चट्टाने भीरबाट त्रिशुलीमा मोटरसाइकल खस्यो,इन्डियन आर्मीको परिचयपत्र भेटियो

काठमाडौं,२ फागुन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर (दुईकिलो) भन्ने ठाउँमा एउटा मोटरसाइकल दुर्घटनामा पर्दा एकजना बेपत्ता भएका छन् । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीको अनुसार चितवन ईच्छाकामना गा.पा.५ मुग्लिन नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा बिहान ११ बजेर ५५ मिनेटमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।
मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको अनुमान गरिएको छ । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता भेटिएको छ । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ ।