अध्यादेशबाट शासन गर्ने, सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रण गर्ने, नागरिकलाई सास्ती दिने काम गरेका कारण अहिलेको सरकारबाटै व्यवस्थामाथि धावा बोल्ने काम भएको बताएका छन् ।
नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्वराजाले कुनै भूमिका खोज्ने हो भने नेपालको वर्तमान संविधानअन्तर्गत त्यो ठाउँ नभएको जनाएका छन् । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्तालाई संविधानको असंशोधनीय प्रावधान भनेर राखिएकाले यस्तो अवस्थामा राजसंस्था फर्किने सम्भावना नभएको उनले बताए ।
‘राजतन्त्रमा एउटा व्यक्ति र परिवारमा सर्वाधिकार रहन्छ । यो सिधै वर्तमान संविधानसँग बाझिन्छ । जनताको बलिदान र संघर्षमार्फत संविधानसभाबाट जारी भएको संविधानलाई उल्ट्याइयो भने थप समस्या सिर्जना गर्दछ । नेपालजस्तो जटिल भूराजनीतिमा रहेको मुलुकमा कसैको आग्रह वा बहकाउमा लागेर यस्ता गतिविधि गर्न थालियो भने देश र जनतालाई ठूलो नोक्सान पुग्छ,’ उनले भने ।
राजतन्त्रको वकालत गर्दै आएको र राजालाई फर्काउने अभियानमा लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नागरिककै सहयोगमा राजालाई नारायणहिटी दरबार पु¥याउने रणनीतिमा छ । पूर्वराजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न नेताहरूले सुझाव दिइरहेका बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरूसँग चुनाव लड्न राजा आउनै नपर्ने बताएका छन् । उनले ठूला दलका नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्नका लागि आफूहरू नै काफी रहेको बताए ।
वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले शीर्ष नेताहरूको सो सुझावको खण्डन गर्दै राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था रहेको बताए । ‘चुनाव लड्न राजा जानु पर्दैन । हामीहरू नै काफी छौं,’ उनले भने ।
गत ७ फागुनमा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर दल खोलेर चुनाव लड्न नेताहरूले सुझाव दिएका थिए ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले अहिलेकै अवस्थामा राजसंस्था फर्किने सम्भावना नभएको जनाएका छन् । असामान्य अवस्थामा राजा फर्किन सक्ने भए पनि अहिले त्यो अवस्था नबनेको उनले बताए । अहिले प्राप्त उपलब्धिलाई सिध्याएर राजा आउने भन्नु धेरै कुराको सामना गर्नुपर्ने उनले बताए । जनता पनि राजाको पक्षमा नभएको उनले बताए ।
वरिष्ठ पत्रकार चन्द्रकिशोरले पनि सबै असन्तुष्टि भए पनि नेपालमा राजतन्त्र कहिल्यै नआउने जनाएका छन् । ज्ञानेन्द्र राजा हुँदा जनताबाट टाढा रहेको र सर्वसाधारणले उनलाई कहिल्यै नदेखेकाले राजा कहीँकतै जाँदा हेर्नलाई भीड लाग्ने गरेको बताउँदै उनले सोही भीडलाई लिएर राजा फर्किन्छ भन्नु गलत हुने बताए ।
गत बुधबार काठमाडौंमा बाइक (याली राप्रपाले आयोजना गरेको थियो । जहाँ राजाको पक्षमा नारा लागेको थियो । यस्तै, पोखरामा गत बिहीबार दिवंगत राजा वीरेन्द्रको सालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए । त्यहाँ पनि राजा र राजसंस्थाको पक्षमा नाराबाजी भएको थियो । पछिल्लो समयमा देशका विभिन्न ठाउँमा राजसंस्था र राजाको पक्षमा जुलुस प्रदर्शन भइरहेको छ । राजधानी दैनिकबाट